१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

बाघ, समाज र कविता

हरिसुन्दर छुकां

 

म जनमतभित्रकै आवाज हुँ

म जनमतसँगैको शब्द हुँ

म जनमतले दिएको उपहार हुँ

म जनमतबाट सिर्जेको वाटिका हुँ

म जनमतबाट हुने सम्मान हुँ

म यात्रामा जनमत भएर कुहिरहेछु

मनसँगै मन बुझाएरै म जनमत खोजिरहेछु।

प्रगतिशील साहित्य फाँटमा चिनाइरहन नपर्ने

स्रष्टा एवं कवि मोहन दुवालले आफ्नै बारेमा  ‘म जनमत, जनमतभित्रकै म’ शीर्षकको कवितामा आफूलाई चिनाउने प्रयास गरेका छन् । साहित्यकार मोहन दुवालसँगै जोडिएर आउने जनमत साहित्यिक मासिक र ‘जनमत’ सँगै आउने मोहन दुवालले नेपालको साहित्यिक पत्रकारितालाई आजको अवस्थासम्म ल्याउने एक सारथी हुन् । साहित्यको सेवा गर्न मन, वचन दिएर विविध कठिनाइ, समस्या र चुनौतीसँग जुध्दै विविध रचनात्मक, सिर्जनात्मक कर्म गरिरहेका र गर्न रुचाउने स्रष्टा कवि मोहन दुवालको कवितासङ्ग्रह ‘बस्तीमा राख्नु हुँदैन बाघहरू’ भित्रको एक कविता ‘म जनमत, जनमतभित्रकै म’ पढिसकेपछि दुवाललाई चिन्न गा¥हो पर्दैन । सोही कवितामार्फत् उनी आफ्नो परिचय यसरी जोड्छन्।

म बनेपाभित्र रमेर

शरद भई साहित्यमा व्यक्त भइसकेको मर्म सम्झिरहेछु

म सिर्जनाको फूलहरूका माली  हुँ

म सचेतका धूनहरूका उस्ताद  हुँ

म संरचनाका मूलहरूका ऊर्जा  हुँ

त्यस्तै

म भारतीका उत्सर्गहरूका सङ्गिनी  हुँ।  

जनमत प्रकाशनको सन्तानब्बेऔं कोसेलीको रूपमा प्रकाशित कवितासङग्रह ‘बस्तीमा राख्न  हुँदैन बाघहरू’ भित्र कवि दुवालले १४ वर्षभित्र लेखेका ५० कविताहरू सङ्गृहीत छन् । विसं २०४५ देखि २०६८ सम्म विभिन्न साहित्यिक प्रकाशन र पत्रपत्रिकामा छापिएका कविताहरूलाई समष्टिगत रूप दिएका छन् –कवि दुवालले । सङ्ग्रहमा सङ्गृहीहत कविताहरूबारे भूमिकाकार डा. देवीप्रसाद सुवेदीले लेख्य धारणा यसरी पोखेका छन्।  

मुलुकमा व्याप्त हत्या, हिंसा र अराजकता र यस परिवर्तनमा जन्मिएका अनायकीय चरित्रका नायकहरू उनका कविताका प्रहार बिन्दु बनेका छन् । वस्तुतः २०४६ सालपूर्वका र त्यसभन्दा यताका कवि दुवालको कविताको एउटै सामाजिक चेत छ त्यो हो, राज्य व्यवस्थाका नाममा भइरहेको अव्यवस्था, हत्या, हिंसाविरुद्धको चेत । हो, कसलाई मनपर्छ  र समाजमा विकृति ? अझ कवि मन भएकाहरू त विकृति, विसङ्गतिका विरुद्ध अग्रमोर्चामा बसेर सुसंस्कृति निर्माणका लागि नेतृत्व लिन्छन्। कविहरूको नेतृत्वले धेरै दिग्भ्रमित व्यक्ति र नीतिहरूलाई दिशाबोध गराउन मद्दत गर्दछ। कविता र कविको इतिहासले यी कुराहरूलाई पटक–पटक पुष्टि गरिसके पनि अझै कविहरूको सपना साकार भएको छैन, अझै पनि कविहरू लेखनीमार्फत् समाजको अमिल्दो तह मिलाउन सङ्घर्षरत छन्। कविको सहारा भन्नु नै कविता हो। कविताले दिएको सहाराकै आडमा कवि सुतेको बस्ती उठाउन आह्वान गर्छ, सुतिरहेकाहरूलाई चिमोट्छ, जुरुकजुरुक उठ्न अपिल गर्छ। कवितमार्फत् विचार दिन्छ। विचारले ओतप्रोत भएपछि मान्छे शक्तिशाली हुन्छ। यसैले मान्छेलाई विचारले शक्तिवान् बनाउने दायित्व बोकेको कविहरूको भूमिका जुनसुकै युगमा पनि सापेक्ष हुन्छ, चाहे व्यवस्था परिवर्तन किन नहोस्।  

बस्तीमा राख्नु हुँदैन बाघहरू

कवि मोहन दुवालले पञ्चायत भोगे, २०४६ को आन्दोलन–परिवर्तनका सहकर्मी बने, २०६२–६३ को आन्दोलन, आन्दोलनले ल्याएको लोकतन्त्र, गणतन्त्र र २०६४ को संविधानसभाको साक्षी पनि बने। परिवर्तनकै पक्षमा उभिए । कालो रात त सकियो, नया“ बिहानी त आयो तर शब्दमा भएको परिवर्तनजस्तै व्यवहारमा कुनै परिवर्तन भएन। सरकार फेरियो, व्यवस्था फेरिएन, व्यवस्था फेरियो, नीति फेरिएन, संरचना फेरियो, संस्कार फेरिएन। यही नफेरिएको परिस्थितिले सडकदेखि सदनसम्म देखिएका अनेकौं घटनाक्रम, विकृति, विडम्बना आदिलाई कवितामार्फत् अभिव्यक्त गर्दै कवि मोहन दुवालले बस्तीभित्र बाघ राख्न नहुने सन्देशलाई प्रतीकात्मक रूपमा व्यक्त गरेका छन्।

 मानव बस्तीभित्र जङ्गल बस्ने बाघ पसे पूरा बस्ती सन्त्रासमा डुब्छ। बाघ मांसाहार र हिंस्रक जनावर भएकाले उसले कहिल्यै घा“स खान मान्दैन। यसैले मांसाहारी बाघ भोकको लागि हिंसा गर्छ, उसले बस्तीका अबोध बालक भन्दैन, बालिका भन्दैन, पुरुष भन्दैन, महिला भन्दैन, वृद्धवृद्धा भन्दैन। ऊ एकोहोरिन्छ हिंसाका लागि रगतका लागि, मान्छेको कोमल अंगका लागि र ह्याकुलाका लागि । बाघको यथार्थ यही हो। यही सत्यलाई कवि मोहन दुवालले कविताको विषय मात्र नबनाएर बिम्ब, प्रतीक र अलङ्कार बनाएका छन् ।

 बस्तीभित्रकै पात्र मान्छे नै बाघ भएको आजको रूपान्तरित समाज, एकाङ्गी समाजलाई कविले विभिन्न कवितामा चित्रण गर्दै बाघ बनेको मानवीय प्रवृत्तिलाई हटाउनुपर्ने आवश्यकता औंल्याएका छन् । बिस्तारैबिस्तारै मानवीय स्वभाव जनावरस“गै मिल्दै गएको डरलाग्दो भविष्यको चित्रण गरेका छन् । यस्तो स्थितिमा ‘मान्छे हु“’ भन्नेहरूले मान्छेको भूमिका खेल्नुपर्ने जरुरत देखेका छन्–कवितामार्फत् ।  

मौका ढुकेर बस्छ

हिंसाको चाहना उसको भावना हो  

बाघ परिवेश पर्खिरहन्छ ।

– बाघ

....................

बाघले कहिल्यै घाँस खाँदैन 

ऊ त हिंसा र आतङ्कमा पो रमाउँछ 

मेरा प्रिय मान्छेहरू

किन बाघको सम्मोहनमा पर्न खोजिरहन्छौ

बाघ मान्छेको मित्र भएको इतिहास कतै छैन ।

.............

होसियार हुनु मान्छेहरू

बाघलाई बस्तीमा राख्नु हुँदैन

– बस्तीमा राख्नु  हुँदैन बाघहरू

......................

बाघ प्रतिगमन हो

मान्छेको बस्तीमा

किन मुहार देखाउन दिइरहेको ?

बाघ मान्छेको मित्र हुन सक्दैन  

किन मान्छेकै मित्रजस्तो सोचिरहेको ?

– बाघ प्रतिगमन पो हो  

...................

बाघहरूको सेखी झार्दै

बाघहरू नास्नु हो गणतन्त्र

सर्पहरूको विष झार्दै

सर्पहरू भगाउनु हो गणतन्त्र

– गणतन्त्र

कवि महोन दुवालले कवितासङग्रह ‘बस्तीमा राख्नु हुँदैन बाघहरू’ मा बाघ मात्र नभएर सर्प, गिद्ध, लाटोकोसेरो, हँडार र कुकुरजस्ता जनावरलाई पनि कविताका पात्र बनाएर तिनीहरूमार्फत् समाजमा व्याप्त हिंसा, विकृति, प्रवृत्तिलाई देखाउँदै व्यवस्थाको÷ जनताको शत्रुको चरित्र चित्रण गर्न भ्याएका छन् । उनका कविताहरूमा आएका राजनीतिक सन्दर्भहरूलाई केलाउने हो भने कवि मोहन दुवाललाई निम्न वर्गीय समाजलाई उत्थान गर्नुपर्ने विचारका व्यक्तित्व र सोही विचारले पुलकित राजनीतिक चेत भएका कवि भन्न सकिन्छ। कवितामार्फत् उनले सत्ता परिवर्तनसँगै हुने दलीय भागबण्डा र दलीय अहंले देश र जनतालाई पारेको असरलाई कविताका बान्कीहरूमा सजाएर राजनीतिक परिभाषा गरेका छन्, असल मान्छेका परिचय दिएका छन्, उज्यालोका सन्दर्भहरू जोडेका छन्। व्यङ्ग्य व्यञ्जनको अस्तत्रले समाजका थुप्रै अमिल्दा पात्रमाथि प्रहार गरेर बेथितिको व्यथाले मन दुखाएका समाजको अन्य पात्रहरूको घाउमा मलम लगाइदिएका छन्। पाठकले सो कृति पढ्दा चित्त दुखाउनुपर्ने स्थिति आउ“दैन। आफूले नदेखेको समाजका कति प्रसंगई कविले कवितामा देखाएका छन्। कविता पढ्दाको मिठास मोहन दुवालका कविताहरूमा भेटिन्छ। देखेकै यथार्थलाई सबैले बुझ्ने ढंगले प्रस्तुत गरिएका कविताहरू स्वाभाविक रूपले गाह्य लाग्छन् । कुनै कुनै कविताहरू सलल बगे पनि समुद्र नभेटाई बीचैमा टुंगिएको जस्तो पनि लाग्छ पाठकलाई । तैपनि समाज चिन्न उनका कविताहरूले सहयोगीको भूमिका खेलेका छन् । माथि उठेको विषयलाई हुने केही कवितांशहरू सङ्ग्रभित्रैबाट।

फुङ्ङ  परेको

उराठलाग्दो परिवेश हेरेर

हिमाल रु“दैछ भक्कानिएर

– नेपाल

...............

चेतना हो–मान्छे

श्रम हो –मान्छे

सिर्जना गर्न सिक्नुपर्छ।

– मान्छेका सुन्दरताका कथाहरू

कस्तो मोहनी यी सत्तामा  

कस्तो जादु यी सत्ताको

त्यसैले त

उनीहरू लठ्ठ हुन्छन्  

सत्तामा चढ्न

सत्तामा रहन

सत्तामा बसेर

जहा“तहीं घुम्न र सयर गर्न ।

– सत्ता, फगत सत्ता........

....................

सुँघ्न जानेका, मालिका ताबेदारी गर्न सिकेका

कुकुरहरू समय मिलाएर पुच्छर हलाउँछन्

अरूहरूभन्दा निकै माहिर छन् उनीहरू

इस्पातभन्दा कडा दाँतहरू बोकेर आज पनि

हिजोजस्तै हड्डी चुँडी गर्दैछन् कुकुरहरू....

– कुकुरहरूको विजयगान

........................

असल मान्छेको कदर नहुने समाज

असल विचारको सुनुवाइ नहुने देश

कस्तो वाहियात देखिंदोरहेछ

धूलो, धुवा“ र प्रदूषणकै बिम्बजस्तो ।

– असल मान्छे......????

लेखेर परिवर्तनको आधार तयार गर्नका लागि क्रियाशील कवि मोहन दुवालका कविताहरूले बोकेको मानिसको भावनालाई अझ परिष्कृत र जनताले स्वीकार्ने ढंगले पस्किने अभ्यास गर्दै जानु पर्दछ। सरल र जनमुखी भाषाको प्रयोग कवि दुवालको विशेषता भएकाले यसलाई निरन्तरता दिनुपर्दछ।  

प्रकाशित: १५ जेष्ठ २०७८ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App