डा. कुसुमाकर शर्मा गौतम
कक्षामा साथीहरूले ‘चुनाव आयो। अब पढ्नै पर्दैन’ भनेको सुनेरे ध्रुवेले बालाई सोध्यो, ‘बा, चुनाव आको हो?’
बाले भने, ‘छ महिनामा आउँछ चुनाव।’
ध्रुवेले सोध्यो, ‘चुनाव किन आउँछ बा?’
‘नेतालाई चुनेर माथि पु¥याउन।’ बाले जानेको कुरा सम्झाए ध्रुवेलाई।
उत्तर सुनेर ध्रुवेले एकछिन चुप लाग्यो। किन हो किन उसको अनुहारमा सन्तुष्टि देखिएन।
‘बा, चुनाव चाँडै आएको हो?’ ध्रुवे चिन्तित देखियो।
‘अँ, अलि चाँडै आयो।’ बाले उत्तर दिए।
‘चुनाव हिँडेर आउँछ कि दौडेर बा?’
‘के कुरा सोध्छ यो?’ बा गम्भीर भए। छोरालाई कसरी सम्झाउन भनी सोच्न थाले।
‘तेरी ठुल्दिदीको घर हिँडेर जाँदा कति घण्टामा पुगिन्छ ध्रुवे?’
‘बा, तिहारमा तिमी र म हिँडेर जाँदा तीन घण्टामा पुगियो भनेको होइन?’
‘हो, ध्रुवे तिहारमा हामी तीन घण्टामा तेरी ठुल्दिदीको घर पुगेका थियौं अनि मिनपचासको छुट्टीमा तेरी दिदीको गाउँ गएको बेला साँढेले लखेटेको थियो, सम्झिन्छस्?’
‘अँ!’
‘त्यतिखेर हाम्लाई कति समय लाग्यो घर पुग्न?’
‘बा हाम्लाई साँढेले लखेटेको बेला त आधा घन्टामै पुगेका थियौं भन्या होइन र?’
‘हो ध्रुवे। हिँडेर पुग्ने तीन घन्टाको बाटो दौडियो भने आधा घन्टामै पुगेजस्तै चुनाव पनि दौडेर आयो भने चाँडै आउँछ।’
ध्रुवेले कुरा बुझेजस्तो गरी टाउको हल्लायो र बाले सुन्ने गरी बर्बरायो– नेतालाई पनि साँढेले लखेटेको रहेछ है बा!’
प्रकाशित: १३ भाद्र २०७८ ०२:०८ आइतबार