आजभोलि मलाई हिमालसँग सम्बन्धित पुस्तक खोजीखोजी पढ्ने अभीप्शा जागिरहेको छ। प्रतीक ढकालका हिमालसँग सम्बन्धित नियात्रा पुस्तक पढेपछि हिमालका बारेमा धेरै जान्ने र बुझ्ने मौका पाएँ। त्यसपछिका दिनमा हिमाललाई स्पर्श गर्न समेत लालायित भएँ। उनका आधा दर्जनभन्दा बढी पुस्तक हिमालसँग सम्बन्धित छन्।
दुई वर्षअघि लाङटाङ हिमालको आधार शिविर र केन्जिन गुम्बा पुगेर आएदेखि म अझ बढी हिमालप्रेमी भएकी छु। हिमालमा देवताको बास हुन्छ भन्ने हाम्रो पूर्वीय मान्यता रहिआएको छ। हिन्दू धार्मिक ग्रन्थमा भगवान् शिवको निवास कैलाश पर्वतमा भएको हामीले पढ्दै आएका छौँ। रहस्यको गर्भमा रहेको मानव यती पनि हिमालमा बस्छ भनेर भन्दै आइरहेको सुनेका छौँ। यो यतीको प्रसङ्ग नेपालका लागि मात्र नभएर विश्वकै लागि खोजको विषय रहिआएको छ । हिमालका अनगिन्ती कुरा मैले चर्चा गर्न लागेको सानो लेखमा पक्कै अटाउँदैन। आज त मैले हिमालसम्बन्धी सुन्दर पुस्तक पढेपछि केही पाठकीय टिप्पणी राख्नलाई यत्रो भूमिका बाँधेकी हुँ।
बहुविधामा वर्चस्व राख्ने लेखक भीष्म उप्रेतीको पछिल्लो पुस्तक ‘हिमाल, शेर्पा र यती’ पढिसकेपछि केही नलेखी बस्न मनले मानेन। विश्वले चिनेको सगरमाथाका बारेमा लेखकको यात्राका प्रसंग जसरी पुस्तकमा आएका छन्, ती अत्यन्त प्रेरणादायी, साहसिक र रोमाञ्चकारी छन्। नियात्रा विधामा यो पुस्तक एउटा महत्त्वपूर्ण दस्तावेज हो भन्ने लाग्यो। मलाई पनि सगरमाथाको आधारशिविर टेक्ने उत्कण्ठाको चर्कै हुटहुटी छ। त्यसका लागि साइत जुर्ने हो कि होइन, भविष्यकै गर्भमा छ। ती सपना मनभरि सजाउँदै अहिले भने प्रस्तुत किताबमार्फत त्रिभुवन विमानस्थलबाट हेलिकोप्टर चढेर लुक्ला विमानस्थल झरी हिउँसँग मित्रता लगाउन जाने जमर्को गर्दै छु।
पुस्तकभित्रको लेखन यति सुललित छ कि पढ्न बसेपछि छोड्नै मन लाग्दैन। आयरल्यान्डका दुई अर्धबैंसे युवती कोने र कोलेटसँग लेखकको यात्रा बडो साहसिक र रोमाञ्चकारी छ। कूल १३ दिनको यात्रा यति कुतूहलमय छ कि किताब नसकुञ्जेल छोड्नै मन लाग्दैन। सगरमाथा, लोत्से, पुमोरी, नुप्से, अमादब्लम, थामसेर्कु, गोक्यो आदि संसारकै प्रसिद्ध हिमालका नाम सुन्दा पनि मन त्यसै उत्फुल्ल हुन्छ। वर्षौंदेखि पालेर राखेको सपना साकार पार्ने लालसा लिएर विश्वका विविध कुनाबाट नेपाल आएका आरोहीसँग लेखक मीठो भलाकुसारी गर्न भुल्दैनन्। विदेशीको यस्तो हुल देख्दा नजिकको तीर्थ हेला भनेझैँ हिमाललाई प्रेम गर्नुपर्छ भन्ने चेतना हामीमा अझै राम्रोसँग नआएको हो कि भनेर आत्मग्लानि हुन्छ। किनकि हिमालप्रति चासो राख्ने, यसलाई स्पर्श गर्न खोज्ने र यससम्बन्धी अधिकभन्दा अधिक साहित्य लेखिएको कमै पाएकी छु।
लेखकले पहिलेपहिले पनि हिमाली क्षेत्रका जोखिमयुक्त स्थानमा भ्रमण गरिसकेका हुनाले उच्च आत्मविश्वास लिएर यो यात्रामा पनि समावेश हुन्छन्। मनैदेखि नयाँ ठाउँमा जाने तीव्र आकांक्षा उनको देखिन्छ। ६ महिनाअघि नै उनले यात्राको चाँजोपाँजो मिलाउँदै आएका थिए। ५४१६ मिटर उचाइको थोराङ्ला यात्रा, ४००० मिटरको उचाइमा अवस्थित उपल्लो मुस्ताङको यात्रा र कैलाश मान सरोवरको यात्रालाई स्मृतिमा सजाउँदै उनी सगरमाथाको आधार शिविरतिर लम्कन मुटु र मनलाई तयार पार्छन्।
सगरमाथाको आधारशिविर पुग्न लेखकको टोलीलाई नौ दिन लाग्छ। यी प्रत्येक दिनका घटनाक्रम कलात्मक शैलीमा पुस्तकका समेटिएका छन्। अनुभवी पथ प्रदर्शक भोला पौडेल, स्थानीय भरियाको राम्रो सहयोग, विदेशी युवतीहरू कोने र कोलेटको तीव्र हिमाल मोह सबै कुराले यात्राको तारतम्य राम्ररी मिल्दछ। करिब दुई दर्जन पुस्तक लेखिसकेका लेखकले यो यात्रालाई पनि पुस्तकमा उर्तानु छ भन्ने भएर होला स्थानीय बुद्धिजीवी र विदेशी आरोहीसँग अनेक जिज्ञासा सोधेर यात्रा बढी फलदायी बनाउँछन्।
वर्षौंदेखि ट्राभल एजेन्सी चलाएर अनेकाैँ पटक सगरमाथाको आधार शिविरमा पर्यटक ल्याएर कुस्त ज्ञान बटुलेका भोला पौडेलले अनेक सूचना लेखकलाई दिन्छन्। सन् २०१४ मा खुम्बु आइसफलमा भएको भयानक दुर्घटना सबैभन्दा बढी दुःखदायी हुन्छ। त्यो दुर्घटनाबाट आरोहण दललाई सघाउने, अनुभवले खारिएका १६ पथप्रर्दशक शेर्पाको देहान्त, आरोहण गर्न जाने यात्रु र भरियाको निधनले सगरमाथाकै इतिहासमा दुःखद घटना भएको कुराले पाठकलाई स्तब्ध बनाउँछ। उनै भोला पौडेल वि.सं. २०७२ मा आएको भूकम्प जाँदा आधार शिविरमा भएको र उनले भोगेको अनुभव पनि पाठकका लागि आङ सिरिङ्ग बनाउने लाग्छ।
प्रस्तुत पुस्तक अनेक दृष्टिकोणले पठनीय छ। शेर्पाहरूको स्थानीय संस्कृति बुझेर त्यहाँको रीतिरिवाजबारे पनि उल्लेख गरिएको छ। लोप हुन लागेका त्यहाँका लोककथा संकलन गरी लोकसाहित्यको जगेर्ना गर्नुपर्ने कुरामा पनि उनले खबरदारी गरेका छन्। सबैभन्दा रोचक त मानव यतीका बारेमा गरेका खोजमूलक टिप्पणी पनि छन्। आयरल्यान्डदेखि कोन र कोलेट किन हिमाल चढ्न आए ? तिनको पारिवारिक जीवन कस्तो छ भन्नेबारे पनि लेखकले सोधखोज गरेका छन् । यात्राका क्रममा कोलेट हाई अल्टिच्युडका कारण बेहोसजस्तै भएकी थिइन्।
एकछिन मात्रै उनको स्वास्थ्यप्रति हेलचक्र्याइँ भएको भए उनको अवस्था के हुन्थ्यो भन्ने सोचनीय विषय थियो। यस्तो परिस्थितिमा पनि आयरल्यान्डकी उनकी सहयात्री बिरामी साथीलाई नेपाली साथीको जिम्मामा छाडेर आफू गन्तव्यमा पुगेरै छाडिन्। कोलेट बिरामी भएको चार घन्टापछि मात्र आएको प्रसंगले हामी पाठक तीन छक परिन्छ। अप्ठेरोमा परेको आफ्नो साथीका लागि बरु गाँस छोड्नु साथ नछोड्नु भन्ने नेपाली चलन छ, तर उनको व्यवहारले हामीलाई अचम्भित बनाउँछ। पूर्वीय र पाश्चात्य संस्कृतिको यो फरक पाटो राम्रैसँग महसुस गर्न सकिन्छ।
समग्रमा ‘हिमाल, शेर्पा र यती’ निकै मिहिनेत गरेर लेखिएको पुस्तक हो। हिमालप्रति सम्मोहन जगाउने यो पुस्तकबाट हिमाल आरोहणबारे धेरै ज्ञान लिन सकिन्छ। लेखकका धेरै किताब विभिन्न भाषामा अनुदित भएका छन्। आशा छ, यो पुस्तक पनि पक्कै अंग्रेजी भाषामा अनुवाद गर्न लेखकले पहल गर्नुहुनेछ। हिमाल र यतीका कुरा विश्वमा पुर्याउन अति जरुरी छ। यति महत्त्वपूर्ण पुस्तक लेखेर नियात्रा साहित्यलाई प्रवर्द्धन गरेकामा लेखकलाई धेरै धेरै बधाई ।
पुस्तक: हिमाल, शेर्पा र यती
लेखक: भीष्म उप्रेती
विधा : नियात्रा
प्रकाशक : शिखा बुक्स
मूल्य रु : २७५/-
पृष्ठ : २४२
प्रकाशित: १६ श्रावण २०७८ ०३:०३ शनिबार





