१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

गायक यम बराललाई सम्मान

गायक यम बराल (बायाँ)लाई इलामको सूर्याेदय नगरपालिकामा सम्मान गरिँदै। तस्बिर: नागरिक

गायक यम बराललाई जन्मस्थान इलाममा सम्मान गरिएको छ। ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’ बोलको गीतबाट इलाम चिनाएरै चर्चामा आएका बराललाई फिक्कलमा सम्मान गरिएको हो।  सूर्याेदय नगरपालिकाले गायक बराललाई नगरको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा सम्मान गर्‍यो। 

सूर्याेदय नगरमै जन्मेर गीत–संगीतका माध्यमबाट देश–विदेशमा इलाम चिनाउन गरेको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको नगरले जनाएको छ। संविधानसभा सदस्य सूर्यवाला राई, सूर्याेदयका मेयर रणबहादुर राईलगायतले बराललाई दोसल्ला र सम्मानपत्र प्रदान गरे।  

करिब २८ वर्षअघि गाएको ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’ गीतमा इलामका पर्यटकीयस्थलको वर्णन गरिएको छ। इलामकै स्रष्टा बुद्धवीर लामाको शब्द र दिनेश सुब्बाको संगीतमा रहेको गीतले बराललाई पनि सांगीतिक क्षेत्रमा चिनाएको हो। ‘घरमै आएर लिन पाएको यो सम्मान मलाई जीवनकै अविस्मरणीय लागेको छ,’ गायक बरालले भने, ‘यही आँगन (फिक्कल माध्यमिक विद्यालय)मा कक्षा ७ सम्म पढ्दा गीत गाएको झल्झली सम्झिरहेको छु।’  

सम्मानित भएपछि गायक बरालले यो गीतलाई म्युजिक भिडियो बनाएर इलामको प्रचारमा थप सहयोग गर्ने बताए। ‘इलामलाई देखाएर थप प्रचार गर्न म्युजिक भिडियोले सहयोग पुग्नेछ,’ उनले भने, ‘आफू जन्मेकै माटोमा पाएको सम्मानले मलाई थप ऊर्जा मिलेको छ।’ त्यस अवसरमा गायक बरालले ‘बादलुको घुम्टोले र निष्ठुरीले छाडेर गइहाली’ गीत गाएका थिए। उनले गाएको ‘पल्लो घरको बुट्टे झ्याल खोल्नेलाई’ गीतमा पनि इलामको वर्णन छ।

विभिन्न १२ एल्बम निकालिसकेका बरालले सुगम संगीत, राष्ट्रिय गीत, भजन र पाश्र्वगायनमा करिब हजार गीत गाएका छन्। उनले केही गीतमा संगीतसमेत भरेका छन्। ‘निष्ठुरीले छाडेर गइहाली, बादलुको घुम्टोले, मन रहे पो माया प्रीति, दिलमाया, अब चोटहरूलेलगायत उनका चर्चित गीत हुन्। मन रहे पो माया प्रीति गीतले विशेष अवार्डसमेत पाइसकेको छ।  

सूर्याेदय नगरले त्यस अवसरमा गायक बरालसहित विभिन्न क्षेत्रमा योगदान गर्ने ५१ व्यक्ति र संस्थालाई सम्मान तथा पुरस्कृत गरेको छ। मेयर राईले नगरलाई विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति र संस्थालाई हौसला बढाउन सम्मान, पुरस्कृत गरेको जनाए।

प्रकाशित: ११ भाद्र २०७८ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App