२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

अधिकारीको “जूनका टुक्राहरू”मा परख

समीक्षा

खेमराज पोखरेल

 

आकस्मिकता

हो,मलाई अचेल मेरो आफ्नै जिन्दगी आफैँले चलाएजस्तो लाग्दैन। संयोगले याने आकस्मिकतामा चलेको छ कि जस्तो लाग्न थालेको छ। किनभने म मुक्तककार तीर्थराज अधिकारीलाई चिन्दिनँ। स्रस्टा साँझ अमेरिकाले आयोजना गर्ने गरेको जुमका साहित्यिक कार्यक्रमहरूमा मैले उहाँका मुक्तकहरू धेरै पल्ट मन्त्रमुग्ध भएर सुनेको छु। जन्मका हिसाबमा उहाँ लमजुङको म सप्तरीको। उहाँ पश्चिमको, म पूर्वको । पेसाका हिसाबले उहाँ सरकारी जागिरे, म त्रिविको शिक्षक। उमेरको हिसाबमा उहाँ निकै दाजु, म निकै भाइ। त्यसैले आकस्मिकता नआएका कारणले जिन्दगीमा अहिलेसम्म पनि जुरेन भेट। तर पनि उहाँले मलाई त्यही जुमका कार्यक्रमका आधारमा पत्याएर अमेरिकाको मेरो घरठेगानामा हुलाकमार्फत् “जूनका टुक्राहरू” नामक मुक्तक सङ्ग्रह पठाइदिनुभयो। यो एउटा अनपेक्षित आकस्मिकता थियो। सुखद संयोग थियो तर खसोखास भन्नु पर्दा म मुक्तकको पारखी भने होइन। परख गर्न सायद बुताले भ्याउँदैन। तर पनि मजाले पढेँ। पढेपछि लेखूँलेखूँ लाग्यो र यो आलेख जन्म्यो। यो आलेख जन्मनमा “पाठक आफैँ स्वतन्त्र र सार्वभौम हुन्छ” भन्ने मान्यताले भूमिका खेलेको छ। त्यही मान्यताको बुई चढेर निजी तर पाठकीय परख पस्कँदै छु।

         कलेवर  

मेरा घरठेगानामा आइपुगेको “जूनका टुक्राहरू” कवि तीर्थराज अधिकारीद्वारा लिखित मुक्तक सङ्ग्रह रहेछ। कलाकार यादवचन्द्र भुर्तेलको कला रहेको यो पुस्तकको आवरण पृष्टमा नीलो आकाश, त्यसभित्र छिरबिर चम्केका तारा, बीचमा रमाइरहेको परीको आकृति तथा तल्लो भागमा पृथ्वीको गोलाद्र्ध देखाइएको छ। आवरणमा रङ संयोजन, अर्थ संयोजन तथा कथ्य संयोजन मिलेको अनुभूति हुन्छ। यो मुक्तक सङ्ग्रहलाई अमेरिकाको इलियोनोइस विश्वविद्यालयलाई कर्मक्षेत्र बनाउनु भएका भोजराज न्योपानेले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको छ। अनुवादकको बायोडाटा आवरणको भित्री पृष्ठमा समेटिएको छ। लेखकका मातापितामा समर्पण गरिएको छ पुस्तक। नेपाल मुक्तक प्रतिष्ठानले २०७७ सालमा प्रकाशन गरेको यो पुस्तकमा प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले प्रकाशकीय लेख्नुभएको छ। कवि दामोदर पुडासँैन् ि‘किशोर’ ले “तीर्थराज अधिकारीको अविराम सिर्जना यात्रामा फक्रेको गुराँस” शीर्षकमा मन्तव्य लेख्नुभएको छ। मुक्तककारले कुनै आफ्नो भनाइ नलेखी सबै कुरा पाठकलाई नै सुम्पनुभएको छ। कुल १६६ पृष्ठ रहेको यो पुस्तकको आइएसबीएन ९७८—९९३७—८८७९—२—२ रहेको छ। यो पृष्ठमध्ये आधाभागमा अङ्ग्रेजी अुनवाद छ। आवरण पृष्ठको पश्च भागमा मुक्तककारको बायोडाटा छ।

बायोडाटा अनुसार २००३ सालमा लमजुङ जिल्लामा जन्मनुभएका मुक्तककार तीर्थराज अधिकारी पोखरा हुँदै हाल अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आउनुभएको छ। नेपालको सरकारी राजपत्राङ्कित जागीरमा लामो समय व्यतीत गर्नुभएका अधिकारी साहित्यानुरागी तथा साधक हुनुहुन्छ। २०२६ सालमा नै झुल्का नामको साहित्यिक पत्रिका प्रकाशन गर्ने क्रमसँगै विविध साहित्यिक संस्थाको आजीवन वा आवधिक सदस्य पनि हुनुहुन्छ। कविता, गीत, मुक्तक संस्मरण गरी झन्डै दर्जन पुस्तक प्रकाशन गराउनुले उहाँको साहित्यप्रतिको त्याग, लगन तथा साधना पुष्टि हुन्छ। प्रबल गोरखा दक्षिण बाहु, कदरपत्र पाइसक्नुभएका स्रस्टा अधिकारीलाई २०७३ सालमा अनेसास पोखरा च्याप्टरले चेतन कार्की प्रमुख अतिथि रहेको एउटा विशेष सार्वजनिक कार्यक्रम गरी ‘मुक्तकमणि’सम्मानबाट सुशोभित समेत गरिएको छ। उहाँका बारेमा सम्पादकद्वय असफल गौतम र कल्याण पन्तद्वारा सम्पादित पुस्तक ‘साधनाको स्वर्ण वर्ष मुक्तकमणि तीर्थराज अधिकारी’ नामक पुस्तक २०७८ सालमा अनेसास, केन्द्रीय समितिले प्रकाशन गरेको छ। साहित्य पोस्टले आयोजना गरेको मुक्तक प्रतियोगितामा उहाँलाई निर्णायक राखिएको छ।

  मैले बुझेको मुक्तक

मैले माथि पनि भनेँ कि मुक्तक मेरो परखको विषय होइन। मैले पाठक भइरहँदा मुक्तकलाई खास सीमाका बीचमा बुझेँ। त्यो सीमाभित्रबाट मुक्तकको आधारशीला तथा आकाश मैले पर्गेल्न नसकेकै विषय हो। त्यो मैले बुझेको सीमा शास्त्रीय हो वा होइन विज्ञ जानून् तर मैले बुझेअनुसार मुक्तकको अवधारणाका जनक फारस हालको इरानका राजदरबारीय कवि ओमार खैयाम (सन १०४८—११३१) हुन्। फारसी तथा उर्दूको रुवाइयत अरबीमा रुवैयाह भएको छ भने हिन्दीमा रुवाइयाँ भनिन्छ। अङ्ग्रेजीमा क्वाट्रेन्स भनिने चार हरफका विशेष बुनौटका कविता नेपालीमा आइपुग्दा मुक्तक भएको छ।  

मुक्तकलाई मापन गर्ने आधार चार हारमा लेखिनु हो। पहिलो, दोस्रो तथा चौथो हारमा तुकबन्दी हुनुपर्छ। याने अनुप्रास मिलेको हुनुपर्छ। अनुप्रास मिल्नु मुक्तकको पहिलो तत्त्व हो। मुक्तक यद्यपि चार हरफमा लेखिन्छ  तर त्यसले एउटा पूरै कथानकलाई प्रतिध्वन्यात्मकताका साथ प्रस्तुत गर्दछ। यी चार हरफमध्ये पहिलो हरफले विषयवस्तुको उठान गर्दछ। दोस्रो हरफले उठान गरिएको विषयवस्तुलाई बलियो पार्न समर्थन वा व्याख्या गर्दछ। तेस्रो वाक्य बुनौटका हिसाबले नितान्त अलग खालको हुन्छ। यसले उत्सुकता तथा झट्का हान्ने वातावरण मिलाउँछ। चौथो वाक्यले दर्बिलो झट्काका साथ प्रहार गरेर समापन गर्छ। अनुप्रास मिलेन वा झट्का आएन र विषय पनि बरालियो भने त्यो मुक्तक हुँदैन। मुक्तक भावका हिसाबबाट पनि गहिरो हुनु आवश्यक छ। कथानकको भाव प्रस्तुतिका हिसाबमा मुक्तकका चारैवटा हरफका बीचमा अन्तरसम्बन्ध हुन्छ। त्यसकारण यिनै मापदण्डका आधारमा मुक्तककार अधिकारीको मुक्तक सङ्रग्रहभित्र प्रवेश गर्दछु।

    विषय सौन्दर्य  

विषय सौन्दर्यले रचनाले उठाएका विचारहरूको प्रतिनिधित्व गर्छ। विचार पक्ष साहित्यको सौन्दर्य हो। यो मुक्तक सङ्ग्रहमा विविध खाले विचार प्रक्षेपण भएका छन् । १५४ वटा मुक्तक समेटिएका छन्। ती सबै मुक्तकलाई अङ्ग्रेजीमा अनुवाद गरिएको छ। यो आलेखमा अनुवादको शिल्पको चर्चा गरिने छैन। रचनाकारको रचनाशिल्पलाई मध्यनजरमा राखिने छ।

यो सङ्ग्रहमा समेटिएका मुक्तकहरूलाई विषयगत हिसाबबाट हेर्दा विविध विषय देखिन्छन्। अलगअलग विचार तथा परिवेशलाई मुक्तकका रूपमा प्रस्तुत गरिएको छ। मुक्तकभित्र विषयवस्तुका हिसाबले राजनीतिक विषयवस्तु प्रमुख रूपमा आएको छ। यसबाहेक जीवनबोध दृष्टिकोण, प्रकृति प्रेम, माया तथा शृङ्गार, सामाजिक पीडा जस्ता विषय सङ्ग्रहभित्र अटाएका छन्।

नेपाल देशले कहिल्यै राजनीतिक स्थिरता र अग्रगमन पाएन। व्यवहारमा राजनीति धमिलो पानीमा माछा मार्ने सिद्धान्तमा आधारित भयो। राजनीतिक परिवर्तन भए पनि व्यवहारमा झन् गिर्दो अवस्था आयो। यो अवस्थामा मुक्तककारद्वारा देशको राजनीतिप्रति चिन्तित भएर त्यो भताभुङ्ग राजनीतिमाथि व्यङ्ग्य प्रहार गरिएको छ । केही उदारहण हेरौँ —

 १) रङ नभए चुना लाउँछु,

   पात टिपेर दुना लाउँछु।

   हात पसार्दै माग्ने छैन,

  मेरै तानको घरबुना लाउँछु। (पृ) २)

२) राम्रो लाउनु होला, मीठो खानुहोला,

    सके जति लुटी—लुकाई लानुहोला।

    होस गर्नुहोस् सबै छर्लङ्ग पारिदिन्छ उसले,

   भुलेर पनि दर्पण अगाडि नजानुहोला । (पृ) ४)

३)  हो हिजोआज लोकतन्त्रमा खतरा छ तर कुनसित?

   धमिरासित कि ? सरकारी ढुकुटीमा लागेका घुनसित ?

  आफ्नो मुद्दा सुनाउन खोज्ने जनता पन्छाएर हो वा

  सरकारी शून्यजवाफदेहीको निराशाजनक बैगुनसित? (पृ)७०)

४) कुनै कुरा बुझ्नु छैन पुर्खालाई दोष दिए भइहाल्यो,

    मौका पर्दा आउने पिँढीको भागै खोसिदिए भइहाल्यो ।

   क्लि युगमा आफूले सिन्को नभाँचे पनि चलेकै छ,

   केही बिग्रियो भने सरकारलाई झोसिदिए भैहाल्यो। (पृष्ठ ११८)

५) कतिलाई बुटले कुटे, कति अबलाका चुरा फुटे,

    निदाएकाहरू उठे, सबै एकैठाउँमा जुटे ।

  आशाको स्वर्णीम किरण सावित होला त अब,

  भरोसेदार मान्छेहरूले आआफ्ना हातमुख चुठे। (पृष्ठ १३२)

 

उल्लिखित मुक्तक केही नमुना मात्र हुन्। मुक्तककारको विचार पक्ष राष्ट्रियताका पक्षमा देखिन्छ। आफ्नै घरबुना कपडा लगाउने याने राष्ट्रियताप्रति दृढ सङ्कल्पित भएको आभास हुन्छ। राजनीतिक नेतालाई दर्पण अगाडि नजान सुझाइएको छ। किनभने दर्पणले साँचो देखाइदिन्छ। सरकारको गिरेको शून्यजवाफदेहीमाथि प्रहार छ। सबै कुरा सरकारलाई दोष लगाएर आफू पानीमाथिको ओभानो हुने नेपाली जनताको प्रवृत्तिमाथि पनि चोटिलो प्रहार गरिएको छ। शक्तिमा पुगेका नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको कुरा मजाले उजागर भएको छ। त्यसकारण मुक्तकहरू चोटिला बनेका छन्।

समीक्षक खेमराज पोखरेल 

मुक्तककारले उमेरको एउटा शृङ्खला पार गरिसक्नुभएको छ। भौतिक तथा आध्यात्मिक ज्ञान तथा अनुभवले जीवनबारे परिस्कृत विचार आएको छ। मुक्तकमा ज्यादै भावपरक तरिकाले मान्छेको जीवनदर्शन केलाइएको छ। जीवनदर्शन केलाउनु सजिलो भने हुँदैन तर पनि मुक्तकमा जीवनको तत्त्व समावेश भएको छ । केही उदाहरण हेरौँ —

१) कहिले जीवन भङ्गालै भङ्गालो भएर बहन्छ,

  कहिले यात्राभरि नै काँडै काँडाको दर्द सहन्छ।

  हिँड्दाहिँड्दै जति टाढासम्म पुगे पनि पथिक,

  बाटो त आखिर आफ्नै पैतालामुनि सिङ्गै रहन्छ।(पृष्ठ १०)

२)  निकै ठूलो स्वरले कराउनुभयो,

   मनै काँप्ने गरी डराउनुभयो।

   अरूको भन्दा बेग्लै किसिमको यो दुनियाँमा,

  तपाईँसँग के थियो र के हराउनुभयो ?(पृष्ठ १२)

  ३) न खनेर न खोस्रेर भेटिने,

    न आफ्नो नाम इतिहासमा समेटिने।

   हिँउका अक्षर समान भयो यो जिन्दगी,

   घाम लागे पनि शीत परे पनि मेटिने ।(पृष्ठ ३८)

उल्लिखत मुक्तकलाई आधार बनाएर मुक्तककारको जीवन दृष्टिलाई पर्गेल्न सकिन्छ। जीवनदृष्टिको अन्तर्यलाई बुझ्न सकिन्छ। वास्तवमा मुक्तककारले भनेझैँ मान्छेको जीवनमा उतारचढाव, दुःखसुख भई नै रहन्छन् । यो स्वाभाविक र प्राकृतिक प्रक्रिया हो। जे भए पनि आफ्नो जीवन आफैँले बाँच्नुपर्छ। यो क्षणभङ्गुर जीवनमा जन्मदा के ल्याएको थियो र मर्दा के गुम्छ भन्ने कस्तो मीठो जीवनदर्शन व्यक्त भएको छ। फेरि पनि मान्छे आफ्नो जीवनको भवसागर सम्झेर याने आफ्नो जिन्दगी सम्झेर आफैँ विह्वल भएको परिवेश पनि मुक्तकभित्र छन्।

मुक्तककारका मुक्तकमा माया, प्रेम, सद्भाव, विछोड, शृङ्गार पनि मीठोसँग आएका छन्। प्रेयसीका प्रेममा छटपटाएका आत्माहरूलाई मुक्तकमा अटाइएको छ। रसिक छन्। मीठा छन्। प्रेमतथा यौन शालीन छन्। विछोडको पीडा पनि देखिएको छ । केही उदाहरण हेरौँ —

१) सारा स्मृतिहरू विस्मृतिको खातामा चढाएपछि,

 हिजोभन्दा आज धेरै मैत्रीय दूरी बढाएपछि।

  सानो खाम मात्र सुन्दर भएर के गर्नु र साथी?

   चिठीको व्योहोराले भसक्कै मन डढाएपछि ।(पृष्ठ २६)

२)  कतै तिमीले गाएजस्तो लाग्छ,

    कहिले तिमी आएजस्तो लाग्छ।

   स्मृतिको स्पर्शित फूलबारीमा,

  तिमीलाई नै पाएजस्तो लाग्छ ।(पृष्ठ ९२)

३) छायाँसरी हिँड्नु पर्दैन प्रिय मनमा बसे पनि हुन्छ,

    हमेसा कल्पनाको न्यानो अँगालोमा कसे पनि हुन्छ।  

   तिम्रै सोचमा कतै शीतल छहारीमा बसेका बेला,

  पारिजातको फूल बनेर नजिकै खसे पनि हुन्छ।(पृष्ठ १२२)

४)  चन्दन भए तिलक बनाउँदा खिएर सकिने थियौ,

   वरदान भए तपस्वीलाई दिएर सकिने थियौ।

    धन्न फूल भएकीले आँखाभरि बसेकी छौ प्रिय,

 सराब हुँदी हौ त हरदिन पिएर सकिने थियौ। (पृष्ठ १३८)

वास्तवमा प्रेम तथा शृङ्गार जिन्दगीका मूल आधार हुन् । जसले जे भने पनि प्रेम, त्याग, शृङ्गार तथा यौन जीवन बाँच्ने महत्त्वपूर्ण आधार हुन्। यो शाश्वत सत्य हो। त्यसो भएकाले मुक्तक सङ्ग्रहमा लेखकले यी विषयमाथि विहङ्गम दृष्टि पुर्याएको देखिन्छ। उल्लिखित मुक्तकमा प्रेमीप्रेमिकाका बीचमा आउने प्रेम, त्याग, याद, आशा, मिलन, बिछोडलाई देखाइएको छ । मुक्तकमा सराब आएको छ। फूल, छहारी, अँगालो, छाया आदि बिम्बका रूपमा प्रस्तुत गरेर मुक्तकलाई सुन्दर बनाइएको छ। 

यसै गरी प्रकृति प्रेममा पनि मुक्तककारको शिल्प कुदेको छ। वास्तवमा प्रकृति भन्नु हरेक विषयको जननी हो। प्रकृतिमा रमाउन सक्दाको आनन्द अन्त कतै पाइन्न। मुक्तककारलाई पनि प्रकृतिसँग खेल्न र रमाउन मन लागेको छ । उदाहरण हेरौँ—

१) सागरको गहिराइसम्म माछाझैँ बुँडूँझै लाग्छ,

  नील गगनमा पन्छीजस्तै हावामा उडुँजस्तो लाग्छ।

 कत्ति थाहा छैन, खै किन यसरी हराउँछु म अचेल ?

 बगैँचाभरि मुस्कुराएका फूलहरू चुँडूँजस्तो लाग्छ। (पृष्ठ १४०)

मानव जीवनको सम्पूर्ण ज्ञानको स्रोत प्रकृति नै हो। प्रकृति जति आनन्दको ठाउँ अन्त कतै छैन। खोलानाला, झर्ना, सागर, आकाश, हावा, बगैैचामा फुलेका फूलले मान्छेलाई आनन्दातिरेक बनाउँछन्। बेलगाम भएको मनलाई नियन्त्रण गर्छ। यसकारण उल्लिखित मुक्तकमा प्रकृतिको गहिराइसम्म पुग्ने, हावाजस्तै उड्ने, तिनमा हराउने तथा फूलहरूसँग मुस्कुराउने पक्षलाई पनि मजाले उजागर पारिएको छ । लेखकमा प्रकृतिप्रेम जब्बर देखिएको छ।

  वस्तु सौन्दर्य  

वस्तु सौन्दर्य भन्नु विषयभित्र आएका विचार प्रक्षेपण पद्दतिको सौन्दर्य हो। यस अन्तर्गत मुक्तकको रूपविधान, कथ्यविधान, अर्थविधान, प्रयोजनविधान आदिको सुन्दरताको परख हुने हो। यो सङ्ग्रहमा उनिएका १५४ वटा मुक्तकले चार हरफीय सिद्धान्तलाई पूरापूर अनुसरण गरेका छन्। मुक्तकमा शीर्षक नहुने परम्परालाई आत्मसात गरिएको छ। मुक्तकमा नभई नहुने अनुप्रासलाई मीठोसँग समायोजन गरिएको छ। प्रयोग भएका शब्दहरू मीठा, सरल र श्लील छन् ।  

मुक्तकको महत्त्वपूर्ण विशेषता चोटिलो, घोचिलो तथा प्रतिध्वन्यात्मकतामा समापन हुनु हो। यो सङ्ग्रहमा बुनौटका हिसाबले रूपविधान, कथ्यविधान, अर्थविधान तथा प्रयोजन विधान मिलेको छ। मुक्तकभित्र काकथानक सामाजिक तथा राजनीतिक परिवेशबाट लिइएको छ । मुक्तकले देखाउन खोजेको अर्थविधान प्रस्ट र सुन्दर छ। भौतिक तथा आध्यात्मिक जीवनको अर्थ खोजिएको छ। मुक्तकहरूको प्रयोजन कुनै न कुनै रूपमा समाज परिवर्तन याने कि सामाजिक तथा राजनीतिक अवस्थामा स्वच्छ परिवेशको निर्माण गर्नुरहेको छ। समाजका जटिलताहरूलाई मिहीन तरिकाले खुट्याउनु र अग्रगमन खोज्नु मुक्तकको सुन्दर पक्ष हो। त्यसकारण मुक्तककारको मुक्तकीय सीप यो सङ्ग्रहमा छताछुल्ल भएको छ। मुक्तकीय धर्म शतप्रतिशत निर्वाह गरिएको छ। अङ्गे्रजीमा अनुवाद गरिएकाले नेपाली भाषा नबुझ्ने पाठक पनि लाभान्वित हुने देखिन्छ।

  सुधाराग्रह

मलाई ज्ञात भएअनुसार मुक्तक तथा गजल राजा महाराजाका वा सामन्तका महलमा रमाइलो याने कि मनोरञ्जनका लागि लेखिने र गाइने पद्य हो। त्यसकारण मुक्तकको पहिलो र मीठो स्वाद भनेको प्रेम, त्याग, माया, मदिरा, सुन्दरी, धोका, विछोड, तारा, आकाश, वायु, हावा, हृदय, याद, छाया, नदी, प्रकृति आदिआदि विषय हुन्। त्यसकारण नेपाली साहित्यमा सशक्त लेख्ने युवाकवि मोतीराम भट्टका मुक्तक वा गजलमा शृङ्गार रस प्रबल भएर आएका देखिन्छन् ।

समाजको विकास क्रमसँगै मुक्तक सिर्जनाको अवधारणामा पनि परिवर्तन आयो। फलस्वरूप माया, प्रेम, भावना, दया र शृङ्गार आदि विषयका अलावा आर्थिक, जैविक तथा राजनीतिक विषयमा पनि मुक्तक लेख्न थालियो। पहिला मुक्तक हृदय तथा पेटमुनिका विषयवस्तुमा आधारित हुन्थ्यो भने अहिले दिमाग, बुद्धि तथा पेटका विषयमा पनि लेख्न थालिएको छ। राजनीतिक विषयमा पनि लेख्न थालिएको छ। यसो भएकाले मुक्तककार अधिकारीका यहाँ समेटिएका मुक्तकमा अधिकांश राजनीतिक विद्रोह र व्यङ्ग्य छन्। ती व्यङ्ग्य सुन्दर पनि छन्।

सङ्ग्रहमा राजनीतिक विषय मात्र छैनन्। सामाजिक, आर्थिक, प्रकृति, शृङ्गारिक मुक्तक पनि समेटिएका छन्। त्यसकारण मुक्तक सङ्ग्रह विषयवस्तुका हिसाबबाट खिचडी भएको छ। राजनीतिक स्वाद आउँदाआउँदै प्रेम आइपुग्छ। प्रेम आउँदाआउँदै राजनीति आइपुग्छ। त्यसकारण एउटा पक्ष भन्न सकिन्छ कि विषयगत हिसाबमा एउटै स्वभावका मुक्तकको एक सङ्ग्रह बनाउन पाएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने लागेको छ। सङ्ग्रहभित्र उनिएका सबै मुक्तकमा बुनौटको हिसाबमा अब्बल भए पनि विषयका हिसाबमा अब्बल, द्वयम, सियम वा चाहार विषय पनि छन् । कुनै ज्यादै चोटिला तथा घोचिला छन् भने कुनै अलि मत्थर पनि छन्। यद्यपि मलाई थाहा भएकै कुरा हो कि सबै सिर्जना एकै कोटिका हुने कुरा होइन।  

एउटा भाषाको कृति अर्को भाषामा अनुवाद गर्नु निकै जटिल कुरा हो। शब्दार्थ अनुवाद गर्न सहज भए पनि भावार्थसहित अनुवाद गर्नु निकै चुनौतीको कुरा हो। यो मुक्तक सङ्ग्रहमा समावेश गरिएका मुक्तकलाई अङ्ग्रेजीमा अनुवाद गरिँदा त्यसको स्तरीयता तथा शील्पको राम्रो नराम्रो प्रभाव मुक्तक सङ्ग्रहलाई पर्न सक्छ। यद्दपि मैले अनुवाद खण्डलाई आफ्नो लेखनीको सामग्री बनाइनँ।

 उपसंहार

हो, अब म पुछारमा आइपुगेको छु। यो सङ्ग्रहभित्र समेटिएका मुक्तकलाई केलाउने हो भने त्यसमा समेटिएका विषय अन्तर्यका बारेमा अनेकौँ ग्रन्थ बन्छन् । पुस्तकभित्र रहेको अङ्ग्रेजी अनुवाद फेरि अर्कै चर्चाको विषय बन्न सक्छ। यो लेखाइ भन्ने कुरा या सिर्जना भन्ने कुरा एउटा अविच्छिन्न यात्रा मात्रै हो। त्यो यात्रामा लगातार– लगातार हिँडिरहनुभएका मुक्तककारलाई थकाइरहित भएर साहित्य साधना समर्पित चेतका लागि सलाम भन्नै पर्छ। यद्यपि वैश्य युगमा प्रचार भएन भने ज्ञानको खुराक पनि कमजोर बन्न सक्छ। चोरत्वमाथि पुग्न सक्छ। साधुत्व तल झर्न सक्छ तर पनि ज्ञानलाई बेवास्ता गर्ने हो भने संसार मुढ बन्न जान्छ। यो एउटा चिन्ताको विषय हो।

तर यी सबै कुरालाई छोडेर कर्मयोगी हुनु मान्छेको सार्थकता हो। मलाई मुक्तककार तीर्थराज अधिकारी यस्तै कर्मयोगी साहित्य साधक लाग्छ। जीवनका भड्खालामा ऊर्जासहित उभिन सक्ने क्षमता रहेको कुरा मुक्तकले बोलेको छ। यो ऊर्जालाई म एउटा पाठक नमन गर्दछु र उहाँका कलमबाट साहित्यका कृति अझै बिस्कुन लागून। मजस्ता पाठकले बिस्कुनबाट केही टिपेर आनन्दमा रमाउन पाऔँ।

गुरु पुर्णिमा, २०७८, सानमार्कोस, अमेरिका।

प्रकाशित: १४ श्रावण २०७८ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App