डा. घनश्याम न्यौपाने परिश्रमी
१)
छाडेर गाउँबस्ती निस्केँ म जब सफरमा,
गन्तव्यविन्दु खोज्दै आखिर पुगेँ शहरमा।
पृथ्वी छ गोल भन्छन् भूगोलशास्त्र पढ्ने,
चेप्टो छ जस्तो लाग्यो तर यो मेरा नजरमा।
संस्कार फेरिँदै छन्, आकार बद्लिँदै छन्,
नवसभ्यता पसेको देखिन्छ गाउँघरमा।
उल्टो भएछ नतिजा पक्कै यथार्थ बुझ्दा,
मैले जितेर हारेँ भन्दै छ ऊ समरमा।
एक्लै नहिँड्नु भन्ने आदेश आउँदै छ,
छर्नेहरू यहाँ छन् सन्त्रास हर डगरमा।
बाढी प्रकोपका छन्, छन् युद्धका वृतान्त,
पाइन्न सुन्न खासै राम्रा कुरा खबरमा।
भाषण गरे मजाले झगडाविरुद्ध जसले,
बेमेल रैछ उनकै परिवार बीच घरमा।
(अर्कान—२२१. २१२२—२२१. २१२२)
२)
म नेपालको सानको गीत गाऊँ,
सधैँ राष्ट्रको वन्दना गुनगुनाऊँ।
मलाई कुनै स्वर्ग चाहिन्न अर्को,
गरी कर्म नेपालमै मर्न पाऊँ।
प्रतिज्ञा गरेको छु मालिक नबन्ने,
म सेवक हुँ सेवा गरेरै रमाऊँ।
सुधातुल्य मानिन्छ आफ्नो कमाइ,
म आफै गरूँ श्रम, कमाएर खाऊँ।
छ तिर्खाएजस्तो धरा उर्वरा यो,
बगाएर पसिना म माटो भिजाऊँ।
जहाँ नाङ्गिएका पखेराहरू छन्,
म पोखूँ त्यहाँ सीप हरियो गराऊँ।
म सन्तान तिम्रै हु नेपाल आमा,
पुजूँ शुद्ध मनले सधैँ शिर झुकाऊँ।
(अर्कान—१२२.१२२— १२२.१२२)
३)
जोजो मेरो नजिकमा देखिएका छन्,
तिनैले झन् बढी पीडा दिएका छन्।
कहाँ मान्छन् यहाँ मालिकहरू कानुन,
श्रमिक मात्रै नियमले बाँधिएका छन्।
छ ऐलानी छिटै दर्ता हुने सुरमा,
सुकुम्बासी भनेका खेदिएका छन्।
तिमी नाङ्गै घुम्यौ चर्चा निकै पायौ,
उनी शालीनतामा नाङ्गिएका छन् ।
नताक्नू माथिका फलफूल सानाले,
ठुलाका लागि हुन् ती बाँडिएका छन् ।
यहाँको उर्वरा माटो छ बाँझो नै,
भएका सीप, जाँगर बेचिएका छन्।
म चाहन्थेँ सुरक्षा गर्न खेतीको,
झनै बाँदरहरू पो पल्किएका छन्।
जजसले सम्झिनै पर्ने थियो बिर्से,
नसम्झे पनि हुनेले सम्झिएका छन् ।
निरसतालाई कसले दुःख दिन्छन् र,
छ रस जसमा तिनै चिज पेलिएका छन् ।
( अर्कान—१२२२.१२२२.१२२२)
४)
छ ऊर्जा पाउँदै यो जिन्दगानीले,
नदी भेट्ने लिए झैँ लक्ष्य पानीले।
उस्तै रातिको जस्तै अवस्था यो,
दियो के खै, उदाएको बिहानीले।
भनेका छन् विकेन्द्रीकृत भयो शासन,
चलाएकै छ सत्ता राजधानीले।
अरू पुर्जा त्यसै देखाउँछन् फुर्ती,
छ धानेको सबै भारी कमानीले।
मलाई प्रेमको तातो दियो मात्रै,
उनीलाई बिगा¥यो रे, जवानीले।
कसैलाई छु सम्झेको र च्यापेका,
कुरा मनको कहाँ बुझ्ला सिरानीले।
हिँडेका छौ तिमी गन्तव्य खोजीमा,
हुने नै हो कतै दर्ता चलानीले।
( अर्कान—१२२२.१२२२.१२२२)
५)
तिम्रा मेरा दुरुस्तै मिल्ने रहरहरू छन्,
गन्तव्य एउटै हो भिन्नै सफरहरू छन्।
हुनु सावधान साथी, छिर्लान् चुहेर शब्द,
अग्लो महल छ भित्तामा छिद्र चरहरू छन् ।
पुतली र माहुरीले मात्रै कुसुम चुमेनन्,
सौन्दर्य लुट्न पस्ने काला भ्रमरहरू छन्।
बग्छन् नदी निरन्तर गन्तव्य भेट्नलाई,
हेर्दै कठै! बसेका सुख्खा बगरहरू छन्।
पीडा र वेदना हुन् मेरा घनिष्ठ साथी,
यो जिन्दगी सपार्ने यिनकै असरहरू छन्।
छैनन् थकाइ मार्ने बटुवा कि गाउँघरमा,
तर लाँकुरी समी छन्, पीपल र बरहरू छन् ।
सन्त्रासमा छ जीवन, सङ्कट छ फैलिएको,
सुन्दै छु मृत्युका नै ज्यादा खबरहरू छन्।
(अर्कान—२२१. २१२२—२२१. २१२२)
(‘निभेका शिखा’ गजल सङ्ग्रहमा सङ्गृहीत !)
प्रकाशित: ३ असार २०७८ ०७:०३ बिहीबार

