सासा अधिकारी
चुलोचौको सम्हालेर भात पनि खाने,
सबै काम सक्काएर अफिस पनि जाने।
फर्कदामा हुन्छ हातमा सामानको झोला,
कतिकति बग्छन् होला आँसुको खोला।
उठ्नुपर्छ अब तिमी अधिकारका लागि,
बाँच्नुपर्छ सम्मानले हुन्न समाजमा भागी।
अभिभावक तिमी, तिमी नै हौ ज्ञानको ज्योति,
बगर भन्छन् अरू तिमी हौ हिरामोती।
तिमी नभए चल्दैन घरबार कसै गरी,
बाँचेका छौ अरूका लागि आफैसँग मरी।
लेख्न सके कति होलान् नारीका व्यथाहरू,
कतिकति बन्न सक्छन् नारीका कथाहरू।
कमजोर छिन् नारी सक्दिन केही गर्न पुरुष राम्रो,
नारीपुरुष जन्मने एउटै कोख हो हाम्रो।
सबैलाई बराबर माया गर्ने एउटै मान्छे नारी,
गर्न सकेका छैनन् सम्मान जति बोके पनि भारी।
कसैकी हुन्छन् छोरी, कसैकी दिदीबहिनी,
अनेक नामले बोलाउँदा नाम नै परिवर्तन भैइ नि।
चार दिन घर बाहिर राख्छन् अपवित्र ठानी,
बोलीमा देवी मान्छन् व्यवहारमा अपवित्र मानी।
उठ् बोल लेख पढ् जीत तिम्रो हुन्छ,
तिम्रो बोलीले समाजको मन पनि छुन्छ।
भाग्नेहरू कताकता हराएर जान्छन् ,
वर्षाैदेखि तिमीलाई लक्ष्मी देवी मान्छन्।
हुन्न अब कसैगरी बलात्कार सहेर,
अरूको नजरमा खेलौना भएर।
देखाउ अब तिमीले नारीको शक्ति,
त्यसपछि गर्छन् सबले तिम्रो भक्ति।
– नवोदय शिशु सदन,हेटौंडा –४,कमलडाँडा।
प्रकाशित: २३ श्रावण २०७८ ०७:२७ शनिबार