प्रकाश खड्का “अभियान”
हरेक दिनझैँ,
गोडाहरू गन्तव्यतिर
तँछाडमछाड गर्दै
पीडा,व्यथा निल्दै ओकल्दै
दुर्गन्धित धुँवाधुलो सुंग्दै
लक्ष्य भेट्न आतुर यात्रीहरू
एक्कासि ठप्प रोकिएका छन्
निलो आकाश र सडकहरू मौन छन्
लाग्छ,
प्रकृतिले जन्म उत्सव मनाइरहेछ
आफूलाई स्वच्छ, शान्त पाएर
तर,
मान्छे भने सङ्क्रमणको डरले
घिटीघिटी बाँचिरहेको छ
त्राहिमाम गर्दै प्राथना गरिरहेछ
कोरोनाको बिदाइ गर्न
सँगै भएर नि भेट्न गाह्रो थ्यो
आज अवाक् छन् घरभित्रै
पैले सामीप्य खोज्नेहरू
आज निकटतासँग त्रसित छन्
समय बदलिएको छ,
हिजो
‘जिउँदाको जन्ती,मर्दा मलामी‘ भन्नेहरू
आज देख्यो कि तीन कोश पर भाग्छन्
मानौ,
उनीहरू यमराजलाई भेट्दै छन्
आफूले गरेका पापहरू सम्झदै छन्
र पो ,
न्वारनदेखिको कार्य समीक्षा गर्दै
आफ्नै भूलचूकमा पछुतो मान्दै
कालरूपी शिवसंग क्षमा माग्दै
धर्तीबाट बिदाइको याचना गर्दैछन्
हेल्चेक्य्राइँ गर्नेको गला निमोठ्दै
आचरण पालना गर्न, गराउन
नसिहत दिँदै
विश्व भ्रमणमा निस्केको ऊ
अदृश्य, लाखौको ज्यान लिएको छ
अमुक युद्ध छेडेको छ
पहेंला पात र
कमजोर हाँगाहरू छिमोल्दै
खाना,व्यायाम र
स्व– अनुशासनमा धकेल्दै
सम्भावित विश्वयुद्ध
रोकेको छ
आत्मनिर्भर बन्न
नयाँ पाठ पढाएको छ
सुन कोरोना !
तिम्ले आफ्नो कर्तव्य
अक्षरस निभायौ
अब आफ्नै धाम जाऊ
मोक्ष लिएर
फेरि कैल्यै नफर्किने गरी
हामी बिदाइमा,
मनको दुर्गन्ध,असुरत्व
उपहारमा दिनेछौ
असीम आशिष् र
देवत्वका शुभेच्छाहरू
तिमीबाट लिनेछौ
तर ‘.. तिमी जाऊ कोरोना
कैल्यै नफर्कने गरी।
प्रकाशित: २३ असार २०७८ ०२:५८ बुधबार