१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

पैसाको बुटो

कथा

कमला अधिकारी

 

म ऋणधन गरेर विदेशतिर हान्निएँ । सुरुवाती दिनमा मलाई त्यहाँ रिझ्नभिज्न निकै कठिन भयो। पछि बिस्तारै बानी पर्न थालें। गाउँघरमा दिनभर काममै व्यस्त हुनुपर्ने। सुन्नका लागि एउटा रेडियो समेत थिएन साथमा। यहाँ आएपछि साथीको लहैलहैमा लागेर एन्ड्रोइड फोन पनि किनियो। इन्टरनेट सहितको एन्ड्रोइड फोन भएपछि त केही चाहियो र ? संसार हत्केलामा खुम्चियो। बेलुका कामबाट फर्केपछि थकान मेट्न फेसबुक खोल्थें। न्यूज पोर्टलहरू हेर्थें। नानाथरीका खबर आउने। देशबारे राम्रो समाचार सुन्न विरलै पाइन्थ्यो। देशलाई महामारीले गाँजेको थियो। त्यहीँमाथि अझ सत्ताका लागि राजनीतिक खिचातानी। यस्ता कुराले दिनभरिको थकानमाथि अझ थकान थपिन्थ्यो। शरीर र मन दुवै शिथिल हुन्थे। कहिलेकाहीँ बिदामा साथीहरूसँग भेट हुँदा देशको वर्तमान अवस्थाबारे नै चिन्तन हुन्थ्यो। कोरोनाको महामारीले आक्रान्त भएका स्वदेशीजनको चत्किार जति टाढा भयो उति टड्कारोसँग सुनिने रहेछ।

साथीहरूको एउटा टिम थियो। उनीहरूले नेपालमा स्वास्थ्य सामग्री पठाउन आर्थिक संकलनको कुरा उठाए। त्यतिबेलासम्म मैले विदेश आउँदा लागेको ऋण आधाआधी निखनिसकेको थिएँ। साथीहरूको त्यो आग्रहलाई मैले नकार्न सकिन। एक महिनाको तलब दिएँ। हाम्रो सहयोगको समाचार बन्यो तर दुःखको कुरा जस भने आफूलाई ठूलाबडा भन्न रुचाउनेहरूले पो लिए।

देशमा कोरोनाको सङ्क्रमण केही हदसम्म साम्य भयो। जनजीवन सामान्य बन्यो। मलाई घर जाने रहर जाग्यो। प्लेनकोे यात्रा, हाइवेको यात्रासँगै म घर नजीक–नजीक पुगें। अब जीपमा १० किलोमिटरको कच्ची बाटो पार गर्नुपथ्र्यो । जीपले घर नजीक लगेर ओरालिदियो।  

‘कति हो भाइ ?’ मैले ड्राइभरसँग भाडा सोधें । उसले भन्यो, ‘दुई हजार।’

उसको कुरा सुनेर मलाई रिस उठ्यो किनकि मभन्दा अघि झर्नेले सय रुपैयाँ तिरेर आफ्नो बाटो लागिसकेका थियो।

‘तिमी यो के भन्दैछौ भाइ ? किन यति धेरै भाडा ? खास भाडा त सय रुपैयाँ हो नि ! मान्छेको एक सय र यो सामानको एक सय गरेर दुई सयभन्दा बढी भाडा त मैले कुनै हालतमा पनि दिन्न बुझ्यौ ?’

‘दाइ, भाडा यति नैं हो । दिने भए दिनुस् । नत्र यो सामान मैले यहीँ राख्छु। लाहुरे भएर यति भाडा दिन पनि किचकिच गर्छन यार !’ मान्छेहरू लाइन लागेर हेरिराखेका थिए। मलाई ऊसँग थप बहस गर्न मन लागेन। गोजीबाट हजार– हजारका दुईवटा नोट झिकेर दिएँ।

घर पुगें। घरका सबै मेरै बाटो हेरेर बसेका रहेछन्। पहिलोपटक घर छोडेर विदेश गएको, यति लामो समयसम्म घरबाहिर भएको। यो पहिलो अनुभव थियो। मलाई देखेर सबैका आँखा रसाए। मैले पनि मन थाम्न सकिन तर छोराछोरीको ध्यान मेरो ब्यागतिर थियो। हामी बाहिर गफमा व्यस्त थियौं। सानी छोरी बाहिर निस्किइन के तुनेलो गरेकी छ भनेर भित्र पसेर हेरें। ब्यागबाट सबै सामान तितरबितर पारेर पो बसेकी रहिछ। मिठाईको पोको खोजेको रे !

यस्तै पोकाको आश गर्ने अरूहरू पनि थिए। म घर आउने चाल पाएपछि मलाई धेरैले फोन गरेर आफ्नो माग फाराम बुझाएका थिए। मैले उनीहरूको माग सम्बोधन गर्न सकिन। अब कति कचकच सहनुपर्ने हो ?  

गाउँमा आउन नपाउँदै आमा समूहको योजना बनिसकेछ । गाउँमा एउटा चलन थियो, कोही लाहुरे विदेशबाट आयो भने आमा समूहले नाचगान गर्थे, रमाइलो गर्थे, त्यो गरेबापत लाहुरेले आफूसक्दो केही रकम दिनुपथ्र्यो। दिउँसोभरिको थकान, धेरै समयपछि भेट भएर परिवारसँग बसेर कुरा गरौंला भनेको । घर भत्केको दुईचार घण्टा हुन नपाउँदै आँगनमा मान्छेको ताँती लाग्न थाल्यो। आमा समूहको नाचगान भयो । रातिको १२ बजेसम्म त्यो कार्यक्रम रह्यो। रमाइलो पनि भयो। वर्षौसम्म नभेटेका छरछिमेकसँग भेटेर भलाकुसारी गर्न पाइयो। अन्तिममा बिदाइ गर्न दक्षिणा टक्राएँ तर उनीहरूलाई मैले दिएको रकममा चित्त बुझेनछ। बार्गेनिङ गर्न थाले।

‘यत्रा वर्षमा घर आको लाहुरे, किन कञ्जुस गर्छस् ए कान्छा ! अलि मन फुकान ! यस्तो चालले त भएन !’ एकजना बुढी आमाले भन्नुभयो।

सबैले त्यही कुरालाई स्वरमा स्वर मिलाए। जिद्दी गर्न थाले, सुखै पाइन। केही रकम थपिदिएँ।

एकदिन पल्ला घरे काइँला बाको टोली चन्दा उठाउँदै हाम्रो घरमा आइपुगे। ‘के छ लाहुरेको खबर ! हामीले तल पँधेरो बनाउन लागेको । चन्दा उठाउँदै आका छौं । सहयोग गर्नुप¥यो ।’ यो ‘लाहुरे’ शब्द कहिलेसम्म सुन्नुपर्ने हो मनमनै सोचें, केही प्रत्युत्तर दिइन।

मैले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतास्वरूप केही रकम दिएँ। ‘तँ त धेरै वर्षमा गाउँ टेकेको लाहुरे होस् नि। कमाइ नैं नहुनेले त गाउँमा पर्दा कति सहयोग गरेका छन् । तैले यति थोरै सहयोगले टार्न मिल्छ ?’ काइँला बा कड्किए।

आफ्नो पीडा आफैसँग छ। कसलाई भनेर के हुने हो र ? चुपचाप बसें।  

जे गर्दा पनि सुख छैन। विदेश छँदा स्वदेश आउन मन लाग्यो। स्वदेश आएँ। विदेशबाट ल्याएको पैसाले एकाध वर्षलाई पनि भएन। गाउँमा केही गरेर बसूँ  भने पनि लगानी गर्न पैसा छैन। बाहिरबाट हेर्दा कति कमाएर ल्यायो होला ? यससँग त थुप्रो पैसा छ जस्तो लाग्दो हो अरूलाई । भित्री कुरा कसलाई के थाहा ? विदेशबाट आउने मान्छेसँग त पैसाको भारी हुन्छ जस्तो ठान्छन्। के विदेशमा साँच्चिकै पैसा बुटामा फल्ने हो र ! 

मलाई नि कोरोनाले नछोएको कहाँ हो र ! विदेशी भूमिमै भए पनि मैले सङ्क्रमित भएको बेला राम्रो उपचार पाएँ। त्यहाँको सरकारले मलाई कहीँ कतैबाट पनि प्रवासी नागरिकको आभाष हुने खालको व्यवहार गरेन। बिरानो मुलुकमा छु र पनि यहाँको सरकार मेरो स्वास्थ्यलाई लिएर चिन्तित छ। कस्तो विडम्वना ! तर मेरो परिवारका सदस्यले आफ्नै जन्मभूमिको आँगनमा एक मुठी सासको अभावमा देह त्याग्नुपरेको छ।  कमजोर अर्थव्यवस्थाले नधानेको भए पनि चित्तबुझ्दो हो तर चरम बेवास्ताले यो सब भइरहेको छ। रोगको पीडाले गिजोलेको घाउले मलमपट्टी पाउने त के आश रह्यो र कुर्सीको लडाईँमा राजनीतिक खिचातानीले उल्टै नुनचुकको काम गरेको छ। हामी प्रवासीले गर्ने देशप्रतिको माया यहाँका नेताले सोचे मात्रै पनि देशले काँचुली फेर्छ।  

हिजो २०६२÷०६३ को जनआन्दोलनमा दिलोज्यानले लागियो। देशले मुहार फेर्ला कि भन्ने आश थियो तर त्यो आशलाई नेताहरूले एकै गाँसमा निलिदिए। प्रमाण नै खोज्छौ भने पनि पिठ्यूँमा लागेको छर्राको दाग अझै छ । त्यही आन्दोलनमा सहभागी भएको एउटा फोटाकै भरमा मेरो साथीले अहिले मन्त्री पड्काएको छ।  

विदेशमा छँदा मलाई मेरो आफ्नो परिवारको चिन्ताभन्दा पनि देशको चिन्ता लाग्छ। लाग्नु पनि स्वाभाविक हो। देश डुब्यो भने साथमा म पनि डुब्ने हो र मेरो परिवार पनि। मेरो अनुमानमा मजस्ता असी प्रतिशतभन्दा बढी युवा बेरोजगारीले भन्दा देशको राजनीतिक दुरावस्थाले डिप्रेसनमा छन्।पचपन्न डिग्रीको तापक्रममा बेल्चा चलाउँदा साउने झरनालाई सम्झन्छु, जुरे रहमा पौडी खेलेको सम्झन्छ, गाउँघरको पाखापखेरामा डुलेको सम्झन्छु। त्यतिखेरै यही कल्पनाले मात्रै पनि आँत हरर भएर आउँछ। यस्तो देश पो हो मेरो।

विदेशमा कलिलो दिमागमै श्रमको सम्मान गर्ने संस्कारको विकास गराइएको हुन्छ। यसको सट्टा नेपालमा विदेश कसरी जाने भन्ने ज्ञान दिन विद्यालय तहको प्रारम्भिक चरणको पाठ्क्रम तयार गरिएको हुन्छ।

प्रकाशित: ७ श्रावण २०७८ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App