पिताजी (राष्ट्रकवि) को शयनकक्षमा एउटा सामान्य पलङ छ। दक्षिणपट्टिको झ्यालमा एउटा सिडी छ। पश्चिम र उत्तरपट्टिको झ्यालमा वरपर मिल्ने जति ठाउँमा पुस्तक छन्। कापी र कलम छन्। पलङको ठीकअगाडि पूर्वपट्टि एउटा काठको दराज छ। त्यसको बाहिरी खापामा एउटा ऐना टाँसिएको छ। यो ऐनामा यी वस्तुको प्रतिच्छाया देखिन्छ। पिताजी यही पलङमा बसेर कहिले संगीत सुन्दै, कहिले आफैँ गुनगुनाउँदै रूखपात, लहरा र आकाश हेरी शब्द, रूप, रस, गन्ध र स्पर्शको अनुभूति गर्नुहुन्थ्यो। यसैलाई आलम्बन गरी अन्तर्यात्रा र बाह्ययात्रा अविरल रूपमा गरिरहनुभयो। सांसारिक जीवनमा आउने कतिपय कठीन परिस्थितिमा पनि साहित्यिक यात्रा रोकिएन। जागा अवस्थामा मात्र होइन निद्राको सुषुप्तिमा समेत उहाँको चेतनालाई निद्राले जित्न सकेन। भाव आएमा रातमा उठेर पनि लेख्नुहुन्थ्यो। यस्तो अनवरत साधनाको साक्षी यही पलङ सम्मुख रहेको दराजको ऐना भयो।
पिताजीको स्वभाव नै थियो– बिहानै उठेदेखि आफूलाई स्फूर्त र जीवन्त राख्ने। यसैले कोठामै गर्नुभएका योग साधनाका कतिपय सुन्दर क्षण पनि यही ऐनाले मात्र देख्यो। हामी त शान्त भएर बस्थ्यौँ। साधना हेर्ने कुरा पनि त होइन। हिजो आज मलाई लाग्छ– त्यही ऐनामा छन् ती क्षणका तस्बिरहरू झिकेर पल्टाइपल्टाई हेरूँहेरूँ जस्तो।
भोटो र मर्दाना धोती, कमिज र सुरुवाल, मयलपोस सुरुवाल र कोट, सुट अनि सेनाको पोसाक लगाउनु भएका तस्बिर पनि यसैमा प्रतिविम्बित छन्। कार्यालय होस् वा सभा–समारोहमा जाँदा चित्त प्रसाधन गर्नका लागि सौन्दर्य प्रसाधन पनि गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। मिठो बास्ना आउने तेल अनि त्यस्तै बास्नादार श्रीखण्डको अत्तर प्रयोग गर्नुहुन्थ्यो। अनि, यही ऐनामा आफ्नो प्रतिच्छाया हेरेर ठीक भएँ भनेर सोध्नुहुन्थ्यो जस्तो लाग्छ।
यो ऐनामा प्रत्येक नयाँ वर्षमा परिवारजन बीचको शुभकामना र आशीर्वचन आदानप्रदान गरिएका कैयौँ सुखद् तस्बिरहरू छन्। हामीले पिताजीसँग बसेर कैयौ चाडबाड र व्रत उत्सव मनायौँ। जनै पूर्णिमामा ज्वाइँ र भानिजहरूसँग डोरो बाँध्दाको त्यस्तै तीजको गीत गाएर हाम्री आमा महाकाली लगायत हामी छोरीबुहारी, छोराहरू, नातिनी, नातिनी बुहारी र पछि आएर ज्वाइँहरूसँग समेत नाच्नुभएको सुन्दर दृश्य पनि छन्। दसैँमा नारी र पुरुष भेद नगरी दुवैलाई एउटै मन्त्र ‘आयु द्रोणसुते...’ लाई छन्दमा लय हाली गाउँदै टीका जमरा लगाइदिनुभएका तस्बिर पनि यसैमा समाहित छन्।
पिताजीले ८४ वर्षमा सहस्र चन्द्र दर्शन गर्नुभएको अनि १०२ वर्षमा पूर्ण आयु बाँच्नुभएको महान् जन्मोत्सव त्यसै समयमा आमा महाकालीले ८४ वर्षमा सहस्र चन्द्र दर्शन गर्नुभएको महान् अवसरको पूर्व सन्ध्यामा ज्वाइँ छोरीछोरा बुहारी र नातिनीलाई लुगा कपडा बाँड्नुभएको रमाइलो दृश्य यो ऐनाले कैद गरेको छ। हामी सन्तानले बुवाआमालाई उपहार टक्राएको बडो हर्षोल्लासपूर्ण रंगीन वातावरणको तस्बिर पनि यहीँ ऐनामा छ। एक प्रकारले यो ऐनाले सनातन हिन्दू संस्कृतिको प्रतिच्छाया धारण गरेको छ।
समय अविरल बगिरहन्छ र त्यसैमा घटनाहरू घटिरहन्छन्, कुनै सुखद त कुनै दुःखद। अस्तित्वमा आउने भौतिक पक्षहरू समय आएपछि अस्तित्वमै मिल्छन्। यसैले त यो ऐनामा विभिन्न समयका र अवसरका तस्बिर टाँसेर हाम्रा परम श्रद्धेय गुरु पिताजी शरीरले २०७७ भाद्र २ गते परम यात्राका लागि प्रस्थान गर्नुभयो, मुक्तात्मा हुनुभयो, परमात्मा एकाकार हुनुभयो। उहाँको वर्तमान क्षणको तस्बिर खिच्ने यो ऐना पनि एक दिन चकनाचुर हुन्छ नै। चित्रहरू पनि टुक्रिन्छन् तर मेरो मन–मस्तिष्कमा भने पूर्ण नै रहन्छ। अझै मलाई लाग्यो– परम निद्रामा निदाउनुभएको छ। तर होइन रहेछ! हामीले पिताजीको शरीरलाई पहेँलो पछ्यौरा ओडायौँ। त्यसै बखत पूर्वमन्त्री अर्जुन नरसिंह केसीजीले सयपत्री फूलको माला राष्ट्रकवि (पिताजी) मा अर्पण गर्नुभयो। उज्ज्वल र प्रदीप्त प्रशान्तावस्थाको मुहार हेर्दा अझै लाग्दै थियो– निद्रा पु¥याएर पिताजी उठ्नुहुन्छ।
खाटबाट एउटा लोबेडमा भाइहरू र बन्धुबान्धवले पिताजीलाई सारे। अनि पिताजीको शरीरलाई यो पवित्र यज्ञशाला वा तपस्थलीबाट बिस्तारै सिमलको भुवालाई उडाए जस्तैगरी कोठाबाट भर्याङतिर लगे। ऐनाले अन्तिम तस्बिर खिच्यो। मैले अश्रुपूर्ण आँखाले झिमिक्क नगरी शिर झुकाई बिदाइ गरेँ। त्यसपछि मैले कोठालाई सर्सर्ती हेरेँ। सबैजना आँसुले प्लावित रहेछौँ। तत्काल लाग्यो– अब यो कोठाभित्र बुवा भनेर पस्ने दिन गए।
मैले स्वसंवाद बढाएँछु र भनेँ, ‘पिताजी यो तस्बिर पनि कहिल्यै फिका हुँदैन च्यातिँदैन त्यसरी नै जसरी ४० वर्षअगाडि मलाई अँगालो हालेर ऐनाअगाडि लगी हाम्रो तस्बिर हेर् त यो कहिल्यै फिका हुँदैन च्यातिँदैन भन्नुभएको थियो।’
प्रकाशित: ३० श्रावण २०७८ ०१:५९ शनिबार





