सीता बिष्ट कार्की ( सीबिका)
सुनिलको एसइईको परिक्षा सकिएपछि रिजल्टका लागि आत्तुर थियो । मनमनै भन्यो– अब दश बर्से पसिनाको फल चाख्ने बेला आएको थियो। आज रिजल्ट निस्कने हल्ला छ। उसको साथी महेश्वरले फोन गरेर भनेपछि सुनिलको मुटु ढुकढुक भएको थियो।
सुनिताले फोन गरी। सुनिल फोन उठाऊँ कि नउठाऊँ जस्तै गर्यो। आत्तिएर चिडचिड पसिना आयो। जति डराए पनि आखिर परिणाम जे हो त्यही ग्रहण गर्नुपर्छ नै। फोन घण्टी सकिएपछि सुनितालाई आफैले फोन गर्यो।
– ल बधाइ छ सुनिल, तिमीले नेपाल टप गरेछौ नि। सुनिल गद्गद् भयो – मेहेनत अनुसारको फल पायो। स्याबास छोरा भन्दै आमाबाबु साह्रै हर्षित भए। खुसीले धाप मारे।
सुनिलको आमा भने अझै हर्षका आँसु चुहाइरहेकी थिइन्। छोरालाई सरकारी स्कूलमा संघर्ष गरेर पढाएअनुसार उसले सबैलाई उछिन्नु सफलताको उच्च शिखरमा पुग्नु चानचुने कुरा थिएन।
कति छिटो आए पत्रकारहरूरू। सानो घर एकैछिनमा मान्छेले खचाखच भरियो।पत्रकारहरू सुनिलको अन्तरवार्ता लिएर गए।फेरि फरकफरक प्राइभेट कलेजहरूबाट पनि शिक्षकहरु आए।
सुनिलको बाबालाई पालो गरीगरी एकान्तमा लैजादै बार्गेनिङ गर्न थाले। सुनिलको मामु टुलुटुलु हेर्दै यो जात्रा हो कि गाईजात्रा हो हाँसीहाँसी भनिन्।
यो भिड देखेर सुनिललाई भने झर्को लाग्यो र भन्यो– हेर्नुस् सरहरू ! मूल्य तोकीतोकी मेरो सर्टिफिकेटलाई विज्ञापनको साधन बनाउन नखोज्नुहोस्। म सरकारी स्कुलबाटै उत्कृष्ट भएको हुँ। त्यसैले सरकारी कलेजमै पढ्छु। अब मेरो मूल्य नतोक्नुहोस्।
सबै सर निन्याउरो मुख लगाएर फर्के।
– टोखा –९, गोङ्गबु काठमाडौं।
प्रकाशित: १६ श्रावण २०७८ ०१:४१ शनिबार