कमला घिमिरे
व्यवहारमा सुनिएको लोकप्रिय उखान छ,
छोटो बढेपछि भारी फुर्ति ढाँचा बढाउँछ।
बाँसको तामाले पनि सोच्दो हो बढेर आकाश छुनु छ,
प्रौढतामा पुग्दा आखिर जमिनतिर नै झुक्दछ।
माटोमा उम्रेको वृक्ष अन्त्यमा माटामै मिल्दछ,
आफूसँग जे जति छ अरूमै समर्पण गर्दछ।
फुलेको फूलले पनि अरूमै सुवास छर्दछ,
सृष्टिको हरेक प्राणीले प्रायः त्याग नै गर्दछ।
प्राणीमध्ये सर्वश्रेष्ठ प्राणी मानव पर्दछ,
त्यागको नाँउमा उस्ले आफ्नै फाइदा हेर्दछ।
ताकतले भ्याएसम्म दौलत र शक्ति जोड्दछ,
त्यसैको आडमा उस्ले यतिविघ्न दम्भ गर्दछ।
दम्भै दम्भमा उसले शक्तिको दुरुपयोग गर्दछ,
छोड्नै परे आसन शक्ति प्रदर्शनमा छोड्दछ।
बुझ्न जरुरी छैन र ! आखिर मरेर के लाने हो ?
खाली हात जन्मेको खाली हात नै जाने हो।
नाम अमर राख्न त कृति नै उत्तम हैन र,
‘अजम्बरी कोही छैन’ बुझ्नु जरुरी छैन र !
प्रकाशित: ११ श्रावण २०७८ ०१:३६ सोमबार