११ असार २०७८ शुक्रबार
कला

‘झरीको किरण’का ईन्द्रेणीमा डायस्पोरिक चेत

समीक्षा

खेमराज पोखरेल  

 

संयोग

म अमेरिकाको न्यूयोर्कतिर पाहुना लाग्ने उपक्रममा थिएँ । एउटा सुसंयोग, अनेसास न्युयोर्क च्याप्टरले प्रकाशन गरेको तथा ज्याक्सन हाइटमा आयोजना गरेको जानुका वस्ती ढकालको कवितासङ्ग्रह ‘झरीको किरण’ को विमोचन कार्यक्रममा भाग लिने अवसर पाएको थिएँ। यसलार्इ नियमित आकस्मिकताको संयोग भन्न सकिन्छ । सन् २०२१ को मे २९ तारिकको दिन थियो त्यो । हो यही संयोगका कारणले मैले उक्त कवितासङ्ग्रह पाएँ । पढेँ  र केही पाठकीय प्रतिक्रिया लेख्ने जिजीविषा राखेको छु।

कलेवर

 

कवितासङ्ग्रह ‘झरीको किरण’को कभरको अग्र भागमा ईन्द्रेणी रङमुन्तिर पहाड तथा झरीको अवस्था बुझाउने विषयवस्तुमा वरिष्ठ कलाकार रमेश पौडेलको सुन्दर कलाकारिता छ । अनेसास, न्युयोर्क च्याप्टरले प्रकाशित गरेको छ । आइएसबिएन ९७८९९३७–०८९६१६ रहेको यो पुस्तकको कभरको पश्चभागमा कविको शालिन तस्बिर र त्योभन्दा मुनि भूमिकाकारका केही हरफलाई शोभायमान बनाइएको छ । बाबुआमाप्रति समर्पण गरिएको सो कवितासङ्ग्रहको भूमिकामा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कवितालाई सरल, सरस र बोधगम्य भन्नुभएको छ। यसैगरी भूमिकामै साहित्यकार दामोदर पुडासैनीले उत्तरआधुनिकताउन्मुख कविता भन्नुभएको छ। अर्का भूमिकाकार डा. वीरेन्द्र पुडासैनीले कवितालाई नारीवादी चिन्तन र रतिरागात्मक भावका भन्नुभएको छ । वरिष्ठ समालोचक लीला लुइँटेलको शुभकामना रहेको यो कृतिमा अनेसास न्युयोर्क च्याप्टरका अध्यक्ष सकुन ज्ञवालीले प्रकाशकीय विचार राख्नुभएको छ ।जम्मा ६२ वटा कविता सङ्कलन गरिएको यो कृतिमा १६० पृष्ठ छन् भने यसको मोल रुपियाँ २५०÷ तथा डलर ८ राखिएको छ।

   प्रारम्भ

यो पाठकीय नजरिया पस्कनुभन्दा पहिले एउटा आहान सम्झेँ । जहाँ रवि पुग्न सक्तैनन्, त्यहाँ कवि पुग्छन् रे । कविको कल्पनाशीलताले जीवनका विविध आयाममाथि दृष्टिगोचर पुग्छ रे । यो आहान यहाँ आएर पूर्ण भएको छ । कवि जमुना वस्ती ढकालको दृष्टिले विविध विषयमा छलाङ लगाएको छ । उनका कवितामा स्वदेशदेखि विदेशसम्म, मानवदेखि प्रकृतिसम्मका विषयहरू समावेश भएका छन्। यो पाठकीय नजरियामा कवितासङ्ग्रहभित्र समेटिएका विचारगत तथा विषयगत सबै सामललाई खुराक बनाउन असमर्थ भएकाले कृतिभित्रको डायस्पोरिक पाटोको चिन्तनलाई मात्र पाठकसमक्ष पस्किने अनुमति माग्दछु।

डायस्पोरा

 

सुरुवाती अवस्थामा डायस्पोराको अर्थले आफ्नो बासस्थानबाट बलात धपाइएका वा अर्को विदेशी शक्तिले बलात् अपहरण गरी मातृभूमिविहीन भएका स्वदेशीलाई बुझाउँथ्यो । र मातृभूमिविहीन स्वदेशीका पीडा लेखिएको साहित्यलाई डायस्पोरिक भनिन्थ्यो । कालान्तरमा यो शब्दमा अर्थोत्कर्ष भएर स्वेच्छाले वा बाध्यताले स्वःदेश छोडेका व्यक्तिले विदेशमा भोग्नुपर्ने सामाजिक, सांस्कृतिक, आर्थिक, मनोवैज्ञानिक, धार्मिक तथा अन्य समग्र पीडाको प्रकटीकरण डायस्पोरिक साहित्य भएको छ। डायस्पोरामा बसेर आफ्नो स्वदेशको बारेमा लेख्दैमा डायस्पोरिक साहित्य हुँदैन । अर्कातिर स्वदेशमा बसेर अनुमान वा सुनेका÷पढेका आधारमा लेखिने डायस्पोरिक साहित्य पनि दर्बिला हुन सक्दैनन् । किनकि तिनले अन्तरहृदय छाम्न सक्दैनन्। त्यस कारण विदेशको बसाइमा भोग्नुपरेको विविध पीडालाई पीडित व्यक्तिले नै लेख्दा हृदय बोल्छ जस्तो लाग्दछ। डायस्पोरामा बसेको मान्छेले आफूलाई दुई नम्बरको नागरिक ठान्छ । आफ्नो स्वदेश कल्पेर रातदिन रुन्छ । स्वदेशका भिरपाखा तथा हावापानीबाट आउने भावनात्मक सुवासको तिर्सनामा हराउँछ । मातृभूमिको विछोडको तप्तताले हृदय रुन्छ । स्वदेशको सामाजिक, सांस्कृतिक तथा प्राकृतिक गरिमाले वशीभूत हुन्छ  र यो कुरा पीडा बनेर बसिरहन्छ । यही कुराको प्रकटीकरण तथा उद्घाटन गर्नु डायस्पोरिक साहित्य हो। 

यसै सन्दर्भमा कविको बासस्थान न्युयोर्क अमेरिकामा छ । नेपालको गोरखा जिल्लामा जन्मिएर जीवनका अनेकन मोडमा बाह्र हन्डर तेह्र चक्कर काटेर विदेसिएकी कवि जानुका वस्ती ढकालको कवितामा धेरै विषयवस्तुका साथमा डायस्पोरिक चेतना आएको छ । त्यो परदेसी चेतना कविका डायस्पोरिक भोगाइका आरनमा तप्ततप्त भएर हृदय बोल्दै आएका छन् । लेखिएका छन् । त्यसकारण कविको चेत डायस्पोरामा इमानदार छ । उनको डायस्पोरिक चेतनालाई निम्न कवितांशका उदाहरणमा हेरौँ ¬–

पीर लाग्छ कहिलेकाहीँ, परदेश छोडी जाऊ कता

प्रवासमा बस्दाबस्दै के के ? भयो होला उता

जुनी काट्न लाको माया, न त अमर बन्न सक्यो

आमाबुबा सम्झँदा हुन्, सन्तान हाम्रो दुःखमा फँस्यो(प्रवास पृ. ५१)

 

¬माथि उल्लिखित कवितालाई हृदयाङ्गम गर्दा परदेसिएको जीवनका विविध पीडाहरू एकै ठाउँमा देखिन्छ । परदेशका पीडाले आक्रान्त भएका बेला कविका मनमा पीडा हुँडलिन्छ । अब यो परदेश छोडेर कहाँ जाऊ भनी चिन्ता गरिएको छ भने अर्कातिर स्वदेशमा आफ्नो सम्पत्ति तथा समग्र परिवेश कस्तो भयो होला भनी चिन्ता गरिएको छ । त्यसमाथि आफ्नो स्वदेशमा लाएको माया असफल भएको पीडा पनि छ । स्वदेशमा आमाबाबु आफ्ना विदेशिएका सन्तानको दुःखप्रति चिन्तित भएको पक्षलाई डायस्पोरिक भावले व्यक्त गरिएको छ । यसरी एउटै श्लोकमा परदेशको पीडा, स्वदेशको अवस्थाको पिरलो, जुनी काट्न लाएको मायाको असफलता र आमाबाबुको चिन्ता सबैलाई सूत्रका माध्यमबाट प्रस्फुटन गरिएको छ ।

कविको डायस्पोरिक चेत अझ व्यापक बन्दै गएको अनुभूति हुन्छ कवितामा । डायस्पोरिक जीवनलाई अर्को पाटोबाट पनि व्यक्त गरिएको छ । उदाहरण हेरौँ¬–

सुनाऊँ कसलाई वेदना छ आफ्नै मनभित्र लुकेको

नभनिदिनुविदेशी मलाई देशमा नै रमाउने छ धोको

गुञ्जिराछ कानमा मेरो कोइलीको भाका हरपल

धोको छ तिनै सुसाएका पहाडसित ठोकिन पलपल(देशप्रेमी पृ. ५३)

¬वास्तवमा विदेशमा बस्ने जुनसुकै पहिलो÷दोस्रो पुस्ताका स्वदेशीजनहरू विशाल डायस्पोरिक पीडामा हुन्छन् । स्वदेशमै बस्नेहरूले विदेशिएकालाई विदेशी भनिदिन्छन् । त्यसले प्रवासमा भएका स्वदेशीजनको हृदयलाई छियाछिया पारिदिन्छ । त्यसैले यसै पीडालाई कवि जानुकाले मजाले व्यक्त गरेको अवस्था छ कविताभरि । आफ्नै स्वदेशको कोइलीको भाका, तिनै पहाड तथा आफ्नो परिवेशको सम्झनाले कविलाई वशीभूत बनाएको छ । वास्तवमा यो पीडालाई नभोगेका मान्छेले व्यक्त गर्न नै सक्दैनन् ।

यसै गरी डायस्पोरिक पीडाले गर्दा स्वदेशका आमाबाबुप्रतिको दायित्व पूरा गर्न नसकेको क्षणले भस्मिभूत बनाउँछ कविलाई । वृद्ध आमाबाबुलाई छोडेर विदेशिनु पर्दाको मनोवैज्ञानिक पीडा यो कवितामा प्रकटीकरण भएको छ । उदाहरण हेरौँ –

डाँडापारीका घाम हुन लागेका

मातापितालाई त केही गर्न पाइनँ

(बाँधिएको स्वतन्त्रता, पृ. १४६)

¬परदेशको पीडालाई कविले अर्को नजरियाले पस्केको देखिन्छ । विदेशका सभ्यता र विकासले सिर्जित टक्टकाउँदा सुन्दर सहर भोग्दा कविका हृदयमा त्योबाट आउने परावर्तनको मनोवैज्ञानिक पीडा व्यक्तिएको छ । यो पीडामा स्वःदेशको माया छचल्किएको छ । उदाहरण हेरौँ –

धुलो माटोमा रमाएको जिउ

यो सुकिलो टक्टकाउँदो सहरमा

राम्रोसँग लटपिटिई रहेछ(सुकिलो सहर १५७)

 

वास्तवमा परदेशलाई मुकाम बनाउनु परेका व्यक्तिले जबजब परदेशका मानवनिर्मित विकास देख्छन्, तबतब उसलाई यो विकास आफ्नै स्वःदेशमा गर्न पाए हुन्थ्यो भन्ने अव्यक्त पीडा सुरु हुन्छ । किनभने अर्काको देशको विकासको भौतिक उपभोग गरे पनि भावनात्मक अंशीयार बन्न सक्दैन । अर्कोतर्फ आफ्नो देशको धुलोमाटो स्वाभाविक रूपले प्रिय लाग्छ । किनकि त्यो धुवाधूलो आफ्नो हो । आफ्नो स्वामित्वको हो । यसो भएकाले कविमा आफ्नो देशको माटोको तिर्सना र माया प्रवल देखिन्छ । सुकिलो सहरमा लटपटिए पनि चेत भने पीडा बनेर स्वःदेशमै पुग्छ । 

माथि उल्लिखित चर्चालाई मध्यनजर गर्दा कवि जानुका वस्ती ढकालका डायस्पोरिक भोगाइहरू स्वभाविक रूपले व्यापक छन् । मूलत आफ्नो स्वदेशको सम्झनाका तरङ्गले ल्याएका विरहहरू तथा अमेरिकाको न्युयोर्कको व्यस्त तथा पूर्ण भौतिक सहरमा बाँच्नका लागि गर्नुपर्ने उपक्रमले कविलाई पीडा दिएको छ । यो यत्नले प्रवाशी पहिलो पुस्ताका स्वजनलाई साँच्चि नै दिने पीडा अभिव्यक्त भएको छ । र, यो पीडालाई आफैँले प्रत्यक्ष भोगेर कविका शिल्पबाट यो डायस्पोरिक चेतयुक्त साहित्य निसृत भएको छ । यसरी कवि जानुकालाई डायस्पोरिक साहित्यकार बनाउन यो कृतिले भरमग्दुर प्रयत्न गरेको छ ।  

  विशेषता

‘झरीको किरण’ कवितासङ्ग्रहभित्र विविध विषय अटाएका छन् । त्यसैले समग्र कृतिका आधारमा कविको लेखनीका विशेषताहरू केलाउने हो भने त्यसमा पनि विविधता देखिन्छ । झ्याउरे लय, गद्यात्मकता, कालजेयी विषय, विद्रोह, आशावादी चिन्तन, मानवअस्तित्व, कोरोनाकहर, प्रेम र रति, मानवतालाई केन्द्रमा राख्नु कविको विशेषता देखिन्छ ।  

प्रस्तुत कवितासङ्ग्रमा उनिएका कविताहरूले विविध भाव प्रक्षेपण गरेका छन् । कुनै एउटै विषय तथा सन्दर्भ मात्र कवितामा छैनन् । भाव, प्रयोजन तथा धरातलीय विविधता यो कृतिको विशेषता हो । यो कृतिमा कतै नेपालको राष्ट्रियताप्रतिको चिन्ता पाइन्छ । कतै नेपाली समाज तथा संस्कृतिको महत्ता गाइएको छ । यसै गरी कवितासङ्ग्रहभित्र समाजका विसङ्गति, संस्कृति, जीवनदृष्टि, मातृवात्सल्य, पितृआदर, नारीवादी मनोविज्ञान र चिन्तन, रतिरागात्मकता, प्रकृति चित्रण, गरिबी, देशको माया, डायस्पोरा जस्ता विषयहरू आएका छन् । यी विषयभित्र कवि जानुकालाई केलाउने हो भने विषयका हिसाबमा उनी बहुविषय विशेषता भएको कविका रूपमा उभिन्छिन् ।  

सुधारात्मक पक्ष

जाहेर छ कि कवि जानुका फुटकर रचनाहरू पत्रपत्रिका तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने सबालमा उनी अब्बल देखिए पनि यो पहिलो प्रकाशित कृति हो । यसो भएकाले यही विन्दुबाट यसभित्र देखिएका केही सुधारात्मक पक्षलाई उजागर गर्ने धृष्टता गर्ने प्रयत्न गर्दै छु । यद्दपि यसको तात्पर्य कवि जानुकालाई हतोत्साही बनाउनु भने किमार्थ होइन । बरु आगामी दिनमा आउने कृति अझै परिष्कारसहित आओस् भन्ने सुचाहना हो जानुका ।  

कवितासङ्ग्रहभित्र गवेषण गर्दा कविमा निराशावादी चिन्तन पनि व्याप्त देखिन्छ । कतै अन्धविश्वास जस्तो पनि लाग्दछ ।केही उदाहरणहरू हेरौँ –

यो त सबै लेखान्त जस्तो लाग्छ

तर होइन, हो भने उही छैटीमा लेख्ने

भावीलाई थाहा होला(प्रफुल्ल पृ. ५६)

 

प्रत्येक पलपल

र, क्षण क्षण्को तिम्रो

उदण्डकारी घमण्डले

राम्रोसित सिँगारिएकी म

थाहा हुने पो कसरी मलाई

छैटीमा के लेखिदियो भावीले (अह्कार ६५)

माथि उल्लिखित कविताका अंशलाई हेर्दा कवि जीवनसँग थाकेर छैटीका रात भावीले लेखिदिएको भन्ने भावमा पुगेको देखिन्छ । यस्तै उनका कवितामा पलायनवादी चिन्तन प्रशस्त छ ।

तिमीले नै जन्म दियौ

तिमी नै पालनपोषण गरिरहेछौ,  

अब बाँकी दिनहरु प्नि

तिम्रै सरणमा पछौँ

कठिन, दुसाध्यबाट पार लगाइदेऊ(हे ईश्वर पृ. ९१)

 

कवि जानुका आफ्ना जीवनका कहरलाई समाधान गर्ने बाटो ईश्वरमा देख्छिन् । यस्ता विचारले विद्रोह  तथा सङ्घर्षका स्वरहरूलाई मत्थर पारिदिन्छन् । यसै गरी यहाँ समेटिएका कविताहरूलाई सुक्ष्मतबरले हेर्यो भने विचारश्रृङ्खलाको अभाव देखिन्छ । सामाजिक÷पारिवारिक असङ्गत पक्षसँग विद्रोह गरेर नारीले पारपाचुके गरेको कुरा पनि कविका दृष्टिमा परेको छ भने परम्परागतपुरुषप्रधान आदर्शलाई अवलम्बन गरेर सो पीडामा नै महिलाले सहेर बाँच्नु पर्छ भन्ने विचार पनि प्रेसित भएका छन् ।  उदाहरण हेरौँ –

उनले जानी नजानी

आफ्नो पुरुषत्व देखाउन खोजे

जो पुरुषार्थमा हुन्छ  

तर तिमीले उनलाई बुझ्दै जाऊ

पढ्दै जाऊ आवेगलाई । (मेरी प्रिय सखी, पृ. ११६)

यसरी एउटै कविका विपरीत आयाममा लेखिएका कविताले कविलाई विद्रोही कवि कि परम्परागत आदर्शवादी कवि भनेर चिनाउन दुबिधा उत्पन्न हुन्छ । नेपाली परम्पराको स्वादमा रमाएको पनि देखिन्छ । यथास्थितिवाद पनि देखिन्छ । प्रगतिशील परिवर्तनको पनि आकांक्षी रहेको देखिन्छ । भौतिकताको अग्रगमन पनि देखिन्छ । आध्यात्मिकताको प्रवेश पनि देखिन्छ । धर्मभित्रको अन्धविश्वासमा पनि कविको सशक्त विरोध देखिन्न । यसरी हेर्दा कविको विचार विविधता त देखिन्छ, तर विचारश्रृङ्खला एकआपसमा विपर्यास भएर देखापरेका छन् ।  

यसो भएकाले मेरा विचारमा कविको बसाइ÷भोगाइ÷देखाइ सबैमा डायस्पोरा छ । यही डायस्पोराभित्र अनेकन पीडायुक्त विषयबस्तु छन् । आफ्नै प्रत्यक्ष भोगाइबाट निसृत डायस्पोरिक पीडालाई मात्र सामल बनाएर कविता लेखिन पाएको भए विचारश्रृङ्खला पनि मिल्थ्यो । र नेपाली साहित्य आकाशले मागेको विषय पनि प्रस्फुटन हुन्थ्यो भन्ने लागेको छ कवि जानुका । यसै गरी भूमिकाकारले यो कृतिमा समेटिएका कविताका प्रवृत्ति केलाउँदा उत्तरआधुनिक भनिए पनि सशक्त उत्तरआधुनिकताको कुरा मत्थर नै छ कि भनेझैँ लागेको छ मलाई । र जानुका अर्को कृति विचारश्रृङ्खला मिलाएर घच्चीको डायस्पोरिक कृति जन्मियोस् भन्ने चाहना राखेको छु । यद्दपि सामाजिक तथा चेतका कारणले लेखक ती समस्या प्रस्तुत गर्न इमान्दार हुनुपर्ने त हुन्छ, तर यो काम निकै जटिल छ । तर कवि जानुका लेखनीका सबालमा आफ्ना हृदयले बोलेको पीडालाई जस्ताको तस्तै लेख्ने हिम्मत चाहिँ गर्नै पर्छ । हृदयको धड्कनमाथि परम्परा तथा सामाजिक आदर्शको लेप लगाउन थालियो भने पक्का छ सिर्जना मर्छ।

अर्को कुरा, कविताको मेरुदण्ड भनेको गेयात्मकता हो । छन्दोबद्ध कवितामा त गेयात्मकता प्रमुख कुरा नै हो भने गद्य कवितामा पनि एक प्रकारको लयबद्ध गेयात्मकता अपरिहार्य हो । गद्य र गद्यकविताका बीचमा हुने फरक पनि यही गेयात्मकता हो । त्यसैले गद्यकविताका पनि हरेक श्लोकमा पूर्णार्थ दिने गेयात्मकता हुनु जरुरी हुन्छ । यो कुरा छ कि छैन भनेर कविले आफ्नो कवितालाई एउटा लयमा गाएर हेर्दा थाहा हुन्छ । किनभने रचनाकार नै आफ्नो कृतिको सबैभन्दा पहिलो र दर्बिलो पाठक हो ।

 उपसंहार  

अब पुछारमा आइपुगेको छु जानुका । गोरखाकी चेली जानुका वस्ती ढकालको यो कृतिभित्र प्रक्षेपित भावले विचार, प्रतीक, बिम्ब, दुई विपरीत वादका बीचमा मिलनविन्दु प्रस्तुत गरेका छन् । उपमा तथा उपमेयको प्रयोग भएका छन् । यही विशेषताका कारण पनि कृति सुन्दर बनेको छ । पहिलो धक्कामा नै असङ्गत परिवेश हल्लिएको छ । कविताका सौन्दर्य शास्त्रका आधारमा पनि विचार सौन्दर्यको परिपाक पुगेको छ । यो प्रयत्नलाई सलाम छ जानुका।

तर यहाँनेर एउटा कुरा बुझ्नु नै पर्छ जानुका । संसारमा कुनै कुरा पनि पूर्ण छैनन् । कुनै कृति वा कुनै मान्छे वा कोही पनि पूर्ण  छैनन् । कुनै पनि परिवेश पूर्ण छैनन् । भगवान पनि पूर्ण छैनन् । त्यस कारण हामीले त्यही अपूर्णताभित्र पूर्णता खोज्ने हो । यही सिद्धान्तका आधारमा कुनै पनि कृति पूर्ण हुने कुरा भएन । त्यही अपूर्णताको मापदण्डका आधारमा पूर्णताको परिकल्पना हाम्रो साहित्य हो । त्यसैले अपूर्णताभित्र पनि हाम्रो यात्रा पूर्णतातिर हुनु पर्दछ । पूर्णता प्राप्तिको यत्न नै साहित्यको प्रयोजन हो । त्यसैले कवि जानुकाको यो कृति पनि अपूर्णताभित्र पूर्णता खोज्दै छ । किनभने सुजीवन भन्नु पनि सकारात्मक दृष्टिकोणको हो । सकारात्मक दृष्टिकोणभित्र अग्रगमन हो। 

र अन्त्यमा, त्यही नियमित आकस्मिकताको संयोगले चिनिएका छौँ । दाजु÷बहिनी भएका छौँ । पृथ्वी त गोल छ । आशावादी चिन्तनले अर्को भेटको सम्भावनालाई नकार्दैन । अर्को साहित्यिक भेट झन घच्चीको होस् भन्ने कामना गर्दछु । यसका लागि बहिनी कवि जानुकाको अर्को घच्चीको कृतिको पर्खाइमा छु ।  

यो सुललित कृतिका लागि बधाई कवि जानुका।  

जुन ९, २०२१

सान मार्कोस, अमेरिका

प्रकाशित: २६ जेष्ठ २०७८ १८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App