नवराज न्यौपाने ‘मौन’
मेरा दाहिने हातको साँहिली औंलामा वर्षाैदेखि एउटा औंठी टल्किरहेको छ। मनका खुशी र रहरहरूलाई जस्तै मैले यसलाई जतनले जोगाएर जेनतेन बाँचिरहेकै छु।
मलाई यो औंठी तिमीले विदेश पढ्न जाने बेलामा उपहारस्वरूप दिएकी थियौ र भनेकी थियौ, ‘जबससम्म यो औंठी तिम्रो हातमा रहन्छ तबसम्म म पनि तिम्रो साथमा छु भन्ने सम्झनू।’
तिमी विदेश गएपछि उतै भुल्यौ। उतै घरजम गरेर बस्यौ र फोन गर्न पनि छाड्यौ तर मैले यो औंठी कसै गरी हटाउन सकिन। बरु गाह्रो – अप्ठेरो पर्दा बैंकमा धितो राखेर रकम निकाल्थे र आम्दानी हुनासाथ गएर झिक्ने गर्थें। यसले मलाई धेरै सघाएको छ। साथीभाइसँग सापटी कहिल्यै माग्नुपरेन।
निजी संस्थामा मेरो जागिर भरपर्दाे भएन। फेरि औंठी बैंकमा राखेर रकम निकालेर लोकसेवा आयोगको परीक्षाको तयारी गरें। उमेर हद सकिनेबेला हुन लाग्दा मैले नाम निकाल्नसकें अनि स्थायी जागिर भएपछि सुरुका दुई महिनाको तलब जोगाएर औंठी बैंकबाट निकालें। त्यसपछि मैले यो औंठी कहिल्यै बैंकमा राख्नुपरेन।
समय, परिस्थिति र बाध्यताले गर्दा तिमीले वाचा तोड्यौ तर जिन्दगीभरका लागि सम्झना भने छोडेर गयौ। औंठीले पनि बोलिरहेजस्तो लाग्छ, ‘वाचा हारे पनि माया मारेको छैन।’
प्रकाशित: १३ भाद्र २०७८ ०३:४३ आइतबार