१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

म आफैलाई खोजिरहेछु

कविता

सुरेन्द्र लिम्बू परदेशी 

 

अल्गोरिदमको गल्ली – गल्लीमा

रोपेर मानवीय संवेदना

आफैंबाट हराएको मान्छेलाई खोज्न

आर्टिफिसियल इन्टेलिजेन्सलाई गुहारिरहेको छु।

 

म भनेको को हो त ?

जीवन भन्नु के हो त ?  

बस् यत्ति कुरा बुझ्न पनि

यो गुगललाई सोधिरहेछु  

बिग डेटा प्रोसेसिङको भर्चुअल बजारमा

साँच्चै म त आफैंलाई खोजिरहेछु।

 

जब म खोज्छु

मभित्रको मलाई  

कहिल्यै मैले पाएको छैन  

मैले खोजेको म।

 

जसले मलाई  

यसरी चलाइरहेको छ

जसले मभित्रको मलाई  

यसरी खोज्न लगाइरहेको छ

म सोच्छु  

त्यो को होला ?

 

मैले हल्लाएको हात

मैले छोएको छाती

र मेरो यो सिंगो शरीर  

के म यै हो त ?

 

कहिले खोजेर देउरालीको देउता

कहिले पुजेर सिमसारको सिमेभूमे  

मैले आफूलाई चिनाइदिनु भनेर

विश्वासलाई भक्ति नगरेको पनि होइन  

आस्थालाई शक्ति नमागेको पनि होइन।

 

यो सोचाइको भुलभुलैयामा  

अस्तित्वका थिंक ट्यांकहरू

विचारको हाइटेक सम्मेलन गर्न

अहिले आन्तरिक विमर्शमा घोत्लिरहेका छन्।

 

इलोन मास्कको मंगल मिसन  

युसाकु माइजावाँको डियर मून  

सरकेन रोबिन्सनको नवीन शिक्षा  

स्पेसएक्स र न्युरालिंक  

गिलगमेश र नैनो रोबोर्टस्

उत्तर संरचनाका ब्याडहरू कुल्चिँदै  

आजकल ऊ हिँडिरहेको छ

आयामिक सिद्धान्तको डाँडामाथि माथि।

 

कहिले त्यो मै हो जस्तो  

कहिले होइन पनि जस्तो  

सत्य हो कि भ्रम जस्तो  

एउटा निराकार बिम्ब जस्तो  

कुनै अपरिचित मान्छे जस्तो  

जसले मलाई चलाइरहेको छ  

म उसैलाई खोजिरहेको छु  

हो म त आफैंलाई खोजिरहेछु।

प्रकाशित: ११ जेष्ठ २०७८ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App