दुर्गा वनवासी शिवाकोटी
१)
आस्थाको दियो जलाएँ, निभायो घातको हावाले,
श्रद्धाको पर्खाल लडायो त्यो कालो रातको हावाले ।
खोजिरहें अनवरत नै सद्भावको उज्यालोमा ,
आँखाको शीत खसाल्यो एउटै पातको हावाले।
२)
उड्दै बताससँग खरानी आयो,
त्यो बन्द बाकसमा विरानी आयो ।
कोल्टे फेरेर बितेको रातसँगै ,
सम्झनाको चिसो सिरानी आयो।
३)
एकादेशको कथाजस्तो लाग्न थाल्यो जिन्दगानी,
त्यही कथामा जोडिएका अनगिन्ती यी कहानी।
सम्झनाको डोब बनी मुटुभित्रै खोपिएको,
एकैनास कहाँ हुन्थ्यो जिन्दगीको घामपानी।
४)
के पगाल्नु जबर्जस्ती चिस्सिएका मुटुहरू,
बिझाउँदैनन् सम्वेदना रित्तिएका मुटुहरू।
दुख्ने केवल घाउ आफ्नै, प्रिय आफ्नै सन्तुष्टि ,
इगोको काई बढेर बित्तिएका मुटुहरू।
५)
सफा तनका भित्र मैलामैला मन देखेँ,
आवरणका आदर्शमा धमिलोपन देखेँ ।
अहंकारले परिष्कारको बाटो छेकेपछि,
चुलिएका दम्भसँगै तलै पो झन देखेँ।
प्रकाशित: २६ असार २०७८ ०४:४९ शनिबार