२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

निष्ठा च्यूत

लघुकथा

डा. विदुर चालिसे

 

जब म सडकमा थिएँ तब कमाइ भनेपछि चारकोश पर भाग्थेँ । कमाउन अल्छी मान्थेँ । सबैलाई अर्ति पनि दिन्थेँ र भन्थेँ ।

–“मरिलानु के छ र ! एकपेट खाएकै छु ! एक झुम्रो लाएकै छु ! मरेपछि रित्तै हात जाने न हो !”

मेरो जीवनको यस्तो आदर्श भावना समाजले देखे । त्यसपछि मलाई एकपटक उनीहरूले ठुलो मान्छे बनाउने चाहना राखे।

मेरो आदर्श वचनले छरछिमेक, टोल, गाउँ, शहर, प्रदेश, देश र विदेशमा समेत चर्चामा रहेँ । एकदिन समाजले मलाई तिनको सेवा गर्न भनेर अगुवा बनाएर उच्च पदमा पुर्याए अनि आफ्ना आशा – भरोसा मेरो जिम्मामा दिए । मलाई उच्च पदमा पुर्याउनु र आफ्ना आशाभरोसा मलाई जिम्मा लगाउनु उनीहरूको मप्रतिको नैतिक विश्वास र मेरो आदर्शको पहिचान थियो । एकदिन म कामबाट फर्कँदै थिएँ । टाई – सुटवालाले झुकेरै नमस्कार गर्याे र भन्यो–“हजुरजस्तो दया निदानको कृपा भए ठेक्का पाउँ !“

म सरासर कुर्सीमा गएर बसेँ र उसको रूवाइतलाई समन गर्न ठेक्काको निर्णय गरिदिएँ । अर्काे दिन ग्रे कोटधारी मानिसहरू आएर भने–“हजुर त भगवानै होइसिन्छ ! कमाइ हुने ठाउँमा सरुवा गरी पाउँ हजुर  ! यो असल दुखी राष्ट्रसेवकको उद्दार गरिस्योस् !”

मेरो असल मनको अगाडि उसको दुख छटपटिन थाल्यो । मैले पनि उसको सरुवाको राम्रो व्यवस्था मिलाइदिएँ । केही समयपछि कालो कोटधारी, सेतो कोटधारी र उद्दार चाहने धेरै अन्य दुखी, गरिब र दरिद्रहरू मेरो अगाडि आएर एकमुस्ट भने––“हजुर त साक्षात् ईश्वरै हुनुहुन्छ ! हजुरको सेवकहरूलाई नियुक्ति पाऊँ।”  

देशका विशिष्ट व्यक्तिको यति सेवा गरिदिंदा मलाई पहिला हेर्ने दृष्टिकोणमा अझै उन्नत र उत्कृष्ट हुने ठानेर तिनको पनि तत् –तत् नियुक्ति गरिदिएँ । समयक्रममा समाजमा मेरो हल्ला चल्न थाल्यो।

–“देवता हो भनेर उच्च पदमा पुर्याइदिएको दानव पो भएछ ! खानुसम्म खाएछ । कमाएर यस्तो लफ्फाजीहरू सुनेपछि मैले आफ्नो सम्पतीको विवरण सार्वजनिक गरेँ।

–“आदर्शका अगुवा, जनताको असल सेवकको सम्पतिको नाममा चार आनामा बनेको भैंसी पाल्ने कटेरो !”

चित्त दुखाइरहेका मानिसहरूको बीचमा मबारे एउटै कटाक्ष थियो।

–“ओहदाको पैसा र पानी उस्तैउस्तै हो ! पत्तै नपाई आउँछ र जान्छ पनि, आदर्श यसै गरी भित्रभित्र चल्छ, नो वार्गेनिङ !”

मैले सम्पत्ति विवरणमा किन हो ? भोग गरिरहेको आलिसान भवन, किमती जमिन र भोग गरेको टाइँफाईं देखाइन । च्यूत हुने डरले काँपिरहेँ । भोग गरिरहेँ।  

–“पहिले म आस्तिक थिएँ । अहिले नास्तिक भएको छु अनि अठोट गरेँ– मृत्युपछि सबै साथै लिएर जान्छु।”

प्रकाशित: २३ असार २०७८ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App