लक्ष्मी पोखरेल
गोपाल र मैनाको आम्दानीको स्रोत अर्गानिक तरकारी खेती थियो । उनीहरूको उक्त बनिबुतो जिल्लामा कहलिएकै भएर बैंकले पनि सहजै ऋण थपिदिंदै गएथ्यो । उनीहरूले पनि खेती बढाउँदै लगे। तरकारी खेतीले उनीहरूको निम्नमध्यम जीवनस्तर माथि उकालिदिएको थियो । नानीहरू निजी विद्यालय जान्थे, थोरै वचत सञ्चितीले तीनचार वर्षसम्म सोचेजस्तै हुँदा टालीको छानो फेरेर जस्ता पाताले छाए।
यो खेप दैवले तर साथ दिएनन् । असिनापानीले बाली सोत्तर पारिदियो। त्यसैमाथि वैशाखे हावाहुण्डरीले आधी छानो उडायो। सुत्ने र राखनधरन गर्ने कोठा नाङ्गा भए।
बैंक गुहारे तर नाफाखोर बैंकले यो खेप पत्याएन। मैनाले झट्ट माइती सम्झी। ठूल्दाजु राजन ठूला बेपारी र कहलिएका समाजसेवी। गत साल राष्ट्रले तक्मा पनि दिएको हो। पत्रपत्रिकामा ठूलो कलेवरको फोटोसहित शुभकामना र बधाईका ओइरो थिए्।
बडो आशले मैनाले फोन गरी।
उताबाट मधुर र मीठो स्वर सुनियो , “आज एकविहानै कसरी माइती सम्झिस् नानी ?”
“मलाई अप्ठरो परयो दाजु ! हजुरले जेष्ठ नागरिकका लागि चन्दा पनि दिनुभएछ । खुसी लाग्यो।”
“अरू” ? उताबाट कौतुहल तप्कियो ।
“दाजु मेरो पनि टिनको छानो हावाहुरीले उडायो। खेतीबारी मसियो । यो वर्ष थेगिदिनुपरयो।”
एकक्षणको मौनतापछि दाजु बोले, “हुन्छ आइज,चाहिएको लेर जा केरे । तर मैले पनि ऋणै काढेको छु । तँलाई पनि मैले तिर्ने नै लाग्छ।”
भोलिपल्ट मैनाले बैंक दरभन्दा दोबरीमा माइतीको भरथेग व्यहोरी ।
प्रकाशित: २० असार २०७८ ०९:५५ आइतबार