नीलिमा आचार्य
जुनेली रातमा झ्यालबाट उज्यालो नियाल्दै
कविता कोर्ने मैना
आज पूर्णिमाको रातमा पनि
झ्याल बन्द गरी
एक्लै बस्न मनपराउँछे।
ओठमा मिठो मुस्कान,
अनुहारमा सूर्य किरणको आभा छरेर अरूलाई हाँस्न सिकाउने मैना
आज दाँतले ओठ टोक्दै मौन भई व्यतीत गर्दैछे आफ्नो कठिन समय।
कोहीकोही भन्छन् –– “उसले घर खान सकिन ”
हो ! यो कुरा सही हो
त्यसैले ऊ जवाफ दिन्न कसैलाई
सुनेको नसुनै हुन्छे।
रहर थियो होला र उसलाई
भर्खरै टुसाएको पारिजातको बिरुवालाई छोडेर आउन ?
कति मिहिनेतले हुर्काएको
राजवृक्षको छहारीलाई बिर्सन
त्यति सजिलो कहाँ थियो र!
बिहान ऊ सँगसँगै ब्युँझने
परेवाहरूले पनि आज उसलाई खोज्दै होलान् !!
ती सेता एकजोडी परेवा त मैनाकै वरिपरि घुम्ने गर्थे ।
चारो दिँदा धेरै रमाउने गर्थे ती जोडी परेवा
आज सायद मैनाको यादमा आँसु झार्दै होलान्!
त्यहाँका पत्ता –पत्तासँग साइनो गाँसिएको थियो मैनाको ,
ती सबैलाई छोडेर आउन कसैले चाहन्छ होला र ?
कविता मन पराउने मैनालाई
उन्मुक्त सायरीले छेड्दा
धेरै डराउँथी ऊ,
दिनमा सिमसिमे पानीमा
भिज्न रुचाउने मैनालाई
“सावर“ मा राति भिज्न विवश गराउँदा कहालिन्थी ऊ।
फूलजस्ती मैना, भँवरोसँग साइनो गाँस्ने
हरिन भई बाघसँग पिरती गाँस्नुपरयो उसले
हरेक नशालु रातमा।
इत्र बन्न खोज्ने मैनालाई रहर थिएन कसैको अम्मल बन्न।
भजन – कीर्तनमा तल्लीन हुने
मैनाले कसरी गरोस् ‘डिस्को डान्स?’
कसरी जप गरोस्
ॐ भूर्भुवः स्वः को सट्टा
‘डिजे वाले बाबू?‘
यो सम्भव हो
भन्नुहोस् त ?
त्यसैले सबै साइनोलाई बहिष्कार गर्दै मैना फर्केर आई।
साइनो त अघि नै मरेको थियो
आज पेपरमा गरेको हस्ताक्षरले
त्यसको अन्तिम–संस्कार भयो।
कोहीकोही भन्छन्, ‘उसले घर खान सकिन ।‘
हो! यो साँचो कुरो हो।
ऊ फर्केर जवाफ दिन्न।
नचाहेर पनि उसको विवाह विच्छेद भयो
सम्झौता गर्न सकिन प्रकृतिमा रम्ने मैनाले
भौतिक जगतलाई ।
सकिन अँगाल्न कृत्रिम प्रेमलाई ।
प्रकाशित: २५ असार २०७८ ०६:१३ शुक्रबार