१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

उ रनपाओ – चीनको वैभवशाली गाउँको अन्तर्कथा

पुस्तक

सृजना प्रजापति

 

मानव जीवनलाई अहिलेको परिस्थितिसम्म पु¥याउन हाम्रा हजारौं हजार पुस्ताले दुःख पाए । सम्पूर्ण मानव जातिको हितका लागि कार्लमाक्र्सले प्रत्युत्पादन गरेको समाजवादको सिद्धान्त अहिलेसम्मको संसारको उत्कृष्ट सिद्धान्त हो। यसलाई लागू गर्न संसारमा धेरै छलफल र बहस भइरहेका छन्। तर, यसको प्रयोगमा अधिकाधिक जनताको भलो हुनु महत्वपूर्ण छ।

चीनले धेरै लामो उतारचढाव भोग्दै माओ, देङ हुँदै सीसम्म आइपुग्दा चिनियाँ जनताको जीवनस्तर निकै माथि पुगेको छ। यसरी महान् विचारकहरूको सूचीमा आज उ रनपाओको नाम पनि अगाडि आउँछ। चिनियाँ लेखक ख्ह चियानमिङ (सन् २००७ मा प्रकाशित) द्वारा लिखित चीनको सबैभन्दा वैभवशाली गाउँको अन्तर्कथा डा. झलकप्रसाद शर्मा (सन् २०१८ मा प्रकाशित) ले नेपाली अनुवाद गरेका हुन्। यो चार भागमा विभाजित छ।

औपचारिक रूपमा विश्वविद्यालय अध्ययन नगरेका उ रनपाओले तीन दशकको अथक मेहनतपछि आफ्नो गाउँको मुहार नै फेरिदिए । सन् १९६१ मा गाउँका करिब ३०० व्यक्तिहरू मिलेर दैनिक १५–१६ घण्टा कडा मेहनतका साथ उ रनपाओले ह्वासी गाउँको नेतृत्व गरेका थिए । सुरुमा त्यो गाउँको क्षेत्रफल ०.९ व.कि.मि. थियो । जनसंख्या ६६७ थियो। त्यतिबेला १२ वटा ससाना बस्ती समुदायहरू, थोत्रा अस्तव्यस्त हालतका घरहरू, माटोका भित्ता, साँघुरा बाटा, यता र उता बाङ्गो र टिङ्गो हुँदै हिँड्नुपर्ने, उचाइ र गहिराइमा कैयौं मिटरको फरक पर्ने उबडखाबड परेका खेतबारी थिए । सन् ८० को दशकमा उनले त्यो गाउँलाई चीनको समृद्घ गाउँ बनाए । यहाँ खाना, पढाइ तथा स्वास्थ्य उपचार निःशुल्क छ । त्यहाँको समृद्घि देखेर वरिपरिका १६ गाउँहरू त्यसमै मिसिए । हाल यसको क्षेत्रफल ३० वर्ग कि.मि. छ । जनसङ्ख्या ३० हजारभन्दा बढी हुन पुगेको छ । गाउँको सबैभन्दा राम्रो पक्ष भनेको विदेश पढ्न गएका शतप्रतिशत विद्यार्थी गाउँ फर्किएर त्यहीँ काम गर्ने गर्दछन् । सन् १९६१ मा औपचारिक स्थापना भएको बेला ह्वासी गाउँ एकाइमा गाउँलेको प्रतिव्यक्ति ऋण १५०० युआन थियो । जहाँ उ रनपाओले आफ्नो नेतृत्व गरी सत्तरीको दशकमा उर्वर जमिनको सिर्जना, असीको दशकमा कारखानाको निर्माण अनि नब्बेको दशकमा शहर निर्माणको परिकल्पना मात्र नभई साकार पनि पारे । साकार पारिएको समयसम्मको त्यहाँका मान्छेहरूको ‘छन् आठ’ र ‘छैनन् आठ’ जस्ता अपत्यारिलो कुरा दशकौं अघिदेखि पाइसकेका छन् । ‘छन् आठ’ भनेको हाइस्कूलसम्मको निःशुल्क शिक्षा, ज्येष्ठ नागरिकको उचित स्याहार, आवास भवन सामूहिक वितरण, औषधोपचारको क्षतिपूर्ति, गाउँमै सुपरमार्केटको सुविधा, टेलिभिजन, थिएटर र पिपुल्स पार्कको सुविधा, सबैखाले परिकारका रेस्टुरेन्टको व्यवस्था र अन्तिममा एउटादेखि दुइटा कार आदि सुविधाहरू हुन् । त्यसैगरी सुन्दाखेरि ‘छैनन् आठ’ सुविधा नभएकालाई भनेको जस्तो सुनिन्छ । तर ‘छैनन् आठ’ का बुँदाहरू पढ्दा साँच्चिकै अनौठो लाग्नेछ । ती थिए खाद्यान्न घरसम्म पुरयाइने हुनाले अन्न बोक्नुपर्ने छैन । घरघरमा धाराको पानी नियमित व्यवस्था भएकाले पानी तान्नुपर्ने समस्या छैनन् । प्राकृतिक ग्याँसको सुविधा भएकोले दाउरा बाल्नुपर्ने छैन । आधुनिक मापदण्डयुक्त पम्पबाट चलेको पानी भएकोले घर घरमा शुद्धीकरण गर्नुपर्ने छैन । तातो पानीको छुट्टाछुट्टै पाइपको व्यवस्था भएकाले घरघरमा पानी तताउनुपर्ने छैन । घरघरमा टेलिफोनको सुविधा भएकाले दूरसञ्चारको लागि टाढा जानुपर्ने छैन । एयरकन्डिसनको व्यवस्था भएकाले जाडो या गर्मीमा टाउको दुखाउनुपर्ने छैन । छाना भएको लामो मार्गबाट जहाँ पनि जान सकिने भएकोले वर्षायाममा भिज्नुपर्ने छैन।

यसरी आफूले नेतृत्व गरेको गाउँका जनतालाई अनेक सुविधा दिएका उनले न दर्शनशास्त्र पढेका थिए न त कलेज नै धाएका थिए। तैपनि, उसले माक्र्सवादी दर्शन र आधारभूत सिद्घान्तका वास्तविक सारतत्वलाई ग्रहण गर्ने खालको समुदायको रूपमा स्थापित गर्ने नेतृत्व गरे। जहाँ उनले गरिबी मात्र हटाएनन्, खुद प्रतिव्यक्ति आय दसौं हजार डलरसमेत पु¥याए । उ रनपाओको सफलता उच्च विश्वास र दृढ सङ्कल्पले गर्दा नै हो । अनि उनलाई महान् बनाउने कुरा भनेको उनले आधुनिकीकरणका लागि आफ्नो व्यावहारिक दृष्टिकोण र धैर्यबाट सिर्जना गरेको ह्वासी स्पिरिट मोडेल हो ।

राजनीतिक जीवनमा धेरै उतारचढाव भोगेका उले दुई साध्यमा विशेष ध्यान दिएका थिए । ती थिए– सबै तहका पार्टी सङ्गठनहरूसँग सहमति बनाइराख्ने र जनसमुदायसँग सौहार्द कायम राख्ने हो । उनका अनुसार असल कार्यकर्ता बन्ने मास ख्याल गरियो भने आफ्नो बखान गर्नतिर लागिन्छ र आफ्नो कमीकमजोरी देख्न छाडिन्छ । उ रनपाओले झिनामसिना कुरालाई ध्यान नदिई ‘सुधार गर अनि खुलस्त भन’ को नीतिमा निर्भर रहेर काम गरिरहे । ‘आन्तरिक सुधार र बाह्य खुलापनको नीति’ लाई चिनियाँँ कम्युनिस्ट पार्टीमा सुधारकहरूले ‘चिनियाँँविशेषतासहितको समाजवादी बजार अर्थव्यवस्था’ को स्थापना गर्ने उद्देश्यबाट १९७८ मा सुरुवात गरेका थिए । यसकै आधारमा काम गर्दै ‘चीनको अब्बल गाउँ’ भन्ने दर्जा र सम्मान उ रनपाओको ह्वासी गाउँमै आयो । उनले आफ्नो गाउँको लागि बनाएको गीत यस्तो थियो ।

ह्वासीको आकाश जो तिमी देख्छौ पार्टीको आकाश हो ।

ह्वासीको धर्ती जो तिमी टेक्छौ समाजवादी धर्ती हो ।’

यसरी समाजवादको सिद्घान्तलाई अवलम्बन गर्दै दसनङ्ग्री गरेर जोडेको सारा पुँजी सङ्कलन गरेर परिचालन गरे । अनि, बजार चलाउने प्रयत्नमा पनि विलम्ब गरेनन् । यही प्रयत्नमा उनले फरक ढङ्गले सोच्दै ‘पैसा सापटी लिने अनि अघाउँजी खाने’ भन्ने धारणा ल्याए । त्यसबेला उनले करोडौं युआन सापट लिएर नयाँ उद्योगहरूका उत्पादनमा लगानी गरेका थिए । जसले गर्दा किसानको छवि फेरिएर सयवटा शीर्षस्थ औद्योगिक प्रतिष्ठानहरूको दर्जामा पुग्ने गरी अकासिएको थियो।

सुरुमा दरिद्रता व्यहोरेका उनको ठूलो इच्छा आफ्नो गाउँलेको कुपोषणले ग्रस्त पहेँलो भएको अनुहार र ख्याउटे शरीरलाई कुपोषणबाट जोगाउने लक्ष्य थियो । त्यसका लागि जति पनि खान पाउने भोजनकक्ष सञ्चालन गरेका थिए। उनले पन्ध्र वर्षमा समाजवादी गाउँमा रूपान्तरण गर्ने लक्ष्यलाई मूर्त रूप दिन फौजी जत्थासँगै रहेर सिपाहीको रूपमा सेवा गरे। परिणामस्वरूप सात वर्षमा लक्ष्य पूरा भयो र कृषिमा विकसित मोडेल, फराकिला पदमार्ग, सेता घरमा हरियो झिँगटीको गाउँ बनाएका थिए । गाउँलेको कडा परिश्रमले गर्दा कसैले त्यस गाउँमा बिहे गरेरसम्म नआउने दुःखद परिस्थिति थियो। चाओ माओमेई नाम गरेकी आइरन गल्र्सले तिनै अस्वीकृत केटासँग विवाह गरेर देखाइदिएकी थिइन्।

उ रनपाओ पार्टीलाई धेरै सम्मान गर्थे तर ‘बिहान निर्देशन माग्ने र बेलुका गरेका कामको बेलिबिस्तार लगाउने’ अनि ‘निष्ठाको नृत्य’ गर्नेमा पटक्कै विश्वास गर्दैनथे। उनले तीन अतिवाद रुढिवाद, औपचारिकतावाद र नोकरशाहीवादलाई उछित्तो काढ्न ७०÷८० वर्षको उमेरमा समेत पूर्ण अवकाश लिएनन् । ‘पुजीँवादी बेर्नाभन्दा समाजवादी घाँस पाएकै राम्रो’ भन्ने जमानामा उनले एउटा हार्डवेयर कारखाना चलाएका थिए, सामूहिक अर्थव्यवस्था सुदृढ बनाउनका लागि । एउटा हार्डवेयर कम्पनी र एउटा मिलको भरमा उनले साठीको दशकमा दस लाख युआनभन्दा बढी स्थायी र उत्तिकै नगद मौजदात सञ्चित गरेका थिए । तीनवटा क्रान्तिकारी सफर उनले तय गरे । ती थिए – सत्तरीको दशकमा उर्वर जमिनको सिर्जना, असीको दशकमा कारखानाको निर्माण अनि नब्बेको दशकमा शहर निर्माण । १९७० को दशकमा उनले नयाँ समृद्घ समाजवादी गाउँ निर्माण गर्न कैयौँ खाका तयार गरिसकेका थिए । त्यसैकारण खेतीलाई ठेक्का अभिभारा प्रणालीमा लग्ने र गाउँलाई औद्योगिकीकरणको मार्गमा लग्ने निर्णय गरे । उनले गरेका अन्वेषणमध्ये असीको दशकमा कारखानाको निर्माण नै कोसे ढुङ्गा सावित भयो । कारखाना निर्माण गर्ने क्रममा छङ् सियानमिन भेटिनु पनि राम्रो संयोग थियो । उनी ३९ वर्षमा सिआन च्याओयोङ विश्वविद्यालयबाट आएका थिए । उनको मेजर विषय मेसिन उत्पादन थियो। जहाँउनले आफूलाई आफ्नो गाउँले सम्झेर ३ सय युआन मागेका थिए । तर, उ रनपाओले पहिलो वर्ष ३ हजार, दोस्रो वर्ष ५० हजारभन्दा बढी दिएपछि उनी त्यही गाउँमा बसाइ सरे । तीन वर्षमा एउटा हरियालीमय र वातावरणमैत्री कारखानाको निर्माण पनि गरे। दक्षिण चियाङ्गसुको मोफसलमा यो नै उचाइमा सबैलाई सानदार रूपमा उछिन्ने पहिलो औद्योगिक पार्क हुनपुग्यो । वार्षिक उत्पादन दश करोडभन्दा बढी अर्थात् लक्ष्यभन्दा माथि पुग्यो।

सन् १९८० को दशकमा चिनियाँँ किसानको लागि ‘दश करोड युआनको गाउँ’ बन्यो । त्यो गाउँ ‘न स्वदेशी न विदेशी’ डिजाइनको थियो । किनकि, विदेशी देखियो भने किन विदेशीजस्तो बनाइस् भन्थे । स्वदेशी देखियो भने जति धनाढ्य भए पनि किसानै रहेछौ भन्थे । उनले तीनवटा – करणमा विशेष ध्यान दिएका थिए । ती थिए ः सुन्दरीकरण, निर्मलीकरण र हरितीकरण । यसले गर्दा परबाट हेर्दा वैकुण्ठको सुखमय नन्दन उद्यानजस्तो देखियो । गाउँको पङ्क्तिबद्घ बहुरङ्गका चिनियाँँ र युरोपेली शैलीका ग्रामीण भिल्लाहरूमा गाउँकै प्रतीकको रूपमा स्थानीयपन देखिन्थ्यो । परम्परागत हिसाबले भन्ने हो भने सहर निर्माण गरेपछि जहिले पनि प्राकृतिक मोफसलको मौलिक भूगोल विनाश हुने गर्दथ्यो । तर, यहाँ भने बाह्य वास्तुकला र आन्तरिक सजावट यस्तो थियो, जुन एक सय वर्षमा पनि पुरानो हुने थिएन । योजना गर्ने र ठाउँ छान्ने सवालमा उनीहरूले आधुनिक शहरी भवन र साधारण ग्रामीण प्राकृतिक दृश्यको सामञ्जस्यपूर्ण एकीकरणलाई जोड दिए । सय वर्षमा पनि पुरानो नहुने खालको योजना र गुणस्तरले स्वाभाविक रूपमा ठुलो लाभ दिने गर्दछ । विगतमा किसानहरूले आफूले अलिक हुनेखाने भएको महसुस गर्नेबित्तिकै नयाँ घर बनाउने गर्थे । तिनीहरूले थुप्रै सम्पत्ति सञ्चय त गरे तर यो बारम्बार घर बनाउने प्रवृत्तिले गर्दा कहिल्यै धेरै सम्पत्ति बाँकी रहेन । यस गाउँमा रहेको किसानपार्क गाउँको सांस्कृतिक अवधारणाको प्रतिनिधि थियो । यो त विदेशी होइन है भन्नेमा मुखरित हुन्थ्यो । पार्कभित्र ससाना पुलहरू थिए । ससाना डुङ्गाहरू यताउता गरिरहेका थिए । चराचुरुङ्गीका चिरबिर आवाज, मन्दमन्द समीर लहराइरहेका नर्कटधारी, सुमधुर सङ्गीतलहरी थिए । सबैभन्दा बढी ध्यानाकर्षण गर्ने भाग ‘चिनियाँँ जनता आरुबारीमा भाइचाराको कसम’, ‘पराले झुपडीमा तीन पटक पुग्दा’ अनि ‘चौबीस सन्तानको प्रतिमान’ भएको ठुलो हल थियो । ह्वासी गाउँभित्र रहेको ह्वासी पार्कमा भने वैदेशिक दृश्यावली थियो । त्यहाँ त अमेरिकी ह्वाइटहाउस, बेलायतको प्राचीन क्यास्टल, पेरिसको आर्क डे ट्रियोम्फदेखि चेक गणतन्त्रका ग्रामीण भिल्लाहरूसम्म थिए । यहाँ गाउँले तथा पर्यटकहरू भारत गएर ब्रेकफास्ट खान सक्छन् र जापान गएर रात बिताउन सक्छन् । यो सर्वदेशीय पार्कमा सबैखाले विदेशी भाषाको सेवा, खानपिनका लागि सबैखाले खाना र पेय थिए । त्यतिमात्र नभई कदर गर्नका लागि सबै प्रकारका संस्कृतिहरू उपलब्ध थिए।

उ रनपाओको एक प्रसिद्घ कथन थियो, ‘समृद्घि जति जनताले बाँडेर लिने हो अनि कठिनाइ आइपर्दा हाकिमहरूले वहन गर्ने हुन् ।’ यो साँच्चिकै त्यस गाउँमा देख्न सकिन्थ्यो । ज्येष्ठ नागरिकका लागि भीआइपी भिल्ला निर्माण गरिएको थियो । जहाँ विश्वमा कल्पना गर्न नसकिने सुविधा थियो । यहाँ इन्डोर स्विमिङ पुलहरू थिए । त्यति मात्र नभएर वृद्घवृद्घाका लागि छुट्टै सम्मान थियो । जुन घरमा नब्बे वर्षभन्दा माथिका वृद्घवृद्घा हुन्छन्, उनका नातेदारले हरेक वर्ष १०,००० युआन पुरस्कार गर्दछन् । बाबुआमाप्रति बफादार र कर्तव्यपरायण हुन सिकाउनैपर्ने उनको विचार थियो । १०० वर्ष बाँच्नुले शारीरिक र मानसिक स्वास्थ्यको कुरामात्र नभई नयाँ पुस्ताहरू आफ्ना अग्रज ज्येष्ठ नागरिकप्रति सन्ततिजन्य आदर गर्न पनि अब्बल रहेको देखाउँछ । सबैलाई सुविधा दिएर पनि उनी आफू सधैँ त्यहीँ पुरानो घरमै बसे । त्यो उनको आडम्बर नभई आफूले बसालेको तीनथोक नगर्ने नियमभित्र पथ्र्यो । ती नियम थिए , सबभन्दा बढी तलब नलिने, गाउँको भव्यतम घरमा नबस्ने र बोनस नलिने । उनले जीवनभरि यो नियम पालना गरेरै देखाइदिए । यसको बारे उनी भन्थे, तपाईँको घर सुनैसुनले भरिए पनि खाने तीन छाक नै हो । जति ऐय्यासीको घर भए पनि सुत्नलाई चाहिने एक ओछ्यान नै हो । यसबाहेक उनी पार्टी सदस्यहरूलाई पार्टीको भावना, जनहितको अभिलाषा र सद्विवेक चाहिने कुरामा अडिग थिए । त्यसैगरी काम कुरालाई गम्भीरता र निष्पक्षताका साथ समाल्ने, इमानदारीसाथ सञ्चालन गर्ने अनि जनसाधारणको विश्वास आर्जन गर्ने उनको सिद्घान्त थियो । दैनिक जीवनका लागि पनि तीन नियम बनाएका थिए । पहिलो जाँडरक्सी छुँदै नछुने, पाहुना पाल्दै नपाल्ने र जनसमुदायले खाना खाने टेबलमा नखाने । उ रनपाओ ८० वर्ष पुग्दासमेत धेरैले भन्थे, ‘सचिव बाको मानसिक तन्दुरुस्ती र काम गर्ने उत्साह त नवजवानको जत्तिकै पो छ त।’ किनकि उनी त्यतिबेला पनि बिहान चारपाँच बजे उठेर गाउँ, कारखाना हुँदै निरीक्षण भ्रमण गर्दै बेलुका नौ, दस बजे मात्र घर पुग्थे।

यसरी उ रनपाओको अथक मेहनतमा बनेको ह्वासी गाउँमा अहिले लाखौँ पर्यटकहरू आउने गरेका छन् । जो पनि त्यहाँको भ्रमण गर्छन्, त्यहाँको तारिफ नगरी रहन सक्दैनथे । जर्मनीका एक नेताले भनेका थिए, ‘माक्र्सले सय वर्षअगाडि परिकल्पना गरेको समाजवादी र साम्यवादी समाजको सच्चा ऐश्वर्यलाई चियाउने झ्याल त ह्वासी गाउँको ऐश्वर्यमा पो फेला पा¥यौँ।’  

एकजना मान्छे धनी भएकोलाई सम्पत्तिको रूपमा हेरिँदैन । सिङ्गै गाउँ धनी भयो भने मात्र जनता यथार्थमा सुसम्पन्न हुने लक्ष्यमा पुग्छन् । यहाँका जनताले लक्ष्यमा मात्र पुगेनन् सम्पत्ति आर्जन गर्ने आधारभूत सिद्घान्त पनि पालना गरे । ती सिद्घान्तभित्र कठोर परिश्रम गरी आत्मप्रेरित हुने, मेहनती र मितव्ययी हुने, ज्ञान र प्रतिभालाई महत्व दिने, इमानदारीको सम्मान गर्ने र कानुनको पालना गर्ने कुराहरू पर्दथे । त्यसैगरी उ रनपाओको सम्पत्तिसम्बन्धी दुई सिद्घान्तमा ‘सम्पत्तिले भरिएको थैली र सम्पत्तिले भरिएको दिमाग थिए ।’ थैलीमा गाँठ छैन भने दिमागी गाँठको त कुरै भएन । थैलीमा भरिएका गाँठले नै दिमागी गाँठको आधार सिर्जना गर्ने हो । ‘दिमागी गाँठ’ भनेको एक किसिमको मानसिक अवस्था हो । यस्तै मानसिक अवस्थाका लागि उ रनपाओले ‘६ प्रेम’ भन्ने मापन एकाइ बनाएका थिए । ती थिए – पार्टीको माया, देशको माया, गाउँको माया, आफ्नो घरपरिवारको माया, साथीभाइलाई माया र आफैलाई माया । यही मायाको शिक्षणले गर्दा नै हो हरेक विश्वविद्यालय पढ्न गएका गाउँले आफ्नो मायालुसमेत लिएर गाउँमा नै फर्कन्छन् । त्यसमा उनी परम् आनन्द ठान्थे ।

यसरी यस विशाल र अति आकर्षक गाउँमा औद्योगिक क्षेत्र, बसोबास क्षेत्र, फुर्सद तथा मनोरञ्जन क्षेत्र, पर्यावरणीय खेती क्षेत्र र पर्यटकीय दृश्यावलोकन गर्ने क्षेत्रहरू समाविष्ट छन् । सन् २००४ मा नै यस गाउँका जनताको प्रतिव्यक्ति आय ६  हजार अमेरिकी डलर नाघिसकेको थियो । उनले यो वैभवलाई आफ्नो गाउँमा मात्र सीमित राखेनन् । निङ्स्या, ख्हेलोङचियाङ र चियाङसीजस्ता ठाउँहरूमा समेत बाँडे । बारम्बार उनी भन्थे, ‘समाजवाद भनेको जनतालाई सम्मुन्नत जीवन बाँच्न सक्ने बनाउनु न हो ।’

यसरी यस पुस्तक पढेर धेरै प्रेरणाहरू पाउन सक्छौँ । एक साधारण किसानको समर्पित जीवन र सामूहिक प्रयासले एक गाउँको प्रगति देख्न सक्छौँ । उनका विभिन्न भनाइ र जीवनका उत्तारचढावबाट समेत थुप्रै सिक्नुपर्ने कुरा छ । नीति निर्मातादेखि लिएर गाउँ शहर निर्माण र व्यक्तिको जीवनस्तर उकास्ने प्रयास गर्ने सम्पूर्णलाई यो पुस्तक प्रेरणादायी र मार्गदर्शक बन्न सक्छ । 

प्रकाशित: २५ जेष्ठ २०७८ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App