१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

जामुनको रुख

लघुकथा

इन्दिरा गौतम  

                             

 म भित्री गाउँको बाटो हुँदै साथी सरलाको घरमा पुगें। धेरै दिन भेटघाट नहुँदा  ऊ कुदेर भेट गर्न आउँथी। नभए समय मिलाएर म आफैं जान्थे। सँगै बसेर चिया पिउँदै रमाइला गफगाफ हुन्थे।

हाम्रो कुनै पारिवारिक साइनो थिएन। हाम्रो बाबा भन्दा सानो भएकाले काकाकाकी भन्ने गर्थें। काकी बाहिर चामल केलाउँदै र काका दाउरा चिर्ने कामदारसँग हुनुन्थ्यो। मेरा मुखबाट फुत्त  निस्किहाल्यो, ‘शुभकर्म आए जस्तो छ , काकाकाकीलाई भ्याईनभ्याई रहेछ।’

सधैं ठट्टा गर्ने काका केही बोल्नु भएन। काकीले मन दुखाएर भन्नुभयो, ‘जस्ता तस्तालाई आँखा नलाएपछि, हाम्रो जस्तो घरमा  भनेजस्तो को पो कुटुम्ब आउला र !

काकीले दुखेसो पोख्नुभयो। सरलाले बारम्बार आएका बिहेका प्रस्ताव नाकस गरेको कुरामा दुवै दुखी हुनुहुन्छ भन्ने थाहा भयो।

मैले बिचमा कुरा काटें, –सरला खै त ? 

– भित्रै होली।  

म भित्र पसेको देखेर ऊ तर्सिएर हेरी। होस हराएझैँ कालीनिली भई। उसको एकान्त भङ्ग भएछ। उसका आँखामा विषादका रेखाहरू झल्किरहेका थिए। त्यो लुकाउने प्रयास गर्दै मृदु मुस्कानमा मलाई हेरी। तर , उसले मसँग कुनै त्यस्ता कुरा गरिन। ऊ स्वाभाविक बनी। मैले पनि सोधिहालेँ, फेरि कताबाट कुरा चल्यो? तैँले नाकस गरिस् अरे दुखमनाउ गर्दै हुनुहुन्थ्यो। उसले त्यो कुरालाई गम्भीर रूपमा लिइन। साधारण पाराले भनी, ‘त्यस्ता आउँदै गर्छन्, जाँदै गर्छन्।’

मैले सोझै भने, ‘आमाबाबाको कुरा पनि मान्नुपर्छ।’

भोलिपल्ट बिहान पँधेरामा  खल्लीबल्ली हुँदै थियो। सरला ..,खासखुस गरे। मैले दोबारा सोधिन् तर हिजो राति नै देखि घरमा छैन भन्ने हल्ला चलेको रहेछ।

मेरो मनमा एकचोटि डर, शंकाले घेरो। कतै आत्महत्याको प्रयास त गरिन? कहिलेकाहीँ भन्थी– सारै दुख आइपरे, तँ र मसँगै ऊ त्यो जामुनको रुखमा झुन्डिएर मरूँला, हुन्न।

कहाँ गई होला? ओछ्यानमा कपडाको ब्याग बर्कोले छोपेको थियो। उसको घरमा तनाव थियो। मैले मनमनै सोचें कि के सरला यति ठूलो डिसिजन एक्लै गर्न कसरी सक्छे र। मन परिवर्तन पनि हुन सक्छ ग्रह बिग्रेको बेला।  

मनले मानेन। उसको आमा–बाबाको मनमा कति पीर परेको होला। ऊ त अन्धी भई। यसो काका–काकीलाई सान्त्वना दिनुपर्यो भन्दै निस्कें धेरै साहस गरी पहिला घरपछाडि तिरको बारीको जामुनको रुखमा हेरेँ अनि पछाडिको दैलोबाट भित्र पसेँ। आँगनैभरि मानिसहरू रहेछन्।

भित्र तिनै पँधेर्नीहरू खलबली गर्दै थिए । कोही जिस्क्याइरहेका थिए भने कोही उसलाई सम्झाइबुझाइ गर्दै थिए। सरला बेहुलीको घुम्टोमा बसेकी थिई। पल्लो गाउँको शिव मन्दिरमा बिहे गर्दागर्दै खोज्न जानेहरूले भेटेका रहेछन्।

उसको छेउमा बसेको बेहुलो मसँग सात–सात जन्मसम्म सँगै मर्ने र बाँच्ने कसम खाने हल्दारबाको छोरो पो रहेछ। 

एउटा निष्ठुर प्रहारले घाइते भएको मुटु लिएर म आँधीपछिको सन्नाटाझैं अवाक् बनें । मेरी सभ्य र प्रिय साथी आँखाअघि आज मेरै प्रेमीको मुटुमा प्रेयसी बनी सुटुक्कै बसिछ। काकाकाकीलाई दिने सान्त्वनाको पुरस्कार आफैँलाई प्रदान गरेँ।

प्रकाशित: २९ जेष्ठ २०७८ १२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App