आचार्य प्रभा
सभाहल टन्न भरिएको थियो। सबैजना कार्यक्रमको प्रतीक्षामा थिए। अलिक पछिल्लो बेन्चमा एक सत्तरी वर्षीय वृद्ध अघिदेखि नै खोक्दै बसिरहेका थिए। कसैकसैले त्यो खोकीले डिस्टर्व भएको अनुभूत गर्दै ती वृद्धलाई आँखा कर्काएर पनि हेरिरहेका थिए।
कार्यक्रम सुरु भो। प्रमुख अतिथि आसनसहित अन्य अतिथिहरू पनि आसिन भइसकेका थिए।
नारायण हँसिलो मुहारमा अगाडिकै लाइनमा बसिसकेका थिए। आज नारायणको सम्मान कार्यक्रम, जो उक्त क्षेत्रबाट पिएचडी गर्नेमा प्रथम युवा भएकाले उक्त कलेजले सम्मान कार्यक्रम राखेको थियो। भाषणरूपी बधाईका शब्दहरू पालैपालो दिन व्यस्त थिए अतिथिगण। तर बिचबिचमा उक्त वृद्धको खोकीले बाधा पुगेको भान भइरहेको थियो।
यतिकै बिचमा एक महानुभाव उठेर ती वृद्धलाई पाखुरामा समाएर –“तँपाईले गर्दा यहाँ डिस्टर्ब भयो। हिँड्नुहोस् म बाहिरसम्म छाडिदिन्छु घर जानुहोस्। ” भनेर पाखुरामा समाएर उठाउँदै थिए। त्यो दृश्य देखेर नारायण जुरुक्क उठेर छेउमा आए। उनी निशब्द बन्दै उक्त वृद्धको चरणकमलमा पसारिए।
यो दृश्य देखेर सबै स्तब्ध बने। सबैले छक्क पर्दै ती दुईलाई हेरे। दुवैका आँखा रसाएका थिए। वृृद्ध अझै खोकिरहेका थिए। सास पनि बढिरहेको थियो। सबैले भन्दै थिए –“उहाँका कोही होलान् नि !जिम्मा लगाउँ। हाम्रो कार्यक्रममा बाधा नगरौं।”
अन्त्यमा नारायणले आफ्नो कुममा वृद्धको टाउको राख्दै भने –“के भएर हजुरको यस्तो अवस्था भो ?”
वृद्धले बडो सकसकोसाथ भने,–“बाबु तिमीहरूलाई सत्र वर्षको उमेरदेखि पढाउँदा ब्ल्याक्बोर्डमा चकले लेखेर बुझाउँदा, चकको धुलो जति सब फोक्सोमा जम्मा भएर बुढेसकालमा दमको रोगले भेट्यो। जीवनभर शिक्षक भएको उपहारको रूपमा यो रोग पाएँ। आज तिम्रो सम्मान कार्यक्रम भनेको सुनेर सकीनसकी यहाँ आएँ। मेरो चेला आज सम्मानित हुँदै गर्दा म आज निकै खुसी छु। ”
वृद्ध बोल्दाबोल्दै ढले। नारायणको गह भिज्यो। उस्ले अंगालेर काखमा राख्दै भन्यो, –“गुरु म सल्युट गर्छु हजुरको समर्पणलाई। ”
सबैको मुहारमा पीडाबोध झल्किएको थियो। कोही भन्दै थिए –“गुरु जहाँको तहीँ, चेला उचाइमा। यस्तै छ नेपालमा गुरुहरूको समर्पणको अवस्था।”
प्रकाशित: २३ असार २०७८ ०१:५५ बुधबार