१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अब त खाँदै खान्न

झिसमिसमै आँखा उघ्रियो उही काम उही धन्दाको चटारो आँखा मिच्दै बाथरुम छिरे। छ्यापछ्याप  मुख धोएँ ओहो हिजोको ह्याङओभर त अझै उत्रिसकेको रहेनछ । फ्रिजबाट आईस निकालेर मजाले एकछिन मुखमा रगडेँ अनि ब्रस गरेँ अलिक सहज महसुस भयो।  किचनमा पसेर लेमन जुस बनाएर पिउन थालेँ। शरीरलाई थोरै राहत महसुस भयो। ओहो घरको कामको चटारो एकातिर रातभरिका अनिदा आँखा अनि  अफिसका लागि भएको हतार यी सबै तनावले एकपटक फेरि बेसरी टाउको चड्कियो काम गर्नै  जोश – जाँगर नै हरायो। 

हिजो रातभर सुतेकै थिएन। आज काम कसरी गर्नु मनलाई भारी बनाउँदै अनेक कुरा खेलाउँदै ठस्स गन्हाउने मुख लिएर पूजाकोठा छिरेँ। मन नलागी–नलागी दुई जोर बत्ती र धुप सल्काएर भगवानलाई सम्झिदै बालेँ। आज ध्यान गर्नै मोड नै थिएन सरक्क निस्किएर किचनमा गएँ। मनमा अनेक तरहका कुरा खेल्दै थियो। यो नशा लागेर नउत्रीकनै भगवानलाई स्मरण गर भनेर चैँ नशा लागेको बेला कहाँबाट बुद्धि आउँछ होला अचम्म लाग्दो कुरा । हामी कस्तो भ्रममा बाँचेका छौँ एकैछिन एकलै मुसुमुसु हाँसेँ।

रातभरि प्याकमाथि प्याक थप्दै एउटा हातमा सेकुवा अनि अर्काै हातले गिलास च्याप्दै अरूलाई तथानाम गाली गर्ने अनि म मात्रै राम्रो छु दुनियाँसारा बेकार भन्ने सोच बिहानीको झिसमिसेसँगै एकैपटक कता बिलाई जान्छ होला। ओहो बडो अचम्मको कुरा रातभरको नशा उत्रिन नपाउँदै बिहान उठेर भगवानसामु एक अनजान बन्दै कसरी प्रस्तुत हुन सक्छ यो मान्छेको जात । सोच्दासोच्दै दाल तरकारी त पकाइसकेछु। खाना बसालेँ अनि घर सरसफाइ गरेर अफिसका लागि तयार हुन थालेँ। अफिस जानै मन छैन । एकछिन त आफैँसँग झोक पनि चल्यो बेकार खाएछु अब त कैले पनि खाँदिन न शरीरलाई सहज हुने न काममा जाँगर चल्ने। खाएको दुई–चार दिनसम्म त वास्ता पनि लाग्दैन जब हप्ता दिन नाघ्न थाल्छ अनि फेरि खाउँखाउँ लागिहाल्ने। मान्छेको मन पनि आफ्नो बसमा नहुने मिनेटमै परिवर्तन भैहाल्ने  कति अचम्मको।

 घरको काम सिध्याएर अफिसतिर लागेँ। आज अफिसको माहोल भिन्नै थियो । सबैको मुड खराब ‘हे भगवान् आजै किन सबै जनाको मुड खराब हुनुपरेको होला ।’ मनमनै एकदमै मुर्मुरिएँ अनि अफिसको माहोललाई सम्हाल्दै दिनलाई जसोतसो कटाएँ साँझ घर गए घरमा कोही पनि थिएन। भान्सामा छिरेँ। बिहानकै खाना बाँकी रैछ।  त्यही तताएर मस्त खाएँ। टाउको अझै पनि राम्रोसँग निको भएको थिएन। हिजोको ह्याङओभर उर्तानलाई फेरि एकप्याक लगाएँ। यो अन्धविश्वासले दिमागमा जरा गडेको थियो जहरलाई जहरले नै काट्छ भनेर। 

त्यही झोकमा एकपटक मुख बिगार्दै फेरि घुट्क्याँए अनि दिनभरिको काम र साँझको सराबको नशाले लठ्ठ परेको शरीर लिएर ओछेयानमा पल्टिएँ। हिजो रातिदेखि आज दिनभरिको सबै क्रियाकलापहरूलाई एकपटक सरसरती सम्झिएँ । अनि आफैँसंग रिस उठेर आयो थुक्क अब त कैले पनि खान्न भन्ने सोच्दै थिएँ भुसुक्कै निदाएछु।

प्रकाशित: ८ असार २०७८ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App