१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कायाकैरन

लघुकथा

खेमराज पोखरेल

 

१) जन्मदिन  

हिजो थियो मेरो पैंसट्ठीऔं जन्म दिन। रातको १२ बजे एकाएक परिवारले मलाई निद्राबाट उठाए। आँखा मिच्दै उठेँ ।

टेबुलमा गजधम्मे केक थियो। बेलुनले कोठा सजिएको थियो । छोराछोरी पनि भेला भएका थिए। नाति र नातिनी पनि ताउरमाउर गर्दै थिए। बूढीको पनि फूर्तिफार्ती थियो । मलाई सोफामा बसाए र चुच्चे टोपी लगाइदिए । र सबै एकसाथ चिच्याए– ‘ह्याप्पी बर्थडे बुवा ।’ परिवारका सबैले केही न केही उपहार दिन थाले। 

 म छक्क परेर हेर्न थालेँ । सम्झन थालेँ कि कहिले पनि कुनै उपलब्धिमूलक क्षण मनाएको छैन। ६४ वटा जन्मदिन सुलुत्त चिप्लेछन् जीवनबाट तर  आफूले  भने आफ्नो बर्तमन भोज र बिहे भोज अनि बुवाआमाको श्राद्ध र घरमा कहिलेकाहीँ लाग्ने रुद्री पूजाबाहेक त्यस्तो केही मनाएको थाहा छैन । मलाई अलिकति लाज पनि लागेको थियो। अलिकति त किन यो फजुल खर्च गरे छोराछोरीले भन्ने पनि लागेको थियो । किनकि खर्चको जोहो किन्दै सकिएको थियो आफ्नो जीवन । र पनि मैले भनें–  ‘जिन्दगीमा पहिलोपल्ट यस्तो तामझाम गर्नुपर्यो । नत्र त कहिले आयो कहिले गयो जन्मदिन पत्तै भएन। यो फजुल खर्च नगरेको भए हुन्थ्यो तिमी केटाकेटीहरूले ।’

जेठी नातिनीले भनी–जीवनमा सबै कुरा एकपल्ट मात्र हुन्छ बाबा। पहिलोपल्ट जन्मिएपछि फेरि जन्मनु पर्दैन। एकपल्ट मरेपछि फेरि मर्नु पर्दैन ।  कुरो रह्यो, त्यो क्षण रोएर मान्ने कि हाँसेर मान्ने भन्ने कुरा। सुखदुःख नियति हो बाबा। त्यो आफ्ना बसमा छैन । पैसा कमाउँदैमा सुख कमाइन्छ भन्ने पनि होइन । बसमा भएको तपाईँ हाम्रो आफ्नो जीवनका महत्वपूर्ण क्षणहरूलार्ई किन मेमोरेबल नबनाउने बाबा ?

अनि मैले मुख नबाई मनमनै भनेँ–‘जीवनमा एकपल्ट मात्र जन्मेर र एकपल्ट मात्र मरेर हामीले कहाँ धर पायौँ र नातिनी ?’

    २) किचकिचे

१५ वर्ष पहिले बुहारीलाई डिभी परेको थियो । छोराबुहारी अमेरिका भासिएका थिए । नातिनातिनी भएका थिएनन् ।  

मेरी बुढी छोरा बुहारीलाई साइबरमा गएर कानमा गुजुल्टो लगाएर भन्दै हुन्थी–‘नातिनातिनी पाओ न भन्या । बुढा भइसक्यौ। सन्तानसुख चाहियो नि हामीलाई पनि। साउँकोभन्दा ब्याजको माया भन्छन्।’  

उताबाट जवाफ आउँदै हुन्थ्यो– ‘खोई सेटल्ड भएकै छैन, हजुरहरू आउनु अनि पाउने ।’

आफ्नो दैवले नचुँडेको सन्तानमा त्यत्ति एउटा थियो । हामी जोईपोइ ग्रिनकार्ड पाएर अमेरिका गयौँ। अहाहा अग्ला बिल्डिङ, चाक्ला सडक, कमिलाका ताँतसरी गाडीहरू। टाँडे सडक । झिलिमिली बत्ती। सुग्घर सफा। खानेकुरा त कति हो कति, भनेरै साध्य नहुने। नेपालीहरूले पनि आफ्नै समाज बनाएर बसेका। रमाइलो थियो । लाग्दथ्यो, पूरै नेपाल खर्लप्प पल्टेको छ ।  

अब नातिनी जन्मी। हामी नातिनीसँग दिन बहलाउन थाल्यौँ । रमाउन थाल्यौँ । नेपाली समाजले नेपाली संस्कृति, भाषा, भेषको रक्षा गर्न धेरै मेहनत गरेको छ । बिदामा, शनिबार आइतबार स्कुल चलाएको छ। त्यसैले हाम्री नातिनीले नेपाली भाषा लेख्न बोल्न सिकेकी छे। 

मेरो र मेरी बुढीको जहिले पनि ठाकठुक परिरहन्छ । फेरि मिलिहाल्छौँ। त्यसैगरी छोराबुहारी पनि ठट्याङठुटुङ गरिरहन्छन् र फेरि मिलिहाल्छन् । एकदिन म बूढीसँग ठूलो ठूलो स्वरले कराइरहेको थिएँ। छिमेकी आइपुगे र मेरी १२ वर्षे नातिनीलाई जिस्क्याए–‘यी नानीलाई त अब एउटा नेपाली खोजेर बिहे गरिदिनुपर्छ।’

यो कुरो सुन्नेबित्तिकै नातिनीले भनिन्– ‘नेपालीहरू किचकिचे हुन्छन् । हाम्रो बाबा र आमाको हेर्नु न । जहिले पनि किचकिच–किचकिच। आमाले त केही गर्नै नहुने । केही भन्नै नहुने । खलक्कै खाने। भो बाबा, म त बिहे गोरासँग नै गर्ने हो, आफ्नो जिन्दगी बाँच्न त पाइन्छ ।’

३) कायाकैरन

धामी बक्दै थियो । कायाकैरन ल्याउँदै थियो–‘हेर, हेर, हेर डाङ्ग्रे ग्रहले छोपेछ । कहिले पूर्व दुख्छ, कहिले पश्चिम दुख्छ । कहिले उत्तर दुख्छ, कहिले दक्षिण दुख्छ । हो कि होइन भन्’

धुपौरेहरू कोइलामा धुप हाल्दै सही थाप्दै थिए– ‘हो प्रभु हो, सतोसत हो ।’

ढ्याङ्ग्रो बजाउने बेसरी बजाइरहेका थिए।

धामी फेरि कैरन ल्याउन थाल्यो– ‘उतिबेला संघीयता नभई हुन्न भन्यौ, हो कि होइन मनुवा भन्, छिटो भन् मनुवा’

‘हो प्रभु, हाम्रो गल्ती भो । अहिले बोकाको मुखमा कुभिन्डो भो प्रभु । धान्न नसकिने भो प्रभु ।’

‘हेर्–हेर् डाङ्ग्रे, आफ्नै खोरमा बाख्रा पाल् मनुवा ?’

त्यहाँ उपस्थित जनता दर्शक योपल्ट बोले–‘घरमा बाख्रा पाल्न पनि रोक लगाइएको छ प्रभु । करको बोझ थेग्न नसकिने भो प्रभु । हावामा रेल पनि नकुद्दो रहेछ प्रभु ।’  

धामी झन जोड्ले डुक्य्रो –‘के गर्छौ त मुनुवा, संघीयता झिकिदिऊँ? हेरहेर मनुवा, भन् छिटो भन् ।’

धुपौरेहरू चिच्याए– ‘हुन्नहुन्न प्रभु, यी जनता जे पनि भन्छन् । जे पनि माग्छन् । त्यसै गणेशमानले भाते जनता भनेका होइनन् नि प्रभु । हाम्रो त उठीवास हुन्छ प्रभु ?’

धामी झन् जोडले बक्यो–

‘निक्खर कालो रङ्गको भाले भोग दे मनुवा, ग्रहदशा भाग्छ, हेर हेर हेर मनुवा ।’

धुपौरेहरूले सक्कली सतीसालको धूप फेरि कोइलामा हाले र भने– ‘हस् प्रभु, यो संघीयता पनि हजुरकै कृपा हो। संघीयता थेग्ने निक्खर कालो भाले पनि उतैबाट पठाइदेऊ प्रभु । प्रभुको जय होस् ।’

४) भातैको कुरो  

साथी शून्यजंग खानदानी छ । र पनि मैजस्तै डुकु छ। डुकु छ र त ऊ मेरो साथी छ । ऊ मेरो घर आइरहन्थ्यो। म पनि उसको घर गइरहन्थेँ । ऊ हिङ नभए पनि टालो सुँघेर खान्दानको धङ्धङी बोक्थ्यो ।  

एकदिन उसले मलाई घर लिएर गयो । मसँग जग्गु पनि थियो । मैले जग्गुलाई सम्झाएको थिएँ– ‘तँ प्याच्च बोल्छस् । आज नबोल्नु है।’  

उसले ‘हुन्छ’मा मुन्टो हल्लाएको थियो।  

बैठक भित्तामा लहरै झुन्ड्याइएका चाँदीका फ्रेम हालेकाअहिले बोल्लान्जस्ता तस्वीरहरू थिए।  

साथी शुन्यजंगले बयान गर्न थाल्यो–‘हेरि यो तस्वीर मेरा जिजुबाजे सम्पूर्णजंगको हो । जंगबहादुरको दरवारमा मीर मुन्सी होइसिन्थ्यो रे । त्यसैले हामी लामिछाने छेत्री भए पनि जंग उपाधि पाएका रे । यो लगाएको टोपी जंगबहादुर आफैँले उपहार दिएको रे। यो सबै सृष्टि उहाँकै हो। लम्जुङबाट झिकाएको राते धानको चामलको भुजा मात्र खाइसिन्थ्यो रे।’

‘यहाँ हेर त यो तस्वीर मेरा हजुरबा अर्धजंगको हो । चन्द्रनहर खन्दा इन्चार्ज होइसिन्थ्यो रे । यो हिराको लकेट चन्द्र शमशेरले बेलायतबाट ल्याइदिएका रे। उहाँले आफ्ना पिताले अंश दिएको सम्पत्ति जस्ताको त्यस्तै साँचिस्यो । त्यो बेला पनि जुम्ला सिँजाबाट मार्सी धान ल्याएर भुजा खाइसिन्थ्यो रे ।’

‘यी हेर त यो मेरा पिता एकजंगको तस्वीर हो । सप्तरीबाट करिया कामतको चामल ल्याएर भात खानुहुन्थ्यो रे। पद्म शमशेरको विश्वासिलो हुनुहुन्थ्यो। क्षेत्रपाटीको १० रोपनी जग्गा बेचेर पद्म शमशेरसँगै राँची गइसिएको रे । एउटा गुँड च्यापेर ।’

‘तर हामी, हेँ हेँ हेँ ।’

म साथीको कुरामा ‘होमा हो’ मिलाउँदै थिएँ ।  

एकाएक जग्गुले उसलाई सोध्यो– ‘नाम राख्ने केही स्थायी काम पनि त गर्नु भएको होला ?’

साथीको बोल्ने ठाउँ नै थिएन ।  

ब्रु जग्गु एकाएक बोल्यो– ‘जाऊँ यार ? आखिर भातैको कुरो त रहेछ नि ।’

५) परमयात्रा  

मेरी स्वर्गबासी पत्नीको पन्ध्रौँ श्राद्ध गर्दै छ छोरो । उनको सम्झनामा एकतमासको भएँछु । एउटा काग मेरै घरअगाडिको गुवालीको धुरीमा बस्यो । मैले कागलाई नियालेर हेरिरहेँ । एकाग्र भएँ छु । वशीभूत भएँछु ।  हेर्दाहेर्दै कागले मेरी स्वर्गवासी पत्नीको रूप धारण गर्यो र उनकै आवाजमा बोल्न थाल्यो–  

‘सन्चै हुनुहुन्छ ?’

‘सन्चै छु ।’

‘केके गर्दै हुनुहुन्छ ?’

मैले उत्तर दिन थालेँ–

‘पोहोर साल मुक्तिनाथ गएँ । तिम्रो मुक्तिको कामना गरेँ ।’

‘अनि .....?’

‘जीवनको यात्रा सजिलो होस् भनेर कान्छो छोरोलाई व्यवसाय सिकाउँदै छु।’

‘अनि .....?’

‘लगानी लाइरहेको छु । उठाइरहेको छु ।’

‘अनि .....?’

‘कान्छी छोरीको बिहे गरिदिएँ, जीवनयात्रा सुरू गरेकी छे।’

‘अनि .....?’

‘तिम्रो नाममा सप्ताह लाउन बाँकी नै छ।’

‘अनि .....?’

‘तिमी बितेपछि अर्की बिहे गरेँ । त्यो गुँडमा पनि भुराभुरी छन् । गर्नै पर्यो, तिम्रै पनि केटाकेटी स्याहार जो गर्नु थियो ।’  

‘सँगै जुनीजुनी बाँच्ने सँगै मर्ने बाचा थियो हगि हाम्रो ?’

‘हो नि । तिम्रै यादमा जीवन गुजार्दै छु, प्रिय।’

‘तपाईँ पहिले भएको भए, मैले अर्को बिहे गर्नुहुन्थ्यो ? आखिर केटाकेटी सानै थिए ।’ काग बोल्यो।

‘अँम्म....’ म के भनूँ के भनूँ भएको थिएँ।  

कागले त पखेटा फ्याटफ्याट गर्यो । भुर्र उड्दै गर्दा भन्यो–‘किन झुट्टा बाचाहरू गर्छन् मान्छे ? आखिर अरूझैँ सबै आफन्त पनि मलामी नै त थिए । परमयात्रामा त म एक्लै थिएँ ।’ 

   ( ‘ ईश्वरको मृत्यु’  लघुकथा सङ्ग्रहमा सङ्गृहीत !)

प्रकाशित: ६ असार २०७८ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App