विमला जोशी प्रधान
हिन्दूस्तानी भिमकाय ऐनाभित्र
गोर्खाली पहिचानको रङ्ग खोज्दै
हाम्रा बाजेबोज्युहरूले
यहाँका चियाबारीको हरियाली छायामा
संस्कृतिको प्रतिबिम्ब नियाल्दै
आफ्नै अस्तित्व र पहिचान खोज्दाखोज्दै
युगले फड्को मारिसकेछ।
मनको आकाशमा
चाँदीको घेरा छुने
आशाहरू पालेर
समृद्धिका सपनाहरू
हुर्किद गए
त्यहीँ चियाबारीमा।
कयौं पुस्ता बिते।
सयौं सन्तान जन्मेहुर्के
तरुण भए
वयस्क र वृद्ध भए
अनि यही माटामा
बिलाएर गए
तर––!
आफ्नो चिन्हारीको खोजीमा गुमनाम हुँदैछन्
ती अमर आत्माहरू
चियाका हरिया पाखापखेरामा अनि
भन्ज्याङ र गोरेटोहरूमा।
थुप्रै भरोसा रोपेर
अभावका निन्द्रा
निदाएका छन्
हाम्रा पुर्खाहरू
समय उस्तै छन्
रातको आकाशमा टल्कने जूनको प्रकाश
उस्ताको उस्तै छन्
दिनमा सूर्यले पोख्ने राप
पुस्तौं पुस्तादेखि
पुर्खाहरूले श्रम रोपेर
आशा हुर्काएका छन्
पुर्ख्यौली पहिचानका थुप्रै बाला तिने
चियाबारीका बुट्टाहरूमा।
बिहानीको मिर्मिरेसँगै
सन्ततिका खुशीहरू पोखिन्छन्
चियाका पातहरुमा
साँझ नपर्दै निराशाको
तुँवालोले छ्याप्प छोपिदिन्छ।
यस्तै आशा र निराशाको
दोभानमा
भाषासंस्कृतिको
पछ्यौरी ओढेर
दार्जिलिङको अस्तित्वको जँघार तर्न
आतुर छन् यहाँका
देशभक्तिपूर्ण भावनाहरू।
अब जाति भाषा र संस्कृतिका बिम्बहरू
देख्नु पाउनुपर्छ हामीले
भाषा हाम्रो मन हो
संस्कृति हाम्रो पहिचान हो,
यहींको बहादुरीले वीरगाथाको सिङ्गो देशमा
स्वभिमानको बर्को ओडेको छ!
– नागरी फार्म चियाबारी, दार्जिलिङ ।
प्रकाशित: ३० श्रावण २०७८ ०७:०८ शनिबार