१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कोरोनासँग लडाइँ हारेका यी कलाप्रेमी

कोरोना भाइरस महामारीका कारण कला तथा मनोरञ्जन क्षेत्र ठप्प भएको छ। कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएसँगै कला तथा मनोरञ्जन क्षेत्रमा सक्रिय रहेका केही स्रष्टा तथा कलाकर्मीले यसको संक्रमणबाट ज्यान गुमाएका छन्।  

फिल्म र रंगमञ्चमा सक्रिय रहेका निर्देशक तथा कलाकार विशारद बस्नेतको कोरोना भाइरस संक्रमणका कारण गत असार १८ गते निधन भयो। संक्रमित भएर झन्डै एक महिना थलिएका उनको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो।  

‘मिस्टर भर्जिन’ फिल्म निर्देशन गरेका ३९ वर्षीय उनले लामो समय भारतीय रंगमञ्चमा काम गरेका थिए। नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका क्रिएटिभ निर्देशक बस्नेतले ‘दुई रूपैंयाँ’ फिल्ममा अभिनयसमेत गरेका थिए।  

रंगकर्मी विमल सुवेदी निर्देशक बस्नेतसँग भारतीय रंगमञ्चको राम्रो अनुभव भएको बताउँछन्। ‘हामीले सहकार्य गर्ने अवसर पाएनौं,’ उनले भने, ‘तर उहाँले भारतमा राम्रा कलाकारसँग काम गर्नुभएको थियो। नेपालमा पनि उहाँ अभिनय, निर्देशन र प्रशिक्षण तीनै विधामा सक्रिय हुनुहुन्थ्यो।’  

लोक संस्कृतिविद् प्राध्यापक मोतिलाल पराजुलीको ६५ वर्षको उमेरमा निधन भयो। उनको जेठ २५ गते कोरोना उपचारको क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पताल निधन भएको थियो। यसअघि कोरोना भाइरस संक्रमित उनकी श्रीमतीको १५ दिनअघि निधन भएको थियो। विसं. २०१३ साल माघमा कास्कीको चापाकोटमा जन्मिएका लोक संस्कृतिविद् पराजुली त्रिभुवन विश्वविद्यालयमा चार दशक प्राध्यापन गरेका थिए।  

उनका नेपाली लोकगाथा, नेपाली रचना कला, धर्मात्मा राजा, विशेष लेखन, नेपाली लोकनाटक ः सिद्धान्त र विवेचना, ‘सोरठी नृत्य नाटिकाः सैद्धान्तिक अध्ययन, नेपालीमा प्रचलित नृत्य र नाटिकाहरू’ चार भागमा नेपाली लोककथा संग्रह, नेपाल लोकसाहित्यको रूपरेखा (सहलेखन), नेपाली लोककथा सिद्धान्त र विश्लेषणर नेपाली प्रदर्शनकारी कला भाग–४’लगायत कृति प्रकाशित छन्।  

‘नेपाली लोककथामा अभिप्राय’ शीर्षकमा विद्यावारिधि गरेका पराजुलीले बालन लोकनाट्य, सवाई लोककाव्य, लोक साहित्यका अध्ययन पद्धति, रामकथा, सोरठी पावरा र सोरठी लोकनाटकको तुलना, कास्की जिल्लाका गाथा, गण्डकी अञ्चलका लोकनाच र आँधीखोले भजन चुड्का विषयमा अनुसन्धान गरेका थिए। क्यान्सरका बिमारी पराजुली नेपाल लोकवार्ता संस्कृति समाजका सदस्य र लोकवार्ता परिषद् नेपालका सल्लाहकार थिए। उनका एक छोरा र एक छोरी छन्।

कोरोना भाइरस संक्रमणका कारण कलाकार तथा संस्कृतिविज्ञ एकाराम सिंको ५३ वर्षको उमेरमा निधन भएको थियो। कोरोना संक्रमित उनको कपनस्थित करूणा अस्पतालको आइसियूमा उपचाररको क्रममा जेठ २५ गते निधन भएको थियो। उनी गत वैशाख ३१ गतेदेखि अस्पतालमा उपचाररत थिए। विसं २०२५ सालमा जन्मिएका उनी बाल साहित्य चित्रांकनमा सक्रिय थिए। सिंका तीन बाल साहित्य कृति प्रकाशित छन्। पछिल्लो पटक ‘मूर्ति बनायो, हात गुमायो’ चित्रकथा प्रकाशित भएको उनी नेपाली इतिहास बोकेका चित्रहरूको अध्ययन, निर्माण, जर्गेना तथा सूचना दिने लागि परेका थिए। उनले लिच्छविकालीन समय, मल्लकालीन समय, राणाकालदेखि शाह राजासम्मको चित्रसहित विभिन्न देवीदेवताका चित्रहरू कोरेका छन्।

त्यस्तै लोपान्मुख लुङखिम भाषाका ज्ञाता तथा मुन्दुमविद् नन्दलाल लुङखिम राईको ९३ वर्षको उमेर जेठ २२ मा निधन भएको थियो। तथ्यांकअनुसार किराती समूहमा रहेको लुङखिम भाषा बोल्नेको संख्या एक सय २९ जना रहेको छ। इलामको सूर्योदय नगरपालिका वडा न. १० आहाले निवासी उनी व्यवहारिक रूपमा सबैभन्दा राम्रो लुङखिम मातृभाषा बोल्ने र मुन्दुमबारे जानकारी राख्ने ज्ञाता थिए।

भाषा आयोगले दुई वर्षदेखि सो लुङखिम भाषाको शब्द संकलन तथा अभिलेखीकरण र व्याकरण निर्माण कार्य गर्दै आएको छ।  

त्यसअघि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लुङखिम भाषाको वर्ण निर्धारण गरेको थियो। ‘उहाँ लुङखिम भाषाको वक्ता हुनुहुन्थ्यो,’ अनुसन्धानमा संलग्न भाषाशास्त्री डा. तारामणि राईले भने, ‘लुङखिम भाषा समुदायका निम्ति ठूलो क्षति हो। अब करिब आधा दर्जनमात्र वक्ता जीवित छन्।’  

यस्तै कोरोना संक्रमित गायिका लासिमित राईको ५३ वर्षको उमेरमा जेठ १४ मा निधन भयो। कोरोना संक्रमण पृष्टि भएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उनको निधन भएको थियो। भारतको रांगुमा जन्मिएकी गायिका राई तीन दशकदेखि नेपाली गीत संगीतमा सक्रिय थिइन्। त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा एमए गरेकी राईले जाउलाखोलमा रहेको युनाइटेड एकेडेमीमा नेपाली साहित्य अध्यापन गराउँदै आएकी थिइन्। उनका मायालुको मुहारै हँसिलो, सँगसँगै बाँच्न पाऊँ, सँगसँगै मर्न पाऊँ’ मरी गए मुरी माटो बाँचे सगरमाथा, आज मैले राम नामै जपेँ सुनकोसीको सुनको पानी, सम्झनाले, लाग्यो कि गोली, घामले पनि पोल्छ, चुलबुले मन र किन तिमी टाढा भयौं गीतहरू चर्चामा थिए।  

यस्तै लेखक तथा कवि डा. वानिरा गिरिको ७६ वर्षको उमेरमा निधन भएको थियो। जेठ १० मा नयाँ बानेश्वरको सिभिल अस्पतालमा हृदयघातका कारण उनको निधन भएको थियो। २० दिनअघि कोरोना भाइरस संक्रमण देखिए पनि हृदयघातको आशंकामा सिभिल अस्पताल लगिएको केहीबेरमा चिकित्सकहरूले मृत घोषित गरेका थिए। मानवतावादी र प्रकृतिवादी लेखकको रूपमा परिचित उनी तीन वर्षदेअि अल्जाइमर्स रोगबाट ग्रसित थिइन्।

विसं २००२ साल चैत २९ मा भारतको दार्जिलिङस्थित खर्साङ नयाँ बजारमा जन्मिएकी उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिलाका रूप परिचित थिइन्। उनका ‘कारागार’, ‘निर्बन्ध’, ‘शब्दातित सान्तनु’, ‘मेरो आविष्कार’, ‘जीवन : थायमरु, एउटा एउटा जिउँदो जंगबहादुर, पर्वतको अर्को नाम पार्वती र जंगल जंगल कृतिहरू प्रकाशित छन्। उनले शब्दातीत शान्तनु उपन्यासका लागि विसं २०५६ सालको साझा पुरस्कार पाएकी थिइन्। क्रान्तिकारी गद्य कवि गोपालप्रसाद रिमालका कवितामाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी उनले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेकी थिइन्। उनका यथा फ्रम द अदर ल्यान्ड, माइ डिस्कभरी र फ्रम द लेकलगायत कृतिहरू अंग्रेजी भाषामा प्रकाशित भएका छन।  

साहित्यकार ध्रुवचन्द्र गौतमले नेपाली साहित्यमा सशक्त सात्हित्यकार गिरिका सिर्जना सधैं बाँचिरहने बताएका थिए। ‘उहाँको निधनको खबरले पीडा लिएको छ,’ लेखक धु्रवचन्द्र गौतमले भने, ‘अल्जाइमर्स भएपछि उहाँसँगको भेटघाट टुटेको थियो। कोरोना भाइरस महामारीका कारण हामी कारागारमा बन्दी भएको महसुस गरिरहँदा कारागार कृतिकी लेखिका सदाको निम्ति हामीबाट बिदा हुनुभयो। उहाँ मलाई मनपर्ने कविमध्ये एक हो। उहाँको भौतिक शरीर हामीमाझ नरहेपनि उहाँ कृतिहरू सधैं रहन्छ।’  

विसं २०२२ सालमा उनी प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा भाग लिन काठमाडौं आएकी थिइन्। महोत्सवमा उनले दोस्रो स्थान प्राप्त गरेलगत्तै पुरस्कार लिने क्रममा तत्कालीन राजा महेन्द्रलाई भारतमा नेपाली विषयमा एमए पढ्न नमिल्ने भएकाले आफूलाई नेपाल पढ्ने इच्छा व्यक्त गरेकी थिइन्। त्यसपछि तत्कालीन राजा महेन्द्रद्वारा प्रदान गरिएको छात्रवृत्तिमा उनले काठमाडौंमा बसेर नेपाली साहित्यमा विद्यावारिधिसम्म गरेकी थिइन्। अध्ययनको क्रममा उनको इन्जिनियर शंकर गिरीसँग विसं २०२३ फागुनमा विवाह भएको थियो। उनी विसं. २०२५ सालदेखि पद्यकन्या कलेजमा प्राध्यापन पेसामा आवद्ध भएकी थिइन्।

उनले विसं २०३२ सालमा रुसमा आयोजित अफ्रो एसियाली कवि सम्मेलनमा भाग लिने अवसर पाएकी थिइन्। महाकवि लक्ष्मीप्रसाद देवकोटापछि सो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने उनी दोस्रो प्रतिभा थिइन्।  

समालोचक राजेन्द्र सुवेदीको कोरोना भाइरस संक्रमणबाट ७६ वर्षको उमेरमा निधन भएको थियो। जेठ ३ गते सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारको क्रममा उनको निधन भएको थियो। दुई साताअघि कोरोना भाइरस संक्रमण पृष्टि भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारार्थ भर्ना गरिएका समालोचक सुवेदीको स्वास्थ्यमा जटिलता देखिएसँगै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सारिएको थियो। केही दिनेदेखि केन्द्रको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।  

विसं. २००२ साउन १९ मा पाँचथरको अमरपुरमा जन्मिएका सुवेदीले त्रिभुवन विश्वविद्यालयमा झन्डै ३८ वर्ष नेपाली विषय प्राध्यापन गरेका थिए। समालोचक सुवेदीका ‘विषय गहन : सतह चिन्तन,’ ‘स्रष्टा सृष्टि : द्रष्टा दृष्टि,’ ‘सुद्युम्न,’ र ‘स्वप्न संसार,’ ‘खाली सिसी पुराना कागज’ संग्रहलगायत कृति प्रकाशित छन्। उनका विरूपाक्ष, विरोचक, रासु उपनामबाट समेत लेखहरू प्रकाशित छन्।  

यस्तै, कोरोनाकै कारण नेपाली फिल्म, कला, साहित्य र लोकसंस्कृतिका क्षेत्रमा सक्रिय निर्देशक तथा गीतकार चेतन कार्कीको ८३ वर्षमा निधन भयो। जेठ २ मा छाउनीस्थित आर्मी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो।  

‘नेपाली फिल्मका एक जिउँदो इतिहासलाई हामीले गुमायौं,’ फिल्मकर्मी शाह भने, ‘नेपाली फिल्म क्षेत्रमा पटकथा लेख्ने पहिलो व्यक्ति निर्देशक काकीले नेपाली फिल्म र कलाको इतिहासका समेत ज्ञाता हुनुहुन्थ्यो।’ गत चैत ३१ मा भारतको देहरादून पुगेका उनी नेपाल फर्कनेमा संक्रमित भएको आंशका गरिएको थियो। निर्देशक कार्की वैशाख १७ मा भैररहवा हुँदै नेपाल फर्किएका थिए। कोरोना भाइरस संक्रमण पृष्टि भएपछि उनलाई गत वैशाख २७ मा अस्पताल भर्ना गरिएको थियो।  

विसं १९९६ कात्र्तिक २२ मा स्याङ्जाको आरुखर्क ९ मा जन्मिएका उनी चार वर्षको उमेरमा बुबाको जागिर पछ्याउँदै देहरादुन पुगेका थिए। उनले हिन्दी साहित्यमा एम र बिएस्सी तथा कानुनमा स्नातक गरेका थिए। स्कुल तथा कलेज जीवनमा चेतन कार्कीको रुचि फुटबलमा थियो। उनले सन् १९५८ मा आगरा विश्वविद्यालयको फुटबल क्याप्टेन भएर स्टेट अफ युपीको नेसनल च्याम्पियन खेलेको थिए।

हिन्दीमा स्नातकोत्तरको परीक्षा दिइसकेपछि सन् १९६० मा उनी नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि निर्देशक कार्कीले रेडियो नेपालमा जागिरको लागि जोड दिएका थिए। रेडियो नेपालको जागिर नपाएपछि उनले मत्स्य विकास तथा प्रशासनको तालिम लिएर पोखराबाट फिसरिज अफिसर (मत्स्य विकास अधिकृत)को जागिर खाएका थिए। त्यसबेला साहित्य, कविता, गीत, संगीत र संस्कृतिसँग आत्मीय सम्बन्ध राख्ने उनले पहिलो पटक भेट कवि भूपि शेरचनसँग भेट्ने अवसर पाएका थिए। उनको सम्बन्ध र संगतले निर्देशक कार्कीलाई साहित्यको क्षेत्रमा अग्रसर हुन अभिप्रेरित गरेका थियो।  

हिरासिंह खत्रीको निर्देशनमा बनेको ‘परिवर्तन’ फिल्मको पटकथा उनले लेखेका थिए। विसं. २०२८ सालमा शाही चलचित्र संस्थानको स्थापना भएसँगै कार्कीले निर्माण अधिकृतको रूपमा जागिर सुरू गरेका थिए। त्यहाँ उनले १० वर्ष काम गरेर राजीनामा दिएका थिए। सो अवधिमा उनले शाही चलचित्र संस्थानले निर्माण गरेका ‘मनको बाँध’ ‘कुमारी,’ ‘सिन्दुर’ र ‘जीवनरेखा’लगायत फिल्ममा निर्माण अधिकृतको काम गरेका थिए।

सन् १९८५ मा उनले ‘विश्वास’ फिल्मबाट निर्देशकको रूपमा काम गरेका थिए। ‘विश्वास’ फिल्मपछि उनले ‘भूमरी’ र ‘पहिलो प्रेम’ लगायत फिल्म निर्देशन गरेका थिए। उनका ‘बैनीको दया छ भने’, ‘दाईलाइ बोलाउँ भने लेक स्वर पुग्दैन’, ‘बुझ्नै सकिनौ तिमिले आँखाको भाखा मेरो’, ‘छोरीको जन्म हारेको कर्म’, ‘यी ओठ तिम्रा’ र ‘तीजको लहर आयो वरिलै’ जस्ता कलजयी गीतहरू अहिलेपनि लोकप्रिय छन्। म्युजिक नेपालको लगानीमा नारायण वलीसँगको सहकार्यमा एल्बम सार्वजनिक गर्नको निम्ति केही दिनअघि गीत रेकर्डिङ भएको थियो।

उनका ‘आत्मा बेचेको छैन’ ‘हत्केलाले सधैं सूर्य छेकिँदैन,’ ‘हो देश मेरो पनि’ ‘बसिबियाँलो’ र ‘माया–प्रीतिको चोखो कथा’ संग्रह पनि प्रकाशित छन्। त्यस्तै ‘बयाज’, ‘हनिमून’ र ‘ढलेको गिलास’ कृति पनि प्रकाशित छन्।  

अभिनेता भुवन केसीको ‘माइतीघर २’ फिल्मको तयारीमा रहेका निर्देशक सुवोध चोपडाको कोरोना भाइरस संक्रमणका कारण वैशाख ३१ गते मुम्बइमा निधन भयो। कोरोनाको दोस्रो लहर सकिए लगत्तै ‘माइतीघर २’ फिल्म सुटिङमा जाने तयारी भइरहेको थियो। अभिनेता केसीले ‘माइतीघर २’ निर्देशक चोपडाको प्यासजन प्रोजेक्ट रहेकाले आफूले त्यसलाई प्राथमिकतामा राखेर सुटिङ गर्ने जानकारी गराएका थिए। सन् १९९७ देखि फिल्म क्षेत्रमा सक्रिय निर्देशक चोपडा स्क्रिप्ट राइटरको रूपमा परिचित थिए। 

उनले महेश भट्टका ‘मर्डर,’ ‘रोग’ ‘तुमसा नहीं देखा’लगायत फिल्म लेखेका थिए। नेपालमा विसं २०२३ सालमा रिलिज भएको ‘माइतीघर’को कथालाई समातेर उनले ‘माइतीघर २’ निर्देशन गर्न लागेका थिए। ‘माइतीघर २’ मा अभिनेता केसी र अनमोल केसीसहित अभिनेत्री मनिषा कोइरालासमेत देखिने चर्चा थियो।

प्रकाशित: ४ श्रावण २०७८ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App