१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

पछुतो

बालकथा

अरुणबहादुर खत्री “नदी”

 

सुमित्राले आफ्नो छोरा सुरेशलाई ३ उत्तीर्ण भएर ४ कक्षामा पुगेपछि काठमाडौं शहरमा आफ्नी दिदीको घरमा पढ्न पठाइन् । काठमाडौंको एउटा नाम चलेको राम्रै विद्यालयमा ४ कक्षामा सुरेश भर्ना भएर पढ्न थाल्यो। सुरेशकै कक्षामा पढ्ने साथी अशोक साह्रै लोभी थियो । उसले आफ्नो पैसाले किनेको खानेकुरा केही पनि सुरेशलाई दिँदैनथ्यो । सुरेशसँग चाहिँ केही खाएको देखेपछि मागेर खाने गर्दथ्यो । अशोकले सुरेशसँग मागेर खान थालेपछि सुरेशले घरबाट लगेको पैसाले किनेको खाजा खान उसलाई पुग्दैनथ्यो। खाजा खान नपुगेपछि सुरेशले आफ्नो काठमाडौंको ठूलोबुबाको पर्सबाट पैसा चोरेर लान थाल्यो।

सुरेशले पैसा चोरेर लान थालेपछि ठूलोबुबाले मेरो पर्समा राखेको पैसा कता गयो होला भन्न थाले । सुरेशकी ठूलीआमाले “खै मैले त हजुरको पर्स छोएको पनि छैन” भनिन् । सुरेशको ठूलीआमाका छोराछोरीले “हामीले पनि बुबाको पर्सबाट कत्ति पनि पैसा आजसम्म निकालेका छैनौ” भन्न थाले। त्यसपछि सुरेशकी ठूलीआमाले “तैँले झिकिस् कि तेरो ठूलोबुबाको पर्सबाट पैसा” भनेर सुरेशलाई प्रश्न गर्दा सुरेश केही बोल्न सकेन सुरेशको अनुहारै रातो भयो। सुरेशले केही नबोलेपछि पक्कै पनि यसले झिकेर लगेको रहेछ ठूलोबुबाको पर्सबाट पैसा भन्ठानिन् सुरेशकी ठूलीआमाले।

अर्को दिन पनि सुरेशले ठूलोबुबाको पर्सबाट पैसा झिकेर आफ्नो विद्यालयमा जाँदा लगाउने पोशाक सर्टको खल्तीमा लगेर राख्यो। सुरेशको ठूलोबुबाले खाना खाएर कार्यालय जान लाग्दा पर्स खोलेर  हेर्दा पर्समा राखेको सबै पैसा रहेनछ। आज पनि मेरो पर्समा मैले राखेको पैसा कसले झिकेछ भन्दै सुरेशको ठूलोबुबाले सबैले सुन्ने गरी कराउन पुगे। सुरेशकी ठूलीआमाले सुरेशले नै झिकेको हुनुपर्छ भनेर सुरेशले विद्यालयमा पढ्न जाँदा लगाउने सर्ट र पायन्टको खल्तीमा हेर्न पुगिन् सुरेशको सर्टको खल्तीमा एकहजारको नोट देखिन् र सुरेशलाई बोलाएर गाली गर्दै यो पैसा तैले कहाँबाट ल्याइस् भनिन् । एकछिनसम्म सुरेश केही बोल्न सकेन। “फेरि भन् यो पैसा तैले कहाँबाट ल्याइस् ?” भन्दा सुरेशले “यो पैसा मैले ठूलोबुबाको पर्सबाट निकालेको हुँ” भन्यो। 

किन ठूलोबुबाको पर्सबाट पैसा निकालिस् त तैले भन्दा “मेरो स्कुलको कक्षामा मसँगै पढ्ने साथी अशोकले कहिले पनि आफूले घरबाट ल्याएको पैसाले किनेको खाजा आफू एक्लै खान्छ। मलाई दिँदैन। उसले चाहिँ मैले खाजा खाएको देखेपछि मसँग मागेर खान्छ नि” सुरेशले भन्यो । “आफूले ल्याएको खाजा एक्लै खानेलाई तैले किन दिन्छस् त ?” भन्दा मसंग मैले खाजा खाएको देखेपछि माग्छ मागेपछि मलाई दिन मन लाग्छ ठूलोआमा भन्यो। 

“अबदेखि तेरो साथीले मागे पनि दिनु पर्दैन। त्यस्तो एक्लै खाजा खाने साथीलाई तैले पनि नदिएर एक्लै खाने गर्। आफूले लगेको पैसाले किनेको खाजा । उसले देख्ने गरी नखाने नि । ऊभन्दा पर गएर अरू साथीहरूसंग बसेर खाने नि” सुरेशकी ठूलीआमाले भनिन् । अर्को दिनदेखि सुरेशले आफ्नी ठूलीआमाले भनेजस्तै अशोकको अगाडि खाजा नखाएर अरू साथीहरूको अगाडि बसेर खाजा खान थाल्यो। 

एकदिन सुरेशले घरबाट विद्यालयमा पढ्न जाँदा खाजा खान पैसा लैजान बिर्सदा अशोकसंग “आज मैले खाजा खाने पैसा ल्याउनै बिर्सेछु । तिमीले मलाई खाजा नखुवाई सुख पाइँदैन” भन्यो। अशोकले “मैले आफूले ल्याएको पैसाले किनेको खाजा कसैलाई खुवाउन सक्दिनँ । तिमी जेसुकै भन्छौ भन । तिमी भोकै भएर मलाई के हुन्छ र ?” भन्यो ।

४ कक्षा उत्तीर्ण भएर ५ कक्षामा पुगेपछि सुरेशले अशोकलाई “तिमी जस्तो लोभी साथीसंग एउटै बेञ्चमा बसेर पढ्दिनँ” भन्यो । अर्कै बेञ्चमा बसेर राम्रो साथी मनोहरसंग बसेर पढ्न थाल्यो । अशोकले घरबाट खाजा खाने पैसा कहिले लग्थ्यो कहिले लग्दैनथ्यो । खाजा खाने पैसा नलगेको दिनमा सुरेशसँग आज मैले घरबाट खाजा खाने पैसा ल्याइन मलाई साह्रै भोक लागेको छ। तिमीले घरबाट ल्याएको पैसाले खाजा किनेर मलाई खुवाऊ है भन्दा “ ४ कक्षामा पढ्दा मैले एकदिन खाजा खाने पैसा घरबाट ल्याउन बिर्सदा तिमीले मलाई भोक लाग्दा खुवायौ र मैले तिमीलाई खुवाउने” भन्यो । त्यसपछि अशोक पछुताएर सुरेशसँग माफी माग्यो र अर्कोपटक देखि मैले आफूसंग पढ्ने जुन साथीले पनि खाजा खाने पैसा ल्याउन बिर्सदा खुवाइछाड्छु । आफूले अरू साथीसंग खाजा मागेर खाएपछि आफूले पनि खाजा खुवाउने साथीलाई आफ्नो पैसाले किनेको खाजा खुवाउनु पर्दोरहेछ पछुतो मान्दै भन्यो।  

प्रकाशित: २३ असार २०७८ ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App