मधुसूदनप्रसाद घिमिरे
– आज मामा घरमा धान रोपाइँ छ । बाबा ! म मामा घर जान्छु। रोपाइ हेर्छु ।
बाबाले भन्नुभो, “आज तिम्रो पढाइ छैन ।
उसले जवाफ दिई, “आज स्कुल बिदा छ । मैले होमवर्क हिजोको गरिसके। दिनभर रोपाइँ हेरेर म भरे आउँछु । भोलि पढ्न गैहाल्छु।
बाबाले मलिहालाई एक हजार रुपैया दिँदै भन्नुभयो – रोपाइँमा भान्जाभान्जी जाँदा नरिवल – मसला लानुपर्छ अनि रोपाहार, लाठे, बाउसे, हली सबैलाई बाँडनुपर्छ । तेसो गरेदेखि भूमि देवता खुशी हुन्छन्। मामाको खेतमा धान धेरै फल्छ ।
“यो पैसाले ल्वाङ, सुकुमेल, सुपारी, नरिवल जस्ता मसला किनेर लानु । सबैलाई पुग्ने गरी मसिनोपारि काटेर बाँडनु ।
मलिहा खुशी भै । नभन्दै ऊ छिटै मामाघर पुगी। त्यहाँ रमाइलो रोपाइँ हेरी । उसले पनि खेत रोप्न खोजेकी थिई ।
मामाले भने– भान्जी, हिलो लाग्छ । भरे घर फर्कन लुगा फोहोर हुन्छ खेतमा नपस् ।
दिनको खाजा आलुको अचार र च्यूरा सबै खेतालाले खाए। काममा लाग्नै बेलामा मलिहाले मसला बाँड्दै गै । उसले लगेको मसला सबैलाई बाँडी । उसको मामा, हजुर बा र दिदीलाई दिनै पुगेन। मसला सिद्धियो ।
हजुरबाले जिस्क्याउदै भन्नुभयो, “ मेरो भाग मसला यस्ले दिइन । यस्ले मलाई माया गर्दिरहिनछ। ”
यो सुनेर ऊ खिन्न भै । बालभावना हजुरबाले बुझिहाल्नुभो।
उसलाई खिन्न लागेछ क्यारे अनुहार मलीन लगाई । हजुर बाले फेरि भन्नुभयो, “ खिन्न नहोऊ नानी, मैले तिमीलाई जिस्क्याएको पो त । मेरी नातिनीले मलाई कत्ति माया गर्छे ।”
यसो भन्दै हजुर बाले नातिनीलाई तिनीलाई माया गर्नुभो । मलिहा फुरुङ्ग परी । रोपाइँ सिद्धियो । हजुरबाले बस खर्च दिनुभयो । बस चढाउने ठाउँमा गएर बस चढाउदै भन्नभो , “नानी खुशी होऊ है , तिमीले आशिष् दिए धान धेरै फल्छ नि ।’
उसले मुसुमुसु हाँस्दै बाईबाई गरी।
प्रकाशित: २१ असार २०७८ ०७:२४ सोमबार