२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

म जमिरहने पानी हैन

कविता

एनवी दाहाल नवीन  

 

म जमिरहने पानी हैन  

कुवाको डयाङभन्दा  

बाहिर आउन नसक्ने  

संसारको केही कुरा बुझ्नै नसक्ने,  

कति अर्थहीन भएर  

बसेको मात्र देख्न चाहन्छ्यौ तिमी,  

मभित्र त अथाह शक्ति छ सिर्जनशीलताको।

खै बुझेको मेरा भावनाहरू ?

म त छहरा हुँ ।

म जमिरहने पानी हैन  

छङछङ गर्दै झर्न चाहन्छु  

निर्मल र स्वच्छ भएर  

म त उच्च हिमशिखरबाट झरिरहन्छु  

तर  

तिमी मलाई बुझ्नै नसक्ने मान्छेमध्ये

एउटी पात्र  हौ जस्तो लाग्छ ।

मलाई बुझ्ने कोसिस गर ।

म जमिरहने पानी हैन ।

मलाई सफा गरिरहनु पर्दैन  

उमालिरहने कोसिस नै नगर ।

किन ऊर्जा खर्च गर्छयौ ?

म त्यसै सफा छु ।

अचल भएर बाँच्न चाहन्न 

म जमिरहने पानी हैन 

म भित्र सजीवता छ  

त्यसैले त सबैको निम्ति  

बाँचेको छु ।

अनि मात्र मेरो जीवन  

सार्थक भएको म महसुस गर्दछु।

तिमीले पनि बुझिहेर न  

म कस्तो छु ।

व्यवहारको पहिचान गर ।

म जमिरहने पानी हैन ।

      कमल गाउँपालिका –२, दाहाल गाउँ, झापा।

प्रकाशित: १९ असार २०७८ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App