खगेन्द्र बस्याल
दैलातुङ फाँटमा वृद्ध बुढाबुढी गफिदै थिए। बुढाले भने,‘भोलि मेरो जन्म उत्सव, अरू छोराछोरीले के उपहार ल्याइदिऊँ भनेर फोन गरे तर मलाई सबैभन्दा बढी माया गर्ने काइलाले भने – बा म आउँदै छु मात्र भन्यो तर के ल्याइदिऊँ केही भनेन।
जवाफमा उनले भनिन् ‘यो बुढेसकालमा पनि तपाईंलाइ केके चाहिएको हो ! ऊ आए त त्यही नै लाख बराबर भयो नि हामीलाई ,होइन र ।
उनले भने – त्यो त हो।
भोलिपल्ट बेलुकी छोराछोरी खुशी हुँदै जम्मा भए । केक काटेर निकै खुशी साथ आफ्ना बाको जन्मोत्सव मनाए। अरूले सजिएको प्याकेटमा केके राखेर उपहार दिए। दोसल्ला ओढाएर फोटो पनि खिचे तर काइलाले बाआमालाई ढोगेर हातमा मात्रै फूलको गुच्छा राखिदियो । त्यो दृश्य कसैले पनि फोटोमा कैद गरेनन् । त्यो देखिरहेका अरू सबैले ओठ चेप्प्र्याए तर केही बोलेनन्।
राति बुढाले बुढीलाई अलि ठूलो स्वरमा भने, ‘ काइलाले मलाई मनपर्ने र दैनिक खाँचो पर्ने चीजहरू सुटुक्क ल्याएर पहिल्यै दियो। सबैभन्दा बढी मूल्यवान् चिज पनि उसकै देखियो तर अरू दाजुभाइ र दिदीबहिनीसामु देखाएर र फोटो खिचेर भने दिएन । के गरेको होला यो !
बुढाको कुरा सुनेर उनीले भनिन् ,‘ देख्यौ बुढा, सक्कली माया सोधेर र देखाएर होइन लुकाएर गरिन्छ।’
प्रकाशित: २६ असार २०७८ ०४:१४ शनिबार