१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

सडक

कविता

 

    कमल अर्याल  

 

ए मेरा परम पूज्य बा,

यो सडक जङ्गली बाँदरहरूको पनि हो र  

मेरो प्यारो बाबु ,  

लोकतन्त्रमा  

यो सडक सबैको साझा हो  

ऊ हेर त  

बाटामा उग्रिरहेका

    केही थान नाङ्गा साढेहरू  

   सुख खोजेका र दुख बोकेका  

   फरक फरक माग्नेहरू  

यो सडक सबैको साझा हो

दुर्गन्ध बोकेर सडकमै गजधम्म छ  

केही थान  

फोहोरका महल  

सुकिला मान्छेहरू  

नाक छोपेर  

यही सडकबाट  

सिंहदरबार छिर्छन्  र सिंह बन्छन्।  

बाबु ,

यो कालो अनुहारमा  

लम्पसार सुतेका सडकबाट  

काला धनहरूको  

नकचरा डनहरूको  

जङ्गली मनहरूको  

खेतीपाती हुन्छ रातमा

भियाइनभियाई हुन्छ रातमा

असार लाग्छ मंसिर लाग्छ  

मधुशालाहरू बिउँझन्छन्  

नानीहरूको सतीत्व लुटिन्छन्।

न्याय मर्छ रातमै

अन्याय जाग्छ रातमै

ए मेरो बाबु केके पो भनौं तिमीलाई  

भुक्के चट्टी पड्काउँदै शहर  छिर्नेहरू

किर्ना बनेर मोटाएको बेला  

अशान्त बनेको छ यो सडक।  

बाबु सुन म भन्दै छु

यो सडक  

कुकुरहरूको पनि हो  

हेर त ती कुकुरहरू  

कसरी झगडा गरिरहेका छन्

बलिया डाँगेहरू

डाँगिनीहरूलाई उपभोग गर्छन्  

निर्लज्ज सबैसामु  

हड्डी बटुल्छ्न् बलियाहरू  

निर्धाहरू यही सडकमा  

थुक निल्छन्  

र घाँटी भिजाउँछन्  

तर कुकुर त कुकुर हो  

मान्छे र कुकुरमा अन्तर छ

मान्छे बोल्छ कुकुर भुक्छ

जे भने पनि कुकुर इमानदार छ  

खै, म के भनौं र  

मान्छेहरू त भन्छन् –

अब चट्टी पड्काई शहर छिर्नेलाई  

कुकुरसँग दाज्नु एउटा पशुको अपमान हो  

पशुअधिकार स्थापना गरियोस्।  

 

यो सडक बाँदरहरूको पनि हो  

पुर्खाहरूकै पालादेखि नै  

यो सडक बाँदरहरूको हो  

उनीहरूलाई,

रोकतोक छैन, कानुन लाग्दैन

हेर्दा उस्तै मान्छे जस्तै तर लुगा लाउँदैनन्  

खुला दिसा गर्छन् अनि पिसाब फेर्छन्  

र  

मौका छोपेर  

अरूका सामान खोस्छन्  

घरका बार्दली र झ्यालहरूबाट  

शान्ति लुट्छन्।

पहिला मन्दिर आसपासका  

सडकमा भेटिन्थे

अहिले सिंहदरबार आसपास  

माइतीघर आसपास  

राजधानीका प्रमुख सडकमा  

ती नाङ्गै उग्रिरहेका साढेजस्तै

हड्डी र यौनमा निर्लिप्त

डाँगेडाँगिनीजस्तै

शहरले थुकेका

फोहोरसँगै  

पेट काला भएका  

ती सडकहरूमा स्वछन्द कुदिरहेका  

हेर्दा ठ्याक्कै मान्छेजस्तै देखिने  

यी बाँदरहरूको  

पनि हो यो सडक  

बिचरा यिनीहरूको

आफ्नै घर हुन्न  

अरूक घर पनि बिगार्न  

हरदम प्रयासरत हुन्छन्  

त्यसैले  

हिंडून्, उफ्रियून्  र निस्फिक्री डुलून् ,

हुलहुज्जत गरू न

यिनीहरूलाई कानुन लाग्दैन।  

तर बाबु  

म आशावादी छु, तिमी पनि आशा नमार  

एक दिन बाँदरले मान्छे बन्नु पर्नेछ  

यो बुच्चे सडक  

यो चोसेमोसे सडक  

एक दिन अवश्य चौडिनेछ।  

तिमीले सुनेका छैनौ र बाबु,  

भन्नेहरूले त भनेका छन्–

मान्छेका पुर्खा पनि त बाँदरै थिए।

प्रकाशित: १४ श्रावण २०७८ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App