२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

मुटुभित्रै बसेको मान्छे, कुनै दिन छुटेर गइदिन्छ

मुक्तक

निर्मला कुँवर 

         (१) मुक्तक

भर हुँदैन मायाको पनि , कुन बेला टुटेर गइदिन्छ,

सिसाको घरझै हो माया, पत्तै नपाई फुटेर गइदिन्छ।

कसैलाई मेरो मुटु,मेरो प्राण भनेर के गर्नु,

मुटुभित्रै बसेको मान्छे, कुनै दिन छुटेर गइदिन्छ।

             (२) मुक्तक

कति दिन्छौ सोझा जनतालाई,चोट बारम्बार,

आफू मात्रै ठिक अरूलाई लगाउँछौ,खोट बारम्बार।

यदि चुनाव जितेर पनि, राम्रो काम गर्दैनौँ भने,

अब तिमीलाई दिँदैनन् जनताले, भोट बारम्बार।

              (३) मुक्तक

मैले संसार अँध्यारो देखेँ, तिमीले घात गरेको दिन,

नराम्रोसँग मायाको बज्र, मुटुमाथि परेको दिन।

धोका खाँदा कति पीडा , हुँदोरैछ बुझेँ मैले,

रोक्न खोज्दाखोज्दै पनि, बलिन्द्र आँसु झरेको दिन।

                (४) मुक्तक

कति माया गर्छु तिम्लाई, हेर आकाशका जूनतारा साक्षी छन्,

कसलाई थाहा छैन र हौ, दुनियाँ यि सारा साक्षी छन्।

मेरो चोखो मायाभित्र, कुनै शंका लाग्छ भने,

सिरानीमा हररात बग्ने,आँसुका यी धारा साक्षी छन्।

                     (५) मुक्तक

नबुझी शरीर नसुम्पेऊ चेली हो, कसैले त अलपत्र पारिदिन सक्छन्,

मायामा शिखर चढाएझैँ गरी, फेरि तलै झारिदिन सक्छन्।

कसैको भर हुन्न सम्झ, यो स्वार्थी दुनियाँमा,

यदि चित्त बुझेन भने, कतै लगेर मारिदिन सक्छन्।

                                        – धनकुटा।

प्रकाशित: ११ भाद्र २०७८ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App