१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

मेरा शब्द

कविता

दुलुमणि उपाध्याय

 

मेरा शब्दहरू भौँतारिँदै

महारथीले रचिएको चक्रव्यूहमा

एक्लो अभिमन्यु भई भिड्दैछन् आज

अभिमन्युको मृत्यु निश्चित थियो

आफ्नै ज्येष्ठ र श्रेष्ठजनको प्रहारले

यदि त्यस्तै मृत्यु हुन्छ भने मेरा शब्दहरूलाई,  

खुसीले मर्न छोडिदिने छु म,  

गौरव हुनेछ त्यो मृत्युको पनि

मलाई

याद गर्नेछ युगले फेरि पनि मेरा शब्दहरूलाई।

कहिले त फेरि मेरा शब्दहरू

द्रौपदीको फुको केसमा अल्झिन पुग्छन्

भीमसेनको प्रतिज्ञा पूर्ण गराउँदै

दुषासनको रक्तले रङ्गीन हुँदै

झरिदेलान् इतिहास  सजाउँदै

तर त्यस्तो प्रतिशोधको रङ्गले रङ्गीन हुन

कहाँ दिनु र मेरा शब्दहरूलाई

 त्यसैले त म

मेरा शब्दहरूलाई बिन्ती बिसाउँदै छु हिजोआज

हुन्छौ नै भने तिमीहरू

महादेवका काँधमा बोकिएको सतीदेवीको अग्निले

जलेको मृत शरीर भइदिए हुन्छ मलाई

जहाँजहाँ झरे उनका अङ्गहरू पतन भएर

त्यहाँत्यहाँ बनिँदै गए धर्मस्थानहरू पवित्र बनेर

उभिन्छन् अहिले पनि सबै नतमस्तक हुँदै दुई हात जोडेर

त्यसैले त म मेरा शब्दहरूलाई अनुरोध गर्दैछु,

जहाँजहाँ झर्छौ तिमीहरू,

त्यहाँत्यहाँ आफ्नो चित्रण छोड्दै जानु उज्यालो पारेर

याद गर्लान् समयमा नयाँ पिँढीले तिमीहरूलाई पनि

व्यस्तताले भरिएको जीवनमा एकैछिन उभिएर

त्यतिबेला खुसी हुँदा मेरा शब्दहरू

म रमाउँदै भनौँला

हो यिनै त हुन् नि मेरा शब्द भनेर।

      – ओदालगढी, असम, भारत।

प्रकाशित: २२ श्रावण २०७८ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App