ऋषि तिवारी
शर्मिला घरकी लक्ष्मी। उनको श्रीमान् सरकारी जागिरे । श्रीमती घरव्यवहारमा तल्लीन। श्रीमानको तलबले घरव्यवहार चलाउने बजेट एक वर्षको खाका कोर्छिन्।
शर्मिला भन्छिन् आफ्नी श्रीमानलाई– ‘हजुर आज बजेट भाषण के कति तलब बढ्छ ? तलब बढे पनि महँगी नबढे हुन्थ्यो ।’
श्रीमान् झोकिन्छन् आफ्नै श्रीमती शर्मिलासंग, ‘के मेरो हातको कुरो हो र ?’
ऊ खाना खाएर अफिस जाने सुरसार गर्दै थियो।
ऊ हिँडियो। बाटामा संगसंगै रिठ्ठे पनि जाँदै थियो। आफ्नो प्राइभेट अफिस । दुवै जनाको उस्तै चासो थियो यो आजको बजेट भाषणप्रति।
रिठ्ठेले भन्यो– ‘दाइ हजुर त सरकारी कर्मचारी तलव त बढेर आकाशै छुन लाग्यो । तैपनि भ्रष्टाचार किन रोकिँदैन ? म प्राइभेट कर्मचारी भएर पनि देशलाई टेवा दिइरहेको छु भने सरकारी कर्मचारीहरूले देश हितका लागि किन सेवा दिन सकिरहेका छैनन् ?’
विचरो त्यो सोझो दाइले के भनोस् । ऊ मात्रै कार्यालय सहयोगीको रूपमा कार्यरत थियो ।
ऊ भन्थ्यो, ‘भाइ, मभन्दा माथि धेरै ठुला छन् । उनीहरूले भनेको मैले सबै मान्नुपर्छ। पहिले महँगी नियन्त्रण त्यसपछि भ्रष्टाचार रोक्नुपर्छ बुझ्यौं ?’
ऊ सोझो साझो दाइले यताउता पल्याकपुलुक हेर्दै बोल्यो।
अब दुवैको छुट्टिने बाटो आयो । रिठ्ठेले बोल्यो फेरि बोल्यो– दाइ बधाई छ बजेट भाषणको । अब तपाईंको घर, तेस्रो तल्ला हुने भो। म त इमानदार मान्छे गरिबीले कहिल्यै नछोड्ने भो ।’
प्रकाशित: २० असार २०७८ ०६:२० आइतबार