प्रभा भट्टराई
मैले इँट्टा बोकेको हेरिबस्छौ मालिक,
चिन्नै पनि गाह्रो भो, मान्छे हौ कि सालिक !
बा–आमाको काखैमा हाँस्ने खेल्ने बेलामा
बाध्यताले पारेछ मलाई तिम्रो जेलमा !
मेरा साना खुट्टामा कोर्रा हान्छौ मालिक,
चिन्नै पनि गाह्रो भो, मान्छे हौ कि सालिक !
कापीकलम् किताब बोक्नुपर्ने हात यो,
कुन्नि केके बोकायौ ?किन ग¥यौ घात यो ?
बालकको पसिनामा पौडी खेल्छौ मालिक,
चिन्नै पनि गाह्रो भो, मान्छे हौ कि सालिक?
हाम्रा पनि इच्छा छन्, रमाइलो भोलि होस्,
शिर सधैँ ठाडो होस्, स्वाभिमानी बोली होस् !
पैतालाले शिर यो किन थिच्छौ मालिक?
चिन्नै पनि गाह्रो भो, मान्छे हौ कि सालिक?
प्रकाशित: ३० जेष्ठ २०७८ १०:४७ आइतबार