१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

समयको महत्व

प्रेरक प्रसङ्ग

लक्ष्मण श्रेष्ठ

 

सबै मानिसले समयलाई समान महत्व दिएको हुन्न । कसैले समयको सदुपयोग गर्दछन् भने कसैले फाल्तु काममा समयको दुरुपयोग गर्दछन्। कसैले समयको महत्व बुझेका हुन्छन्, कसैले बुझ्दैनन्। समयको कदमलाई छलेर छल्न सकिन्न। आफ्नो कदम अनुकूल बनाउन समयलाई बुझ्नुपर्दछ । पैसा र समय गलत ठाउँमा लगाउनुभयो भने कहिल्यै पनि प्रगतिपथमा वढ्न सकिन्न। आज तपाईंसँग समय, शक्ति र सामथ्र्य छ तर त्यो भोलि तपाईंसँग हुन्न । भोलि तपाईसँग न समय हुनेछ, न जवानी, न सामथ्र्य वा न पैसा ।  आजको समयलाई सही ठाउँमा लगानी गर्नु पर्दछ, भोलि समयको साँवा सहित व्याज पनि प्राप्त गर्न सकियोस् र समयको विकासका साथै तपाईंलाई मुनाफा पनि प्राप्त होस्। अहिलेको महत्वपूर्ण समय मोवाइल, ल्यापटप जस्ता ग्याजेटमा, विभिन्न गेममा र फेसबुक स्क्रोल गरी वा युट्युबमा झुन्डिएर समयको वास्ता गरिएन भने टिकटकमा भुलियो भने त्यसले भोलि क्षति मात्र दिन सक्छ। सफलताको कदम दोब्बर बनाउन समयलाई बुझ्नु पर्दछ । आजको यो समयलाई जोगाएर भविष्यमा प्रयोग गर्न सकिन्न। तसर्थ समयलाई सही ठाउँँमा लगानी गर्नु पर्दछ ताकि व्यक्ति, समाज र सभ्यताको विकासमा तपाईको योगदान धेर थोर सबै बेलामा पुगोस ।  

एक पटक एकजना विद्यार्थी आफूलाई अध्ययनमा आवश्यक पर्ने पुस्तक किन्न गए । उसलाई विश्व इतिहासको पुस्तक चाहिएको थियो। उसले सो पुस्तक खोज्न धेरै दुःख गरे । विभिन्न पुस्तक पसलमा पुगे। आसपासमा भएका सबै पसलमा पुस्तक खोजे। पुस्तक खोज्दा – खोज्दा उनी पुस्तक खोज्न छोड्ने मनसायमा पुगे । किनभने उनले धेरै पुस्तक पसलमा धेरै ठूलोे एरियामा आफूलाई चाहिने पुस्तक खोजि सकेका थिए  तर पाउन सकेनन् । उनलाई एकातिर पुस्तक नपाएको झोक थियो भने अर्कोतिर थकानले हैरान र लखतरान भएका थिए । उनी वीच बाटोमा एकछिन आराम गरेर बसे । एक्कासि उनको आँखा आफू बसेको सामुन्नेमा रहेको पुस्तक पसलमा पर्यो । उनले यो पुस्तक पसल अन्य पुस्तक पसलभन्दा अलि भिन्दै र फरक खालको देखे। अब यहींनेर पुस्तक पसल छ भने अन्तिम पल्ट कोसिस गरी हेरम न त भनेर त्यो पुस्तक पसलमा गए ।

 आखिरमा उसले आफूले लामो समय लगाएर सयौं पसलमा नपाएको उक्त विश्व इतिहासको पुस्तक भेटाए । पुस्तक लिएपछि काउन्टरमा बसेको मानिससँग उसले पुस्तकको मोल सोधे । काउन्टर क्लर्कले उक्त पुस्तकको मूल्य पचास सेन्ट भएको बताए । उनलाई त्यो पुस्तकको मूल्य अलि महँगो लाग्यो । उसले त्यो पुस्तकको मोल अलिकलि कम गरी ४८ सेन्ट गरिदिन अनुरोध गरे तर काउटरमा बस्ने क्लर्कले सो कुरा मानेनन् । पटकपटक अनुरोध गर्दा पनि उसले त्यो पुस्तक कम मूल्यमा नपाउने भयो । त्यसपछि उसले पसलेलाई त्यो पसलको मालिक वा साहूजीलाई बोलाइदिन कर गरे । पसलेले मालिकलाई बोलाउन नसकिने कुरा गर्यो तर धेरै करकर गरेकाले साहूजीलाई बोलाउन उसलाई करै लाग्यो । काउन्टर बोइले मालिकलाई बोलाइदियो । धेरै जोडबल र जबर्जस्ती गरेपछि मात्र त्यो मानिसले पुस्तक पसलको  मालिकलाई बोलाइदियो ।

 मालिक आएपछि उसले भन्यो सुन्नुहोस् त यो पुस्तकको मूल्य कति होला,  तपाईंको काउन्टरमा बस्ने काउन्टर बोइलाई ५० सेन्ट पुस्तकलाई २ सेन्ट कम गरी ४८ सेन्ट गर्नुहोस् न भनेको मान्नु भएन अलिकति मिलाएर यो पुस्तकको मूल्य कति तिर्नुपर्ने हो थोरै छुट गरेर भनिदिनुस् न भन्यो । पसलको मालिकले सो पुस्तकको मूल्य ६० सेन्ट पर्छ भनेपछि त्यो विद्यार्थी झनै अवाक् भयो । भर्खरै तपाईको कामदारले ५० सेन्ट भनेको थियो, तपाई त पसलको साहूजी हो अलिक मूल्य कम गरिदिनुहुन्छ भनेर पो हजुरलाई अनुरोध गरेको त भनेर उसले बतायो। पुस्तकको मोल तपाईंले अलिकति भए पनि कम गरिदिनु होला भनेको त पुस्तकको मूल्य थपेर झन् किन ६० सेन्छ पुरयाउनुभयो भनी प्रश्न गरे । 

तपाईको कामदारले ५० सेन्ट भनेकाले तपाईले कम गरिदिनुहुन्छ भनेर पो अनुरोध गरेको भनेर उसले आफ्नो कुरा दोह्रायो । त्यसपछि ती किताब पसलका मालिकले  उत्तर दिंदै भने ५० सेन्ट पुस्तकको मोल हो अनि १० सेन्ट मेरो समयको मूल्य हो । तपाईंले जति अबेला गर्नुहुन्छ, जति मेरो समय लिनुहुन्छ जति ढिला गर्नुहुन्छ, यसको मूल्य त्यति नै बढेर उक्त रकम यसै पुस्तकमा थपिएर जान्छ भनेर प्रष्ट पारिदिए । त्यसपछि उक्त विद्यार्थीले बाध्य भएर साहूजीले भने बमोजिमको ६० सेन्ट तिरेर उक्त पुस्तक किने । समयको महत्व र मूल्य बताउने पसलका मालिक थिए बेन्जामिन फ्रेंकलिन । जो पछि गएर अमेरिकाका प्रख्यात आविष्कारक, राजनीतिज्ञ तथा दार्शनिक बने।

आलस्यमा समय बिताउनु भनेको जिन्दगी बरबाद पार्नु हो, उमेर जानु हो र काल कुर्नु हो । आजको काम भोलि भनेर टाल्नु भनेको तपाईले आफ्नो कामलाई टालेको होइन, आफ्नो भाग्य टालेको हो। यो संसारमा त्यो धनी मानिस कोही छैन, जसले आफ्नो बितेको समय खरिद गर्न सकोस् र संसारमा त्यो गरिब मानिस कोही छैन, जसले आफ्नो भाग्य बदल्न नसकोस् ।  

प्रकाशित: ८ असार २०७८ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App