७ वैशाख २०८१ शुक्रबार
कला

सन्तान

लघुकथा

तुलसी पण्डित  

 

ढुकुरले रुखमा गुँड बनाउँदै गरेको देखेर मनवीरे रमायो।

–बाबा हेर्नू त ऊ त्यो रुखमा।

– खै कहाँ ?

‘ऊ त्यो दाहिनेपट्टिको रुखको हाँगामा । अब त रमाइलो हेर्न पाइने भयो।’  

–ए देखें। आफ्नो घर बनाउन ठेस्का ओसारेको रहेछ। अब केही समयपछि त। बाबुको कुरो छोरो मनवीरेले बुझेन।

ढुकुरको अथक प्रयासले गुँड तयार भयो। भाले पोथीसँगै बसेको देखिन्थ्यो। आखिर ढुकुरले फूल पारी। त्यसपछि ऊ ओथारो बसी। केही समयपछि बच्चा कोरली। बच्चालाई दुवै भाले पोथीले पालैपालो गरेर आहारा खोजेर ल्याउँथे। दुवैको अथक प्रयासले ढुकुरका बच्चाहरू बढे। दुवै राम्रा थिए। बच्चाहरू उड्न पखेटा फट्फटाउँथे।

सधैं रुखतिर हेर्ने गरेको मनवीरेको बाबू आज खुशी भयो। अब ढिला गरे उड्नेछन् भन्दै ऊ रुख चढ्यो। उसले रुखमाथि गएर ढुकुरका बच्चा समातेर तल ल्यायो। ढुकुरका ती बच्चा देख्दा पनि मनवीरेको मन रमाएन । उसले सोच्यो– कति निर्दयी रहेछन् हाम्रा बाबा । हेर त ढुकुरहरू सन्तानको वियोगमा कराइरहेका। कैले  यता कैैले उता गरिरहेछन्।

–बाबा हेर्नु त उसका आमाबाबा रोएका। ती बचेरा गुँडमा लगेर राखिदिनु ? बाबाले छोराको कुरामा कुनै चासो गरेन । खुर्पा झिक्यो । यो देखेर छोरो खुर्र दौडेर पल्लो घरतिर जाँदै थियो। दौडिरहेको मोटरसाइकलमा ठोक्कियो । बाबु आत्तिदै गए। उसले छोरालाई समायो। उत ललाङ्लुलुङ भैसकेको रहेछ । बाबा रुन थाले। ढुकुरहरूले पनि यो दृश्य हेरिरहेका थिए। उनीहरूले रुँदै चक्कर मारे अनि मनवीरेको बाबाको छेउमा बसेर भने– ‘मनवीरेको निधनमा हामी दुखी छौ। हाम्रो तर्फबाट उसलाई हार्दिक श्रद्धाञ्जली। आखिर तपाईको सन्तान हो नि। हजुरलाई पनि यो पीडा सहन गर्ने शक्ति मिलोस् ।’

प्रकाशित: ९ असार २०७८ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App