१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बालसाहित्यमा मनोरञ्जन मात्र होइन सन्देश पनि हुन आवश्यक छ

कुराकानी

बालबालिका लागि दर्जनौं  मन छुने कविता लेख्ने बालसाहित्यकार सूर्यप्रसाद लाकोजू शिक्षण पेसामा आबद्ध छन् । बालबालिका  गिलो माटोजस्तै हुने भएकाले उनीहरूका लागि कुनै साहित्य सिर्जना गर्दा बढी संवेदनशील हुनुपर्ने उनको धारणा छ।  बालकविताको माध्यमबाट सयौं बालबालिका प्रिय बनेका उनले प्रौढ साहित्य र सम्पादनमा पनि उत्तिकै योगदान पुरयाएका छन् । उनै बालसाहित्यकार लाकोजूसित बालकवितामा केन्द्रित भई लिएको कुरालाई यहाँ प्रस्तुत गरिएको छ –

१) यहाँले बालसाहित्यमा धेरै अघिदेखि कलम चलाउँदै आउनुभएको छ। अहिले कस्तो छ बालसाहित्यको अवस्था?

 – नेपालमा बालसाहित्यको अवस्था राम्रो भएको देखिरहेको छु। अहिले बालबालिकाहरूको उमेर समूह, उनीहरूको मनोविज्ञानमा आधारित पुस्तकहरू बढी प्रकाशन हुँदै आएको छ। यही नै पर्याप्त भयो भन्ने मेरो भनाइ होइन। परिश्रम र प्रगतिको कुनै सीमा हुँदैन। यो क्षेत्रले अझ प्रगति गर्दै जाने छ, गर्नु पनि पर्छ।

२) बालसाहित्य कस्तो हुनुपर्छ?

 – बालसाहित्य बालबालिकाका लागि लेखिने भएको हुनाले बालबालिकाका लागि हरेक दृष्टिकोणले उपयुक्त हुन आवश्यक छ। उनीहरूको उमेर समूह, उनीहरूको भावना, धारणा, चाहना आदिलाई विचार पु¥याएर लेखिएको र प्रकाशन गरिएको हुन आवश्यक छ। फेरि बालबालिका भनेको गिलो माटोजस्तै हुने भएकाले उनीहरूका लागि कुनै साहित्य सिर्जना गर्दा बढी संवेदनशील हुन जरुरी देखिन्छ । नकारात्मक सन्देश प्रवाह गर्ने बालसाहित्यले बालबालिकाहरूको मस्तिष्कमा सकारात्मक प्रभाव पार्न सकिन्न।

३) तपाईले बालकवितामा कलम चलाउँदै आउनुभएको छ। किन बालकविता नै रोज्नुभयो ?

 – बालबालिकाहरूलाई मनपर्ने विधा भनेको कथा, कविता नै हुन् । त्यसैले कविता रोजियो। मेरो बालकविताका पाँचओटा कृति छन्। ती कविताहरूबाट बालबालिकालाई देश र समाजप्रति बफादार, मानवीय भावनाको विकास, नैतिक सन्देश, ठूलो मान्छेभन्दा पनि असल मान्छे बन्नुपर्ने विचार सम्प्रेषण गर्ने प्रयास मैले गरेको छु।  

४) कस्तो हुनुपर्छ बालकविता?

– बालबालिकाहरूका लागि लेखिने  बालकविताहरू पनि सोहीअनुसारको हुनुप¥यो। सरल तर सरस शब्दहरूको चयन हुनुप¥यो। लयात्मक हुनु बालकविताको विशेषता नै मान्नुपर्छ । छोटकरीमा भन्नुपर्दा बालकविता छोटो, रोचक, लयात्मक हुनुपर्छ।

५) बालकविता लेखन सहज हुन्छ कि प्रौढकविता लेखन?

   – प्रौढकवितामा कवि स्वतन्त्र बढी हुन्छ। त्यहाँ कविले आफ्नो कलम बेपर्वाह दौडाउन सक्छ तर बालकवितामा कविले यसरी बेपर्वाह भएर कविता सिर्जना गर्न सक्दैन भन्ने मेरो विचार छ। बालकविता सिर्जना गर्दा बालसुलभ शब्द, भाषा, भाव, मनोविज्ञान आदिबारे विचार पु¥याउनु आवश्यक हुन्छ। तुलनात्मक दृष्टिले भन्ने हो भने बालकविता लेखन कठिन लाग्छ । यो मेरो विचार हो।

६) नेपाली बालसाहित्यमा बालकविताको स्थान कहाँ पाउनुहुन्छ?

  – कविता साहित्यको प्राचीन विधा हो। नेपाली साहित्यमा कविताको स्थान उच्च छ। बालसाहित्यमा पनि यसले आफ्नो बलियो उपस्थिति जनाइरहेको छ।  

७) बालकविताको माध्यमबाट नानीहरूको जीवनमा के कस्तो परिवर्तन ल्याउन सकिन्छ?

     – हेर्नुस्, बालसाहित्यको कुनै पनि विधा बालबालिका केन्द्रित भएर लेखिन्छ। त्यसैले उनीहरूले ती साहित्य पढेर जीवनमा केही सकारात्मक परिवर्तन ल्यायो भने हामीले लेखेको सार्थक बन्छ। बालसाहित्यमा मनोरञ्जन मात्र होइन सन्देश पनि हुन आवश्यक छ। यस्ता सिर्जनाको अध्ययनबाट अवश्य पनि बालबालिकाहरूमा सकारात्मक परिवर्तन आउँछ।  

८) पुराना र नयाँ पुस्ताका बालकवितामा के कस्ता अन्तर छन्?

    – सिर्जना पुरानो वा नयाँ भन्ने हुन्छ जस्तो लाग्दैन। राम्रो सिर्जना कहिले पनि पुरानो बन्दैनन्, कालजयी बन्छन् । जहाँसम्म अन्तरको कुरा छ, मौलिक सिर्जनामा अन्तर त हुन्छ नै । यदि त्यो अन्तर भएन भने लेख्नुको अर्थ पनि रहँदैन होला। मानिसको सोच, विचार, समय, परिस्थिति फरक भएपछि सिर्जनामा पनि भिन्नता आउँछ नै ।

९) तपाइँले बालकथाहरू पनि लेख्नुभएको छ हैन?

   – विशेष गरेर लोक तथा पौराणिक कथाहरूमा आधारित भएर बालबालिकाहरूलाई संस्कृति, परम्परा, रीतिरिवाज, धर्म आदिका बारेमा जानकारी दिने लक्ष्यका साथ मैले दुईचारओटा पिक्चर बुकमा काम गरेको छु । केही प्रकाशित भए, केही बाँकी छन्।  

१०) कथा लेखनका लागि यस्तै विषय किन रोज्नुभयो?

   – अहिले सूचना र प्रविधिको युगमा छौं हामी तर हाम्रा  आफ्नै संस्कृति छन्, परम्परा छन् । चाडपर्वहरू पनि छन्। गौरव गर्नलायकका थुप्रै कुरा छन्।  तिनका बारेमा पहिले जस्तो सहज तरिकाले बालबालिकाहरूले जान्ने, बुझ्ने अवस्था छैन अहिले। पहिले संयुक्त परिवार हुन्थ्यो। सबैसँगै हुन्थे । हजुरबा, हजुरआमाले विभिन्न लोककथा, संस्कृति, परम्पराका रमाइला किस्साहरू सुनाउनुहुन्थ्यो। अहिले त्यसप्रकारको वातावरण पातलिंदै गएको छ। त्यसैले त्यस्ता पुराना लोककथा, संस्कृति, रीतिरिवाज, परम्पराका कुराबारे जानकारी दिने लक्ष्य लिएर यसमा काम गरेका हौं।

  ११) वर्तमान बालसाहित्यको बजार कस्तो छ?

      –  नेपालमा बालसाहित्यको बजार राम्रो छ भनेर मान्नुपर्छ। आशा छ भविष्यमा अझ यसको बजार ब्यापक हुँदै जाने छ।

                                                                                      प्रस्तुति – श्रीराम राई 

प्रकाशित: २ श्रावण २०७८ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App