परशुराम पराशर
“हजुरबा ! ए हजुरबा !!” राजेशमानको छोरो सान्निध्य गाडीबाट ओर्लनेबित्तिकै कुद्दै र एकोहोरो कराउँदै मूलढोकातिर आयो।
“आमा ! हजुरबा खै ?” उसले आँगनमा उभिएकी आमासँग सोध्यो।
“अहिले तिमीलाई किन चाहियो हजुरबा ? हामीलाई भन न केके भन्नु छ ? केके सुनाउनु छ ?” सन्ध्याले रातो अनुहार पार्दै प्रतिप्रश्न गरिन् ।
सान्निध्य काठमाडौंको प्रख्यात व्यापारी राजेशमानको एक्लो छोरो हो । ऊ शहरको प्रतिष्ठित बोर्डिङ स्कुलमा बोर्डस् बसेर पढेको एक वर्ष भइसकेको थियो । ऊ हरेक पटक घर आउँदा उसलाई लिन मूलढोकामा आइपुग्ने हजुरबा नदेखेपछि कस्तो–कस्तो लागेर सोधेको थियो उसले । सबैभन्दा बढी माया गर्ने, हजार कुरा सिकाउने, घर आउँदा ऊसँग खेल्ने साथीजस्तै प्यारो हजुरबालाई छुट्टीको समयमा घर आउँदा केही न केही ल्याइदिने पनि गरेको थियो उसले।
“यी मैले मेरो हजुरबालाई के ल्याइदिएको छु । हेर्नुस् त ।” उसले गोजीबाट मिल्कीबार चकलेट देखाउँदै भन्यो।
“ल चुप लाग, पहिले ब्याग राख। मेरो छोरालाई मैले ल्याइदिएको कुरा हेर्न भित्र हिँड त ।” सन्ध्याले अलमलाउन भित्र लगिन् । उसले चकलेट गोजीमै राख्यो र यताउति हेर्दै आमासँगै गयो।
“हैन, यसलाई किन चाहियो हजुरबा ? हाम्रो त कुरै गर्दैन। अघि गाडीमा पनि केके भन्दै ... ।”
“ल, उहाँ त मेरो फेबरेट फ्रेन्ड हो नि त ।” सान्निध्यले बुबाको बोली सकिन नपाउँदै भनिहाल्यो।
काम गर्ने केटाले खानेकुराहरू ल्याइसकेको थियो । आमाबुबा खान थाले तर उसले खाएन।
“किन नखाएको मेरो बाबु ? खाऊ ।” सन्ध्याले टाउको मुसार्दै भनिन् ।
“नाइँ के, खान्नँ । हजुरबा खै ? भन्नू न त ।” सान्निध्यले जिद्धी गर्यो ।
दुवैले फेरि मुखामुख गरे । राजेशमानले लामो सास तानेर भन्यो– “सान्निध्य ! तेरो हजुरबा वृद्धाश्रममा बस्न जानुभएको छ । त्यहाँ उहाँलाई राम्रो छ । उस्तै उस्ता बुढाबुढी हुन्छन् अनि कुरा पनि मिल्छ।”
सान्निध्यले विद्यालयको कार्यक्रममा साहित्यकारले भनेको सम्झियो । ‘अहिले साना हुँदा बुबाआमाले छोराछोरी आफूसँग नराखेर होस्टेलमा राख्छन् अनि त्यसको बदला उनीहरू पनि वृद्धवृद्धा आमाबुबालाई वृद्धाश्रममा नपठाएर के गर्छन् त । संस्कार नै त्यही सिक्छन् । माया भन्ने कुरा हामीले बुझाउन जानेनौँ भने उनीहरूले पनि हामीलाई माया गर्ने छैनन्।’
“बाबा ! हजुरबाले तपाईंलाई पनि होस्टेलमा राख्नुभएको थियो, हो ?” सान्निध्यले सोध्यो।
“किन सोधेको छोरा, यो तैँले ?”
सान्निध्यले तिनै साहित्यकारको कुरा सुनायो । राजेशमानले आफ्नो वृद्धावस्था वृद्धाश्रममा बित्ने देखेर झसङ्ङ भयो अनि जुरुक्क उठेर भन्यो– “हिँड् छोरा, हजुरबालाई लिन । उहाँ अब यहीँ बस्नुहुन्छ । अनि तँ पनि अबदेखि घरबाटै स्कुल जाने है । म नै तँलाई स्कुल पु¥याउन जान्छु ।”
प्रकाशित: १० असार २०७८ ०८:५७ बिहीबार