१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

भवानी दाहालका गजल र कविता संग्रह एकैदिन लोकार्पण

कवि तथा गजलकार भवानी दाहालको एकैदिन दुईवटा साहित्यिक कृति लोकार्पण भएका छन्। बिहीबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, दाहालकी आमा कल्पनादेवी न्यौपाने लगायतले गजल संग्रह ‘असल आत्मा’ र कविता संग्रह ‘आत्माको विमोचन’ लोकार्पण गरेका हुन्।

साहित्यिक कृतिमा एकैदिन दुईवटा कृति प्रकाशित गर्ने स्रष्टा बिरलै पाइन्छन्। कवितामाथि टिप्पणी गर्दै कुलपति उप्रेती स्रष्टा दाहालले एकैपटक दुईवटा बिधामा सृजना गर्ने क्षमताले भावी साहित्य सृजनाको लागि पर्याप्त सम्भावना रहेको बताए। ‘लेखन कार्यमा परिमार्जन गर्दै जानु, अहिलेको कृतिले प्रशस्तै सम्भावना बोकेका छन्,’ उप्रेतीले भने।

साझा प्रकाशनकी सदस्य सीता ओझाले महिलाका लागि लेखन कार्य सजिलो विषय नभएको बताइन्। ‘घरदेखि जागिरसम्मको भूमिका निभाउँदै सृजना तयार गर्नु महिलाका लागि सजिलो छैन, दाहालको यी कृति ठूलो उपलब्धि हो’, ओझाले भनिन्।  

गजल संग्रह ‘असल आत्मा’ माथि टिप्पणी गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य देवी नेपालले गजलको परम्परा तोडेर नयाँ प्रयोग गर्न सफल भएको बताए। उनले गजलमा प्रेम रसमा रहेको परम्परालाई तोडेको बताए। उनले गजलमा सामाजिक बिकृति, जीवन, भौतिकवादी, अध्यात्मिकवादी चिन्तन, नारी स्वर जस्ता विषयले भद्र बिद्रोह समेत गरेको बताए।  

‘जन्ती देखेका हो सबैले मलामी देख्न मन छ  

एठेर चितावाट सुन्दर कहानी लेख्न मन छ  

गजलको अर्को अशमा  

‘धमिलो मनको शिकारको के कुरा गरौ र ?

बेतुक अनेक विचारको के कुरा गरौ र ?’

कवितामाथि टिप्पणी गर्दै प्रज्ञा प्रतिष्ठानकै काव्य बिभाग प्रमुख हेमनाथ पौडेलले कविता संग्रहमा एउटै धारमा सीमित नभई मिश्रित धार पक्रेको बताए। कवितामा केही प्रगतिवादी चेतना, कतै आध्यात्मिक चेतना, कतै रहस्यमय भावले भिन्न मिश्रित संग्रह बनेको पौडेलले टिप्पणी गरे।‘

कवितामा राष्ट्रिय चेतनादेखि नारी चेतना र कतिपय कवितामा व्यैक्तिक अनुभवले स्थान पाएको देखिन्छ’, उनले भने।  

कार्यक्रममा संबोधन गर्दै स्रष्टा दाहालले कविता बिद्यामा स्कुले जीवनदेखि हात हालेको भएपनि गजल लेखनमा एक वर्षदेखि मात्र सुरु गरेको बताइन्। सानैदेखि कवि गोष्ठीमा भाग लिएपनि लामो समयपछि मात्र कृति सार्वजनिक गरेको बताइन्। कुनै सिकाइ बिना नै कविता लेखन यात्रा जारी रहेकोले कृति सार्वजनिकसंगै लेखनमा गुरुको खोजी भएको दाहालले बताइन्। ‘यो कार्यक्रम गुरु खोज्ने कार्यक्रम पनि हो’, उनले भनिन्।  

दाहालको गजल संग्रहमा बिभिन्न ७१ वटा गजल र कविता संग्रहमा ४१ वटा कविता संकलित छन्। श्रष्टा दाहालका यी दुवै पहिलो साहित्यिक कृति हुन्। गजल संग्रह ‘असल आत्मा’ र कविता संग्रह ‘आत्माको बिमोचन’ दुवैको बजार मूल्य २ सय ५० रुपैयाँ रहेको छ।

प्रकाशित: १६ श्रावण २०७८ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App