१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सम्झौता

घर एकदमै रमाइलो छ आज बाबाको निम्तो स्विकार्दै दिदीबहिनी, काकी, सानिमा, फुपू सबै आएपछि रमाइलो नहोस् पनि किन ? कसैलाई कसैसँग बोल्न समेत फुर्सद छैन। एकअर्कालाई भेटेर दंग छन् सबै। यो स्वाभाविक पनि हो किनकि धेरैतिर छरिएका चेलीबेटीको यस्तो जमघट सधैँ कहाँ प्राप्त हुन्छ र ? मामुले हामी सबै दिदीबहिनीलाई एउटा कोठा, अनि सबै दाजुभाइलाई अर्को कोठा व्यवस्था गरिदिनुभएको थियो।  

दसैँ गयो। तिहार गयो। यसबीचमा अन्य धेरै पर्व गए। तर कोरोनाले सबैको भेटघाटमा छेकबार हालिरह्यो। हुँदाहुँदै असार लाग्यो। झरीसँगै, सामाजिक सञ्जालमा रोपाइँका तस्बिर देखिन थालेसँगै र कोरोना संक्रमित घटेसँगै एक खालको नयाँ माहोल बनेको थियो। त्यसैले पनि यो भेट हर्षविभोरयुक्त थियो, सबैका लागि। बाल्यकाल सम्झिएर एकपछि अर्को हाँसो गुञ्जिरहेको थियो। एकअर्काको बदमासी, पुतलीको विवाह गरेको, घ्वाइँ, गट्टा खेलेको अनि झेली गर्दा झगडा परेका दृश्य सुनाउने प्रतिस्पर्धा नै चलेको थियो। एकले अर्कालाई तैँले यसो गरेकी थिइस् भनेर औँलो ठड्याउँदै हाँस्ने गरेका दृश्य पनि रोचक थिए।  

सिंगै घर रमाइलोमा भए पनि मेरो मन भने भित्रैदेखि रम्न सकेको थिएन। सबै जम्मा हुनुको बहाना थियो– मेरो बिहेको कुरा छिन्ने कार्यक्रम। मेरो मन भने जोसँग बिहे पक्का हुँदै थियो, ऊसँग मरिगए मानेको छैन। त्यसैले यो जमघट मेरा लागि सिर्फ ‘भीड’ बनेको थियो। बाहिरबाट अरूसँगै हाँसिदिए पनि त्यो केवल ‘बनावटी’ थियो। कुरा छिन्नुअघि नै आभाससँग कसरी भागुँ भन्ने प्रश्नले मनमा राज जमाइरहेको थियो। त्यसैले घरको रमाइलोमा मेरो ध्यान फिटिक्कै थिएन। केहीमा ध्यान थियो त कसरी आभाससँग भाग्ने, अनि हामी दुईको सपना साकार तुल्याउँदै नयाँ संसार सिर्जना गर्ने भन्नेमा मात्र थियो। तर कसरी ? उत्तर थिएन। यही विनाउत्तरको तनाव मात्र हुर्किरहेको थियो। केवल तनाव।

अगाडि पनि आमाबाबाले धेरै केटा ल्याउनुभएको थियो तर मैले आफ्ना ‘अवगुण’ देखाएर उनीहरूलाई टाढा हुन बाध्य पारेकी थिएँ। यसपालि जुन परिवारसँग मेरो नाता जोड्ने कुरा भइरहेको छ, बाबाआमाको एकदमै मिल्ने परिवार। केटो भर्खरै लन्डनबाट वकालत पढेर काममा समेत लागेको। यही कारण मेरो घरपरिवार मात्र हैन, खुसियालीमा सरिक हुन आएका नातागोता समेत एकदमै खुसी थिए। मलाई भने मिनेट मिनेटमा एकदमै गाह्रो भइरहेको थियो। कसरी आफ्नो मनको इच्छा पूरा गरुँ ? कुन उपायबाट मेरो समस्याको समाधान होला ? दिमागमा अरू सवाललाई ठाउँ नै थिएन।  

आभासलाई धेरैचोटि मैले मेरा आमाबाबासँग भेट्न आऊ नभनेकी पनि हैन। तर उसले ‘जागिर छैन, घर छैन, काठमाडौंमा यसो जागिरको टुंगो लागोस्, अनि तिम्रो आमाबाबासँग तिम्रो हात अनि साथ माग्न आउँछु स्मृति’ भनेर टारी मात्र रह्यो। म उसका हरेकपटक दोहोरिने यही वाणी सुन्थेँ, अनि चुप लाग्थेँ। आजको यो कुरा पनि मैले उसलाई नभनेकी हैन। प्रतिउत्तरमा उसले भनेको थियो, ‘जसरी पहिलेकोलाई भगाएकी थियौ, यसलाई पनि त्यसरी नै भगाऊ न।’ अफसोस, यसपालिको केटा र परिवार तथा आफ्नो बाबाआमाले एकअर्कालाई बच्चैदेखि चिनेको। आफ्नो बारेमा त्यस्तो कुनै नकारात्मक कुरै गर्न सक्दिनथेँ। गरे पनि कसैले विश्वास गर्ने अवस्थै थिएन।  

उफ्, यो माया भन्ने जिनिसमा पनि कति समस्या आउने। किन होला ? आफूले मन पराएकोसँग खुरुक्क विवाह नहुने। उता आभासलाई आनन्द छ। यता मलाई किन यति गाह्रो ? छोरी मान्छेको समयमै विवाह भएन भने गाह्रो हुन्छ रे। त्यसैले होला, बाबाआमाले मेरो विवाहका लागि धेरै नै जोड दिनुभएको। मनभित्र द्वन्द्व चर्किरहेको थियो। एक मनले त आभाससँगको सम्बन्धबारे आमाबाबालाई भन्दिउँजस्तो लागिरहेको थियो, म ऊबिना आफ्नो भविष्यको कल्पना पनि गर्न सक्दिनँ भनेर। तर फेरि सोचेँ, कसरी भनुँ ? आभास आफैँ काकीको घरमा बसेको छ। जागिर पनि छैन। अहिले नाइँ भन्दाभन्दै म कसरी उसलाई विवाह गर्नैपर्छ भनेर प्रेसर दिउँ ? हे भगवान्, मलाई कुनै उपाय बताइदेऊ ताकि मैले आभासलाई छाडेर कसरी अरूसँग दाम्पत्य जीवनको कल्पना गरुँ ?  

उफ्, म आभासको सम्झनामा तड्पिरहेकी थिएँ। कुनै उपाय आइरहेको थिएन। मलाई बाबाआमाले आभाससँग बिहे गरिदिनु हुन्न भन्ने पनि थाहा थियो। त्यसैले पनि बाबालाई भन्न सकिरहेकी थिइनँ।  

दिदी सबै कुराले सम्पन्न थिइन्। काठमाडौंमा घर थियो। भिनाजु डक्टर। त्यो पनि नामै चलेको। मैले आफ्नो मनभित्र राज गराएको आभास भने बेरोजगार थियो। बस्नका लागि छानो समेत थिएन। आखिर हामी मायामा बाँधिँदा यी कुराप्रति सोचेकै थिएनौँ। मलाई त खालि आभासको माया र साथ भए पुग्थ्यो। हामी दुवै पढे–लेखेका थियौँ। कहीँ न कहीँ, केही न केही काम गरिहाल्थ्यौँ। म यसैमा खुसी हुन्थेँ। यस्तो सोच्दासोच्दै गुनगुनाउन थालेछु– मायालुको माया मीठो, न्यानो न्यानो काख मीठो...।

स्मृति, स्मृति ! तिमी के गर्दै छ्यौ ? आज बेलुकाको खानामा रुद्र परिवारसहित आउँदैछन्। तिमी छिटो तयार होऊ।  

परेन फसाद ? मन नलाग्दानलाग्दै ‘हुन्छ’ भनिदिएँ आमालाई। अनि मनलाई व्यवस्थित गर्नपट्टि लागेँ। सोचेँ– तयार हुनुअगाडि आभाससँग एकचोटि कुरा गर्छु।  

हेलो, आभास के छ ? कता छौ ? फेरि आज पनि मलाई पहिला जस्तै गाह्रो भइरहेको छ। तिम्रो साथको आवश्यकता छ। के गरौँ भन न, म एकदमै दोधारमा परिरहेकी छु। तिम्रो साथ मेरो जीवनको आशा हो। तिमीविना म बाँच्न सक्दिनँ। मेरो जीवनको कुनै औचित्य र मूल्य छैन। प्लिज भन न आभास, म के गरुँ ?  

होइन, स्मृति त्यति धेरै तनाव नलेऊ। आजको दिन कसरी हुन्छ आफूलाई सम्झाऊ, भोलि भेटेर के गर्ने सोचौँला। यो क्षण पहिलोपटक आएको होइन नि, किन दुःखी हुन्छ्यौ ? म त ढुक्क छु तिमीले मिलाउँछ्यौ भन्नेमा। जीवन भनेकै यस्तै हो स्मृति, आफूसामु आएका हरेक विघ्नबाधा, रोकावटलाई पन्छाउँदै व्यवस्थित गर्दै अनि मिलाउँदै अगाडि बढ्ने। धेरै चिन्ता नलेऊ, जाऊ बरु फ्रेस बन। म त तिम्रै हुँ। हाम्रो माया अनि हामी दुईलाई कसैले पनि अलग्याउन सक्दैन।  

मसँग विकल्प थिएन, आमाको निर्देशन मान्नुको। तयार हुनतर्फ लागेँ। आमालाई सघाउँदै गर्न थाल्नुभएको दिदी मतर्फ आउनुभयो र जिस्क्याउन थाल्नुभयो– के हो बैनी, तँ त कति भाग्यमानी, पढाइ पूरा गर्न पाइस्, राम्रो घरपरिवार अनि केटो पाइस्, लन्डनको बसाइँ, त्यहीँ वकिल अनि व्यक्तित्व पनि त्यत्तिकै राम्रो। ओहो हाम्रा बहिनीज्वाइँको जोडी पनि कति राम्रो हुने हो ? टच वुड, आँखा कसैको नलागोस्।  

दिदी मलाई फुर्क्याउने। म भित्रैदेखि सुन्न नचाहे पनि मुस्कुराएजस्तो गरेर सुनिरहने। आमा बनाइतुलाइमा व्यस्त। घरका अरू पाहुना पनि सघाइरहेका। कोही गफगाफमा त कोही हल्काफुल्का खानपिनमा मस्त। यसैगरी अघि बढिरहेको थियो, कुरा छिन्ने दिनको माहोल।

बेलुका सबै जम्मा भए। घरमा स्याम्पियन फोरियो। बाबाहरू आआफ्नो वेलाका कुरा स्मरण गरिरहनुभएको थियो। फुपूहरू पनि रमाइला कुराको यादमा डुबुल्की मारिरहनुभएको थियो। चारैतिर नजर लगाउँछु, सबै खुसी। सबै हँसिला। सबै हर्षित। दुःखी थिएँ त म मात्रै।  

रुद्र मलाई वेलावेला चोरेर हेरिरहेको थियो। अनि म पनि। कुनै कुनै वेला त हामी दुवैको आँखा जुध्थ्यो, अनि फेरि अर्कातिर बटारिहाल्थ्यौँ नजर। ऊ सभ्य अनि सालीन व्यक्तित्वको माली देखिन्थ्यो। हामी दुई मात्र भेटेर आआफ्नो रुचिबारे केही कुरा गर्नैपर्ने भयो, सबैको करकापपछि। अनि बालकोनीमा गयौँ। हाम्रा लागि त्यहाँ क्यान्डल लाइट, स्न्याक्स अनि स्याम्पियनको व्यवस्था थियो। रुद्रले अफर गर्‍यो - म खासै यो संसारको मान्छे त होइन, तर आज उसको अफर खेर फाल्न मन लागेन। चियर्स गरेँ।  

रुद्र बोलिरहेको थियो– स्मृति, तिमी हाम्रो परिवारमा नयाँ सदस्य हुँदै छौ। बच्चैदेखि तिम्रो आनिबानी सबै थाहा छ। त्यसैले तिमीबारे मेरा आमाबाबाभन्दा पनि मलाई धेरै थाहा भइसक्यो। म पनि बच्चैदेखि तिमीलाई पाउने कल्पनामा डुबेको छु। सायद म भित्रभित्रै तिमीलाई चाहन्थेँ पहिल्यैबाट। तिमीबाहेक मेरो मनमा कोही छैन। तिम्रो खुसीलाई नै म मेरो खुसी मान्छु। तिम्रा हरेक सुख/दुःखको जिम्मा मेरो हुन्छ। आजदेखि मेरो खुसी सबै तिमीलाई अनि तिम्रो दुःख जति सबै म लिन्छु। तिम्रो मनमा केही छ भने मलाई भन, प्लिज...।  

त्यसपछि मेरो अगाडि घुँडा टेकेर औँठी प्रपोज गर्‍यो उसले।  

मैले भनेँ– रुद्र बिन्ती छ, मेरो कुरा सुन। तिमीमा कुनै खोट छैन तर म अरूलाई नै मन पराउँछु। हामी विगत दुई वर्षदेखि मायामा छौँ। बाबा प्रेसरको बिरामी होइसिन्छ। त्यही भएर यो कुरा मैले बाबालाई भन्न सकेको छैन। बरु सक्छौ भने मलाई र आभासलाई मिलाउने काम गर, प्लिज...।

ओहो स्मृति, तिमीले मलाई कस्तो अप्ठेरो ठाउँमा राख्यौ ? खैर केही छैन म वकिल हो, केही न केही जुक्ति अवश्य निकाल्छु। हामी कसैलाई केही नभनी आजको क्षण राम्ररी बिताउँ। भोलि आभाससँग भेटेर के गर्ने सोचौँला।

रुद्रको व्यवहार देखेर मलाई अचम्म लागिरहेको थियो। मैले देखाउनका लागि उसले दिएको औँठी पनि लगाएकी थिएँ। हामी खुसी भएको देखेर सबै खुसी थिए। खानासँगै विवाहको साइतबारे पनि छलफल चलिरहेको थियो। हप्ता दिनभित्र विवाह सम्पन्न गर्ने कार्यक्रम बन्दै थियो।  

यसैबीच रुद्रको अनुहार नियालेँ। उसले आँखा झिम्क्याएर गरेको संकेतलाई मैले ‘चुप लागेर बस्, म मिलाउँछु’ भन्ने अर्थमा बुझेँ। त्यसैले ढुक्क भएँ।  

भोलिपल्ट आभास र म सधैँ भेट्ने रेस्टुरेन्टमा भेट्ने कार्यक्रम बन्यो, साँझको ५ बजे। अनि रुद्र र म ठीक ५ बजे पुग्यौँ पनि। तर साढे ७ बजिसक्यो, आभासको अत्तोपत्तो थिएन। मोबाइलको स्विच पनि अफ।

मलाई के गरौँ कसो गरौँ भइरहेको थियो। कुनैवेला आभासलाई केही त भएन भन्ने चिन्ता लाग्थ्यो। अनि कुनैवेला भने दुःख लाग्थ्यो। के भयो आभासलाई ? कहिल्यै यस्तो गरेको थिएन। कतै बिरामी त भएन ? कुनै दुःखमा त परेन। उफ् ! मेरो आभासलाई राम्रो गर भगवान् भन्दै अनुहारबाट निरन्तर बगिरहेको पसिना पुछिरहेकी थिएँ।  

रुद्र मेरो अवस्था देखेर सान्त्वना दिँदै भनिरहेको थियो– केही छैन, अर्काे दिन भेटौँला, अब यहीँको वातावरणमा रमेर घर जाऊ।  

त्यत्तिकैमा हामीलाई चिन्ने वेटर आयो र मलाई एउटा चिठी दिँदै भन्यो– माफ गर्नु म्याम, म बाहिर गएकाले ढिलो भयो, आभास सरको चिठी तपाईंलाई।

आभासको चिठी ? थर्थर कामिरहेको हातले लिएँ। अनि तत्कालै खोलेँ–  

‘स्मृति ! तिमीलाई मैले के भनेर सम्बोधन गरुँ, मेरो कुनै अधिकार छैन। तिमीले मलाई आजको दिनसम्म आर्थिक रूपमा धेरै सहयोग गर्‍यौ। त्यसका लागि धन्यवाद। मेरो परिवार बूढो बाबा, आमा, बहिनीहरूको आर्थिक स्थिति व्यवस्थित गर्नका लागि म आफैँ बेचिनुपर्ने अवस्था आयो। बहिनीको विवाहका साथै बाबाको औषधिका लागि मैले बाबाको साथीको छोरी (जसको एउटा छोरी पनि छ र श्रीमान् चाहिँ बितिसकेको छ) सँग विवाह गर्नुपर्ने परिस्थिति आयो। त्यो परिवारले बाबालाई धेरै सहयोग गरेको साथै बहिनीको विवाहका लागि १० लाख सहयोग पनि गर्ने भन्ने वाचा गरेका रहेछन् बाबासँग। जीवन त एउटा बाध्यता अनि सम्झौता मात्र रहेछ। यो प्रस्ताव केही समय अगाडिदेखि आइरहेको थियो। तिमीलाई मैले आफ्नो मुखबाट भन्न सकिरहेको थिइनँ। भन्नु पनि कसरी ? जसलाई धेरै माया गरेको थिएँ, उसैलाई छाड्ने कुरा मैले कसरी गरौँ ? तिमीलाई कति धेरै दुःख दिउँ, जीवनमा म यही गर्छु भन्ने कहिले हुँदो रहेनछ। समयको बाध्यता र सम्झौताले जता डोर्‍याउँछ उतै बग्नुपर्ने रहेछ। त्यसैले आफ्नो खुसी त्यागेर घरको खुसीका लागि म अगाडि बढेँ। मलाई खोज्ने प्रयास नगर्नू। तिम्रो कुरा सुनेअनुसार रुद्र सालीन अनि सभ्य छ। यसैपटक आफ्नो मायाका लागि यो वर नठुक्र्याऊ। अन्तमा, सफल तिम्रो त्यो जिन्दगीलाई यो दुःखीको बधाई छ...।

– उही तिम्रो जीवनको एउटा यात्री।

आँखाबाट आँसु बगिरहेको थियो। यही बगाइबीच रुद्रले मेरो हातबाट फुत्त चिठी तान्यो र पढ्न थाल्यो।

प्रकाशित: १९ असार २०७८ ०३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App