८ श्रावण २०७८ शुक्रबार
कला

डर

कविता

इन्दिरा गौतम

 

मस्तिष्कका वरिपरि  

अनिश्चित विचारका  

तनावहरू छरपष्ट छन्।

कुनै जटिल र

कुनै सरल रूपमा।  

जीवनको लम्बाइलाई

नाप्तानाप्तै

अंसख्या घाउ बल्झिएर

मुटु भित्रभित्रै  

चस्स चस्किरहेको हुन्छ।

 

हो दैनिक

एक लुँग पोते र  

एक धर्को सिन्दुरमा

जिन्दगीको कठघरामा उभिएकी  

स्वास्नी मान्छेजस्तै  

बन्धक बसेको समय पनि  

अलमल्ल परेको छ।  

 

असफल जीवनसँग  

दैनिक भोगाइका यावत् कुराले

सफा बिहानीको कलिलो घाम

फिका लाग्ने गर्छ  

जवानीलाई धितो राखी  

उसकै दिनचर्यामा  

रम्न थालेका हुन्छन्

हरेक रहरहरू।  

 

यस्तो लाग्छ  

आफ्नो भाग्यलाई सराप्दै  

आँसु पिएर बाँच्ने  

बानी बसाल्नुपर्छ रे!  

हरेक सूर्यास्तपछि नै  

अर्को बिहान जन्माउन  

हतारिएको समयले  

कहिले  

एउटा सिङ्गो दिनको आशमा  

सधैं बेस्वादिलो रात जिउने गर्छ।  

 

समयलाई  

मेरो एउटा प्रश्न‘  

त्यो उज्यालो पछि,  

किन कालो रात निश्चित छ?  

 

धेरै छन् आशाहरू  

अझै धेरै विश्वास र

तर शंका थोरै छन्,  

प्रतिपल श्वासप्रश्वास सङ्कटमा छ  

कहिले रात डराएको हुन्छ

कहिले बिहान डराएको हुन्छ  

समयको गतिमा

आँखा जुधाउन नसकेर।  

हरेक समय  

आफै डराएको हुन्छ।  

प्रकाशित: ६ श्रावण २०७८ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App