१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

पतौराको ऐतिहासिक महत्व

शीतल गिरी

 

पतौरा, नेपाल अधिराज्यको मध्यमाञ्चल क्षेत्र अन्तर्गत नारायणी अञ्चलको रौतहट जिल्लामा पर्दछ । रौतहट जिल्लामा ऐतिहासिक महत्वका ठाउँहरूको कमी छैन । त्यसमध्ये पतौरालाई एउटा पुरातात्विक स्थलको रूपमा लिन सकिन्छ । पतौरामा भग्नावशेषको रूपमा प्राप्त मन्दिरमा प्रयोग गरिएका इँटहरूका साथै ढुंगाको बीम खण्डित रूपमा देखिन्छ।

उक्त भग्नावशेषमा रहेको शिवलिङ्गलाई स्थानीय क्षेत्रमा जनता पूजा गर्दछन् । पतौराको भग्नावशेषको सम्बन्धमा अडकल गर्दा कुनै समयमा त्यहाँ विशाल स्थल थियो। परापूर्वकालमा जनकवंशी राजाहरूको राज्यअन्तर्गत रौतहट पनिपथ्र्यो। रामायण आदि काण्डमा सीताका बुबा शिरध्वज जनकबारे वर्णन गरिएको छ। जनक वंशका अन्तिम राजा करालजनकले एउटी ब्राह्मणी केटीसँग बलात्कार गरेकाले उनको देश र परिवारको नाश भएको घटना कौटिल्यको अर्थशास्त्र र अश्वघोष रचित बुद्धचरितमा छ । जनकवंशको लोप भएपछि विदेश मिथिलाको यो क्षेत्र पनि बुद्धकालमा अष्टकुल (अगजानवकुल) बज्जिसंघमा एउटा प्रमुख सदस्य थियो । बज्जिसंघ अजात शत्रुद्वारा ५२४ इ.पू.मा समाप्त गरिए पनि रौतहटका लडाकु राउतहरूले करद राज्यकै रूपमा भए पनि बज्जि गणराज्यको स्वरूप टिकाएको पाउँदछौ । गुप्त साम्राज्य टिकाउन बज्जि गणराज्यले सैनिक उपलब्ध गराउने गर्दथ्यो । लोक महाकाव्य लोरिकायनका नायक लोरिकले यस रौतहटबाट  १० हजार वीरहरूको सेना समुद्र गुप्तको सेवामा अर्पिएका थिए र लोरिकले लगेका त्यस सेनाले ५२ वटा लडाइँ लडेर जितेको थियो । रौतहटका लडाकाहरू विदेशीको सेवामा जाने गर्थे । 

पछि रौतहटको स्थिति कमजोर भएको हुँदा नै दक्षिण भारत कर्नाटकका राजा विक्रमादित्यले उत्तरतर्फको विजययात्राको क्रममा यहाँको बज्जि गणराज्य समेतलाई इ.स. १०९७ मा आप्ना सेनापति नान्यदेवद्वारा विशाल राज्यमा विलीन गराएका थिए । विक्रमादित्यको मृत्युपछि सिमरौनगढलाई राजधानी बनाई उनै नान्यदेवले स्वतन्त्र डोयराज्यको स्थापना गरे ।सिम्रौनगढका अन्तिम राजा हरिसिंहदेव भए । इ.स. १३२५ मादिल्लिका गयासुद्दिन तुगलकले हरिसिंहदेवलाई हराएर यस वंशलाई उखेलिदिए। रौतहटको सम्पूर्ण इतिहासमा सांस्कृतिक, आर्थिक, राजनीतिक र हिन्दू धर्मको जगेर्ना र उत्थानमा देवनामधारी कर्णाटक वंशको सबैभन्दा बढी योगदान छ । यसपछि यस क्षेत्रमा आई नियार वंशको शासन १३२५ इ.स. देखि १७६३ सम्म कायम रहेको देखिन्छ। दिल्लीका शासक गयासुद्दिन तुगलकले सुगौना अथवा आइनिवार वंशीकामेश्वर ठक्कुर (ब्राह्मण) लाई यस राज्यमा शासक बनाइदिएका थिए । यो वंश मुसलमानहरूको करद राजा बनेको हुँदा यस क्षेत्रको जनता सन्तुष्ट थिएनन् । मकवानपुर राज्य स्थापना गर्ने लोहाङ सेनले यस क्षेत्रको विजय  गर्नुअघि यो वंगालका नवावनशरत शाहको अधिकारमा  थियो । राउतहरूको भावना जहिले पनि मुसलमान विरोधी थियो । मुसलमानहरूसँग मुकाविला गर्न सक्ने हिन्दू सेनवंशी राजा लोहाङसेन पाएपछि उनलाई साथ दिए । लडाइँमा साथ दिएका राउतहरूको चाहना अनुसार उनले पतौरामा शिवलिङ्ग स्थापना गरी मन्दिर बनाए । सेनहरूले रौतहटका राउतहरूलाई सम्मान गर्ने गरेका थिए । पृथ्वीनारायण शाहले मकवानपुरका दिग्वर्धन सेनलाई पराजित गर्नुको साथै सेनहरूलाई साथ दिएका रौतहटका राउतहरूमाथि प्रलय बनी जाइलागेपछि शिवमन्दिर रहेको स्थानमा नवरहित बन्यो र कालान्तरमा रुखहरू उम्रनाले उक्तमन्दिर टुटफुट भै जमिनमुनि पुरियो।

पतौराको भग्नावशेषलाई हेर्दा समयमा यहाँ कलात्मक मन्दिर भएको अनुमान हुन्छ । यसको निर्माणकाल लोहाङसेनको समयलाई आँक्दा न्यायोचित हुन सक्ने देखिन्छ । शिखर शैलीको यो मन्दिर अहिले भत्किएर थुप्रो लागेको छ । मध्यमाञ्चल क्षेत्रको तराईको रौतहट क्षेत्र, बज्जि सभ्यता अन्तर्गतको एउटा महत्वपूर्ण इकाई थियो । प्राचीन कालमा यो क्षेत्र विदेह राज्य कहलाउँथ्यो । प्राचीन विदेह जनपद पूर्वमा कोशी, पश्चिममा गण्डकी, उत्तरमा महाभारत फेदी र दक्षिणमा गंगासम्म फैलिएको थियो।

विदेह जनपदको उल्लेख वैदिक साहित्य, पुराण, रामायण, महाभारत तथा बौद्ध र जैन ग्रन्थहरूमा भएको छ । विदेह जनपदको राजा जनक कहलाउँथे ।निमिदेखि करालसम्म जम्मा ५६ जनकहरूले शासन चलाएको प्रमाण भेटिन्छ । प्राचीन वैदिक साहित्यमा विदेह जनपदका लागि मिथिला पनि भनिएको छ। मिथिला क्षेत्रमा बस्नेलाई मैथिल भनियो । विदेह वा जनक वंशको चर्चा कौटिल्यले पनि गरेका छन् ।  

जनक वंशको अन्तिम जनक कराल थिए  भन्ने कुराको पुष्टि कौटिल्यको अर्थशास्त्रबाट हुन्छ । विदेह तथा मिथिला कलान्तरमा तिरहुत नाउँले जानिन लाग्यो । स्वयम् गौतम बुद्ध दुई पटक मिथिला आएका थिए । उनले वर्णन गरे अनुसार मिथिलाको राजधानीचनसुना (जनकपुर) को अवस्था सारै बिग्रेको थियो । अधिकांश व्यक्तिहरू हिन्दू थिए । थोरै मात्रामा बौद्धहरू थिए । अशोक  

राजाको समयमा विदेह वा मिथिलाका भिक्षुहरू बौद्ध धर्मको प्रचारको लागि तिब्बतसम्म गएका थिए । विदेहवंशको पतनपछि यो क्षेत्र ‘बज्जिहरू’ को मातहतमा गयो । उनीहरूको समयमा यस क्षेत्रमा बौद्ध धर्मको प्रचार भयो ।  

त्यसपछिको इतिहास धेरै समयसम्म अन्धकारमा छ । पतौरामा भग्नावशेषको रूपमा परिणत मन्दिरको चारैतिर प्रदक्षिणापथका अवशेष अहिले पनि विद्यमान छ ।  

प्रदक्षिणापथसम्म जानका लागि सिँढीहरूको व्यवस्था देखिन्छ। वास्तवमा मन्दिरको अधिरचना नष्टभै सकेको छ तापनि बाँकी रहेको भग्नावशेषबाट त्यसबेलाको उचाइको अनुमानसम्म गर्न सकिन्छ । मन्दिरको मुख्य प्रवेशद्वार पूर्वाभिमुख छ । प्रवेशद्वारसम्म जानका लागि सिंढीहरूको व्यवस्था गरिएको छ । सिंढी माथिको अन्तिम भाग अर्थात् मूल ढोकाको ठेलाको रुपमाविशालप्रश्तर खण्ड रहेको छ । १६० सेन्टिमिटर लामो ४० सेन्टिमिटर चौडा २२६ सेन्टिमिटर मोटो यो प्रस्तर खण्ड कलात्मह छ। मन्दिरको भित्री योजना र बाहिरी भाग आयातकार छ। मन्दिरको भित्री योजना ६२० से.मी. लामो र ३६५ से.मी. चौडा छ भने बाहिरी भाग १५५० से.मी. लामो र ९६० से.मी. चौडा रहेको छ । लम्बाइ र चौडाइको आधारमा यस मन्दिरको उचाइ लगभग १५० सेन्टिमिटरको हुनसक्ने सम्भावना देखिन्छ । एउटै मात्र प्रवेशद्वार भएको यस मन्दिरको पूर्वतर्फ वरन्डामा पाषाण स्तम्भको अवशेषहरू देखिन्छन्। पाषाण पट्टमा कुँदिएका मूर्तिहरूको स्वरूप भने अस्पष्ट नृत्य मुद्रामा रहेको झझल्को पाइन्छ । यसथै यसबारेमा कुनै कुरा भन्न सक्ने स्थिति अहिलेलाई छैन।

पतौराको भग्नावशेषमा प्राप्त शिवलिङ्ग जमिनमाथि ६० से.मी. र मोटाइ ५२ से.मी. को छ । त्यहाँ प्रयोग गरिएका सम्पूर्ण ढुङ्गाहरू चुरेमा पाइने फुस्रो ढुङ्गा मात्र रहेको छ।

मन्दिर निर्माणमा प्रयोग गरिएका इँट २०×२८ से.मी. को रहेको छ । शिखर शैलीको यो मन्दिरको पर्खाल ८० से.मी. मोटो छ । मुख्य मन्दिर भित्रबाट पानी निकास गर्न उत्तरतर्फ ढुङ्गाको पशुमुखाकृति अझ पनि छँदैछ । मध्य तराईको विकट एवं दुर्गम जिल्ला मानिएको रौतहटले अनेकौं ऐतिहासिक, धार्मिक आदि सम्पदाहरूलाई आफूमा समेटेको छ ।

प्रकाशित: १० असार २०७८ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App