समाजवाद हाम्रो देशमा परीक्षणकै रूपमा रहेको छ, तर यसको गन्तव्य भीरको बाटो गएजस्तो देखिन्छ, सहज मार्गमा कहिले हिँड्छ अन्योल छ, जुन सन्दर्भलाई कविले व्यंग्य गरेका छन्।
देशको राजनीतिक अवस्थाको बेथितिबारे चोटिलो प्रहार गर्दै कवि लेख्छन्,
भीरको बाटो खसिने हो कि
समाजवादी मूलबाटो जंगली च्याउजस्तो छ।
दुईटा चस्मा लाएर अझ मलाई ढाँटदै छ
यही हो बाटो भन्छ म पहाड देख्छु
सायद ! भीर पहाड हो समाजवाद।
प्रा.डा. विष्णु राईको पछिल्लो प्रकाशित कृति ‘सूर्य गिरफ्तार’ले साँच्चै ओझेलमा परेका सामाजिक, राजनीतिक, सांस्कृतिक पक्षको पर्दाफास गरेको छ। नेपाली समाजमा देखापरेका अनैतिकता, व्यभिचार तथा प्रत्येक पलपलमा हुने भ्रष्टाचारलाई कविले व्यंग्य गरेका छन्।
‘सूर्य गिरफ्तार’ कविता संग्रहमा कविले मानवशास्त्रीय मिथक, प्रतीक र विम्बको प्रयोग गरेका छन्। यस कृतिमा जम्मा ९० वटा कविता संग्रहित छन्। प्रायः हरेक कवितामा एउटा आन्दोलन भेटिन्छ, उत्पीडनका विरुद्ध सशक्त आवाज र उन्मुक्तिको शंखनाद भेटिन्छ। समसामयिक कुरूप राजनीतिक उकुसमुकुसभित्र छटपटाइरहेको यथास्थिति विरुद्धको इन्कलाब भेटिन्छ। विभिन्न शीर्षकमा प्रस्तुत भएका प्रत्येक कविताले सिंगो र पूर्ण अर्थ बोकेका छन्। ‘पागल बाघ’ पुस्तकको पहिलो कविता समसामायिक वर्तमान राजनीतिक परिवेशसँग मेल खान्छ। पछिल्लो राजनीतिक परिवर्तनपछि समाजवाद उन्मुख मार्गबाट अघि बढिरहेको परिवेशलाई कविताले चोटिलो व्यंग्य गरेको छ।
अस्ति राजधानीमा पागल बाघले
दुई सय पचहत्तर मान्छेको हत्या गर्यो
रगतले मातेर उफ्रिरहेछ
तिमी नै भन–
पागलले शासन गरेको कल्पना गर्न सकिन्छ ?
जब शासनमा नीतिको भन्दा जिद्दी र अराजकताको मोलमोलाई हुन्छ, तब त्यो शासक पागल जस्तै हुन्छ।
‘कवि मन कुनै काल्पनिक भावना मात्र नभएर यथार्थको प्रतिविम्बन पनि हो’ जुन विचार कविले झन्डै आठ–नौ वर्षअगाडि व्यक्त गरेका थिए तर वर्तमान नेपालको राजनीतिसँग मेल खान्छ। यहाँ ‘पागल बाघ’ भनेर त्यो शासकलाई संकेत गरिएको छ, जसले अनेक हथकण्डा प्रयोग गर्छ र शक्तिमा आउँछ अनि आफ्नो व्यक्तिगत स्वार्थका लागि भएका उपलब्धि समेत नष्ट गर्छ। जुन कुरा नेपालको राजनीतिक दृश्यमा पटकपटक हुने गरेको छ।
क्रान्ति फेरिएको छ मेरो हातमा
शेषनागहरूले अझ डस्दैछन्
जात धर्मको हतियार उठाएर...।
यसबाट थप प्रस्ट हुन्छ कि कविले पछिल्लोपटक फेरिएको अवस्थालाई तीव्र तथा चोटिलो प्रहार गरेका छन्। कविले यो कृतिमा आफू जन्मे–हुर्केको माटो, माझ किरातको चोमोलोङमादेखि सिंगो देश र विश्व परिवेशलाई साहित्यिक रसले स्पर्श गर्न सफल भएका छन्। कविता भन्नाले सामान्य शब्दको मात्र शब्दजाल नभएर यथार्थको वर्णन पनि हो भन्ने कुरालाई कविले तथ्यगत रूपबाट प्रस्तुत गरेका छन्।
कविताको परिभाषा विभिन्न सन्दर्भ, परिस्थिति, अवस्था र अनुभूति अनुसार विभिन्न ढंगबाट भन्ने गरिएको छ। ‘कविजीको जिन्दगी’ शीर्षक कवितामा राई लेख्छन् –
निकै भयो ! सपनामा एक युवक
कवितामा उजुरी लेख्दिन आग्रह गर्छ
किन मलाई लोकसेवा आयोगको अन्तर्वार्तामा
हिमाल चढ्न नगएको ?
लाहुर नगएको अप्रसांगिक प्रश्न सोधेर फेल गर्छ ?
अस्तित्व माथि धावा बोल्छ।
माथि उल्लिखित विचारबाट समकालीन समाजमा रहेको विभेद असमानताको भाव प्रस्ट देखिन्छ। कविता भाषाका माध्यमद्वारा प्रस्तुत गरिने कविको सहानुभूतिको कोमल, कलात्मक र रसात्मक अभिव्यक्ति पनि हो। सामान्यतः नेपाली साहित्य जगत्मा कविताको इतिहास प्राथमिक, माध्यमिक र आधुनिक कालमा विभाजन गरिएको छ।
यसमा पनि प्रत्येक समयमा अनेक धाराको प्रयोग गरिएको छ। स्वच्छन्दतावादी धारादेखि नेपाली कवितामा आधुनिक काल प्रारम्भ भएको पाइन्छ। देश, काल र परिवेशको सापेक्षतामा हुने गरेका परिवर्तन तथा पश्चिमी जगत्को मध्यकालीन प्रवृत्ति स्वच्छन्दतावाद नेपालीमा आधुनिक प्रवृत्ति भएर देखापरेको हो। यस कालमा लेखकीय आत्मचेत र नवीनतम शैलीको प्रयोग आधुनिकताको खास अभिलक्षण भएर देखापरेको छ।
नेपाली कवितामा परम्परित शास्त्रीयताको विरोध गर्दै थालिएको आधुनिकतामा लेखकीय आत्मचेतना, शैली शिल्पगत परिवर्तन, नवीनतम मूल्यमान्यताको वरण, विद्रोही क्रान्तिकारी स्वरका साथै युगीनता, नवीन सौन्दर्य चेतना, तार्किकता, वैज्ञानिक दृष्टिकोणको प्रस्तुति आदि प्रवृत्ति देखापर्छन्।
यस कृतिमा कवि राईले देश, समाज, व्यक्तिगत अनुभूति तथा समाजमा सुषुप्त रूपमा रहेको असमानता, विभेद र जातीय–वर्गीय विभाजनको मनोवृत्तिलाई समेत उजागर गर्दै कतै ज्याक डेरिडाको विनिर्माणवादको आभास गराएका छन्, मार्क्सवादी दृष्टिकोण त हरेक कवितामा झल्किन्छ। मानिसको धर्म तथा भगवान्प्रतिको आस्था र विश्वासमा समेत औँलो उठाएका छन्।
‘देउता होइन होला’ शीर्षक कवितामा कवि लेख्छन्–
कसरी तपाईंको नाम देउता भयो
राख्न गल्ती भयो कि
कसैलाई प्रवेश निषेध विभाजन गर्ने
देउता हुँदैन
सम्पन्नलाई प्रेम गर्ने
विपन्नलाई घृणा गर्ने
देउता तपाईं होइन होला।
यसबाट कविले सामाजिक तथा सांस्कृतिक अस्तित्वमाथि समेत प्रश्न गरेका छन्। यसैगरी ‘वेश्या रात’ शीर्षक कवितामा कवि राई भन्छन् – वेश्या सहरको रात नभई आँखा देख्दैन, कस्तो भयानक आँखा तिम्रो, नडसी तिम्रो महल बन्दैन।
हो, कवि राईले प्रस्तुत गरेका हरेक कवितामा छुट्टै नवीनतम आभास पाउन सकिन्छ।
‘सूर्य गिरफ्तार’ कवितासंग्रह, जसमा कविले मूलतः विकृत राजनीति, सामाजिक असमानता, कुरीति लगायत माझ किरातदेखि युरोपमा मनाइने साकेलासम्मको कुरा मानवशास्त्रीय मिथ तथा विम्बको प्रयोगबाट पाठकसम्म सहज रूपमा पुर्याउन कोसिस गरेका छन्। अझ यो विचारलाई गहन रूपमा अन्य कविताहरू ‘लोकेम्पा जेल गयो’, ‘नमस्ते सिंहदरबार–२’, ‘महँगो कुर्सी’, ‘जता मालिक उतै भोट’, ‘बैठक’ आदि कविता वास्तवमै उत्कृष्ट छन्। सानो विषयवस्तुमा फराकिला विचार–विम्ब प्रस्तुत गर्नु कवि राईको विशेषता देखिन्छ। जसले राष्ट्रिय राजनीतिलाई उजागर गरेका छन्। ‘बैठक’ कवितामा कवि लेख्छन्–
बाँदरहरूको सभा सुरु भयो
कुनै जंगलमा
अध्यक्ष बोले –
झगडा नगर्नुस् सदस्यहरू मान्छेले जस्तो
लाज हुन्छ हामी बाँदर हौँ।
यसैगरी यो कविता संग्रहमा प्राकृतिक सौन्दर्यको वर्णन पनि छ। ‘हिउँको चुम्बन–२’ कविताबाट कविको प्रकृतिप्रतिको भाव प्रस्ट हुन्छ–
हिउँको आरोहण गर्दिनँ
बाटो खराब छ
चुमेर गीत गाएको रात सम्झना छ
रिस्क लिउँ
हिउँको चुम्बन टाढा छ।
कवि राईको कवितामा कतिपय प्रसंग उस्तैउस्तै लाग्छन् तर उस्तै हुँदैनन्। पारुहाङ, लाक्पा, नोक्छोङ, लोकेम्पा जस्ता शब्द उनको कवितामा प्रयोग गरिएको छ, तर हरेक सन्दर्भ फरक छन्।
प्रकाशित: १२ भाद्र २०७८ ०१:५२ शनिबार