९ आश्विन २०७८ शनिबार
कला

बुढी औंलाहरू

कविता

     उमेश अवस्थी आदर्श

 

कति दिन बाच्छौं तिमी

यस्तै यस्तै यस्तै ज्यूँदै लास बनेर

कति दिन औंठाले छाप लगाइरहन्छौ तिमी

दास बनेर

कति वर्षसम्म सुत्छौं तिमी

देशको छातीमा कैदी बनेर।

मेरो देश डुब्नै लाग्यो  

साँझ खको घामजस्तै

बिहानीको सूर्यजस्तै गरी

कोही त उदाउनु न अब

मेरो देशको छातीमा घाम लगाउन।

ज्यूँदै मर्नु र

लास बन्नुमा के फरक छ मित्र

कति दिनसम्म बेचिरहन्छौ  

औंठा छापमा आफ्नो स्वाभिमान

अब त उठ न मित्र।

 औंठा छापकै लागि

जन्मेका हौं भने

खसालिदिनुस् मतपत्रसँगै

बुढी औंला पनि मतपेटिकामा

ता कि मेरो देशको  

शासकले सम्झिन सकोस्

हिजोका शहीदहरूका हात र औला।

अब मतपेटिकामा

मतपत्र हैन

खसालिदिनुस रगत

र भिजाइदिनुस मतपत्रहरू

ता कि मतपत्र गन्ने बेलामा

मेरो देशको शासकको छातीमा

उम्लियोस् वीर पूर्खाको रगत

र सम्झिन सकोस्  

मेरो देशको स्वाभिमान।

खम्बा हुनु र  

खम्बाजस्तै चुपचाप उभिनुमा  

के फरक छ श्रीमान्

हुन त खम्बाले पनि बचाइरहन्छ

खम्बा हुनुको स्वाभिमान

तर तपाईं  

कहिले बचाउनुहुन्छ  

वीर पूर्खाको वीर सन्तान हुनुको  

विशाल स्वाभिमान।

एकपटक आफ्नो हातका

आफ्ना बुढी औंलाहरूलाई हेर्नुस् त

काला शासकहरूलाई

कालो छाप लगाउँदालगाउँदै

कति काला भएका छन्

ती बुढी औंलाहरू।

मित्र एकपटक त धुनुस् न  

आफ्नो हातका बुढी औंलाहरू

आमाको दूधजस्तै

नेपाल आमाको छातीमा  

बगिरहेको पानीमा

एकपटक चोप्नुस त

ती औंलाहरू

काला शासकलाई

कालो छाप लगाउँदालगाउँदै

काला भएका ती औंलाहरू

कतै सेता पो हुन्छन् कि।  

एकपटक आफ्नो हातका

बुढी औंलाहरूलाई

सबैले धोइदिनुस त

तपाईँहरूले एकपटक

आफ्नो हातका

बुढी औंलाहरूलाई धोए भने

बन्ने छ मेरो देश

सुन्दर नेपाल समृद्ध नेपाल।

प्रकाशित: १५ श्रावण २०७८ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App