१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

किराती ज्ञान केन्द्र ‘तुवाचुङ’

दृष्टिकोण

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ मा किराती सांस्कृतिक थलो ‘तुवाचुङ’ डाँडा छ। किराती पुर्खा तोयामा, खियामा र रैछाकुले यहीँ बसेका थिए भन्ने अनेक कथा पाइन्छन्। मैले यी कथा सुन्न पाउनुको पनि बेग्लै कथा छ।  

२०५४ सालतिर मेरो गाउँ (वडा ५ मा पर्ने बोहेम्बा) मा ६० वर्षीया गाउँले बजू (हजुरआमा) आएर बस्न थालिन्। त्यसअघि उनी छोरीहरूसँग गाउँबाहिर थिइन्। लेखपढ गर्न नजाने पनि उनलाई गाउँका अग्रजले किराती भाषासंस्कृबारे जानकार मान्थे।  

म जन्मिनुभन्दा अगाडि नै उनले यो ठाउँ छाडेकी रहिछन्। उनी ३० वर्षपछि आफ्नो ठाउँ फिरेकी थिइन्। ती बूढी मानिससँग पहिलो भेटमा अमलेम्पा (राई समुदायमा जेठो सन्तानको नामबाट आमाबाबु पुकारिन्छ।)को छोरा हुँ भनेर आफूलाई चिनाउनुपरेको थियो। हाम्रा बीच चिनजान भयो। नाति–बजूको साइनो भयो। उनलाई कोकू(बजू) भन्न थालेँ। नाम पदमकुमारी राई ‘ताराम्मा’। गाउँमा ‘ताराम्मा’ भनेर उनलाई हामीले चिन्न थाल्यौँ।

अझै पनि खियामाको तानढुंगा छेवैमा ठूलो पोखरीको अवशेष देखिन्छ। त्यो पोखरी तोयामा र खियामा दिदीबहिनीले बनाएको भनिन्छ। कथाअनुसार, दिदीबहिनीले पोखरीको वरिपरि सप्तरंगी फूल रोपेका थिए। बिहानीपख सप्तरंगी फूलको प्रतिविम्ब पोखरीमा देखिन्थ्यो। घाम झुल्किने बेला फूलहरूले यस डाँडा नै रातो हुन्थ्यो।

ताराम्मा बजू चाम्लिङ राई भाषा मिठो बोल्थिन्। हिजोआज पनि बोल्छिन्। चाम्लिङ भाषामै हामीलाई बोलाउँथिन्। मलाई खुसी लाग्थ्यो। आफ्नो भाषा बोल्न थालेपछि आत्मीय लाग्न थाल्यो। ताराम्मा बजूले लोककथाहरू सुनाउँथिन्। भाषा संस्कृतिप्रति गहिरो रुचि राख्ने बजूले हामीलाई हाम्रो गाउँठाउँँबारे धेरै कथा सुनाएकी छन्– किराती मिथक, यहाँका खोलानाला र गाउँठाउँका कथाहरू। उनीबाट आफ्नो ठाउँको कथा सुन्न पाउँदा मलाई आनन्द लाग्थ्यो। बजूले सुनाएका तोयामा, खियामा र रैछाकुलेका कथाले मन धेरै तान्यो।  

बशाहथान अर्थात् रैछाकुले बुक्टो

हलेसीमा रैछाकुले बुक्टो (ओडार) छ। कथाअनुसार, त्यो गुफामा रैछाकुले बस्थे। उनी तोयामा र खियामाका भाइ हुन्। यहीँ बसेर किराती पुर्खा रैछाकुलेले अन्नको बीउ पत्ता लगाएका थिए। किरातीले यसलाई रैछाकुले ‘बुक्टो’ भन्थे। यो ओडारलाई हिन्दू धर्मावलम्बीले बशाहथान भन्न थाले। त्यसपछि यो ठाउँलाई ‘माहाथान’ (किरातीले महादेवस्थान उच्चारण गर्न नजान्दा माहाथान भएको) भन्न थालियो। रैछाकुलेले यो गुफा पत्ता लगाएका हुन्।  

बूढापाकाअनुसार, यो गुफा बाग्वंसी किराती सिकारीले पत्ता लगाएका हुन्। बौद्ध धर्मावलम्बीका अनुसार, आठौँ शताब्दीमा बौद्धगुरु पद्मसम्भवले यो गुफा पत्ता लगाएका हुन्। हिजोआज त्रिधार्मिक हलेसी मन्दिरको नामले प्रख्यात छ यो ठाउँ। त्यसैले तुवाचुङ डाँडा र हलेसी मन्दिरको सम्बन्ध एक सिक्काका दुईपाटाजस्तै छन्।  

त्यही रैछाकुलो ‘बुक्टो’ हलेसी मन्दिरबाट एक घन्टा उकालो पैदल हिँडेपछि ‘तुवाचुङ’ पुगिन्छ। मुन्दुमअनुसार यो डाँडाबाटै किराती सभ्यताको सुरुवात भएको हो। प्रत्येक वर्ष उभौली र उधौलीको समयमा तुवाचुङमा हजारौँ किराती बुइछोर (किराती प्रमुख चाड साकेला) मान्न आउँछन्। यो ठाउँमा किराती पुर्खा तोयामा, खियामा र रैछाकुले बसेका थिए। तोयामा र खियामा दिदी–बहिनीले सबैभन्दा पहिलोपटक यो ठाउँमा कपडा बुनेका थिए। कथाअनुसार किरातीले कृषिको सुरुवात पनि यसै ठाउँबाट गरेका हुन्।  

तुवाचुङको अर्थ

किरातीहरूले ‘तुवाचुङ’ डाँडालाई कृषि सभ्यताको मूल थलो मान्छन्। चाम्लिङ राई भाषामा ‘तुवा÷तोया’ भनेको बुद्धि अर्थात् ‘ज्ञान’ र ‘चुङ’को अर्थ ‘डाँडा’ हुन्छ। खस नेपाली भाषामा अनुवाद गर्दा ‘तुवाचुङ’को अर्थ ‘ज्ञानको डाँडा’हुन्छ। पछिल्लो चरणमा मल्लाथुम्की भन्ने गरे पनि यो डाँडाको किराती सांस्कृतिक नाम ‘तुवाचुङ’ हो। यहाँ कपडा बुन्ने ढुंगाको तान छ। यो तानढुंगाको दर्शनले मानिसलाई सिपालु बनाउँछ। बाँच्ने कला सिकाउँछ। त्यसकारण ‘तुवाचुङ’ किरातीको ज्ञान केन्द्र हो।

त्रिधार्मिक (हिन्दू, बौद्ध र किरात तीनै धर्मावलम्बीको तीर्थस्थल) हलेसीबारे धेरैले सुनेका छन्। हलेसी त्रिधार्मिक हुनुमा यो तुवाचुङको महत्वपूर्ण भूमिका छ। तोयामा, खियामा र रैछाकुले किराती पुर्खाको कथा किराती समुदायमा लोकप्रिय छ। ती किराती पुर्खाले मनपराएको ठाउँ ‘तुवाचुङ’ धेरैको प्रिय थलो हो। हरेक किराती धामीले ‘रिसिया’ (मन्दुम गाउने लय) गाउँदा यो डाँडाको पुकार गरेकै हुन्छन्। किरातीले सांस्कृतिक अनुष्ठान गर्दा शक्ति केन्द्रको रूपमा पुज्छन्। बूढापाकाले त्यसरी नै सम्मान र इज्जत गर्छन्।

तुवाचुङ ‘चुङ’हरूको पनि ‘चुङ’

धेरैले तोयामा, खियामा, रैछाकुले र तुवाचुङबारे सुनेका छन्, तर देखेका छैनन्। हिजोआज टाढा टाढाका मानिस यहाँको भ्रमण गर्न आउँछन्। कथामा सुनेको ठाउँ प्रत्यक्ष घुम्न पाउँदा आनन्द लाग्दो हो। म भने यही ठाउँमा हुर्किएको हुँ।  

तुवाचुङ डाँडाको काखमा रहेको अर्खौले भन्ने ठाउँमा हरेक सोमबार मेला लाग्छ। यसलाई अर्खौलेहाट वा सोमबारेमेला पनि भनिन्छ। हामी प्रायः अर्खौलेहाट जाने गथ्र्यौं। मेरो घर र अर्खौले बजारको बीचमा अग्लो डाँडा छ। त्यो डाँडा नै ‘तुवाचुङ’ हो।  

मुन्दुममा बखान गरिने थुप्रै चुङ (डाँडा)हरू ‘तुवाचुङ’ वरिपरि छन्। त्यसमध्ये प्रमुख डाँडा ‘तुवाचुङ’ नै हो। त्यसकारण ‘तुवाचुङ’ डाँडाहरूको पनि डाँडा हो। सानोमा अर्खौलेहाट जाँदा मैले बाटोभरि भीड देख्थेँ, अर्खौले बजार जानेहरूको हुन्थ्यो। त्यतिबेला पनि उदयपुर, ओखलढुंगा र सोलु जिल्लाबाट पैदलै हिँडेर यस ठाउँसम्म मानिस हाट भर्न आउँथे।

हिजोआज पनि त्यो भीड जस्ताको तस्तै छ। तर, अर्खौलेहाट जानेको होइन ‘तुवाचुङ’ सांस्कृतिक भ्रमण जानेहरूको हो। अचेल मानिसमा सांस्कृतिक चेतना बढ्दो छ।

सानोमा हामी धेरैलाई तुवाचुङको सांस्कृतिक महत्वबारे थाहा थिएन। यहाँका मिथक मौखिक रूपमा मात्र भनिन्थ्यो, लिखित थिएन। प्रचार–प्रसार थिएन। यो डाँडा हुँदै निकैपटक ओहोरदोहोर गरियो– कहिले भोकै, कहिले अघाएर, कहिले हिउँदको जाडो सहँदै, कहिले झरीमा रुझेर। हिजोआज मध्येपहाडी लोकमार्ग यही ‘तुवाचुङ’मुनि भएर गएको छ। दिनमा थुप्रै मोटरगाडी यहाँबाट ओहोरदोहोर गर्छन्। लोकमार्ग छाडेर २० मिनेट जति जंगलैजंगल उकालो हिँडेपछि पुरानो गोरेटोमा पुगिन्छ। त्यो गोरेटो छेवैमा ठुल्ठूला ढुंगा छन्। ती ढुंगा ‘दोखाम’ अर्थात् खाँडीको तान बुन्ने ठाउँजस्तै देखिन्छ। कथामा उल्लेख भएअनुसार तोयामा, खियामा, रैछाकुलेले यही ढुंगामा बसेर कपडा बुनेका थिए। यो उनीहरूको कपडा बुन्ने ठाउँ हो। यसैलाई तानढुंगा पनि भन्ने गरिन्छ। तोयामा खियामाले यो ठाउँमा कपास उत्पादन गरेको, चर्खा बनाएको कथा छ।  

अहिले यो ठाउँमा तोयामा, खियामा र रैछाकुलेको प्रतिमा राखिएको छ। अहिले तोयामाको तानढुंगासम्म पुग्न रेलिङसहित खुड्किलो बाटो बनाइएको छ। यसले ‘तुवाचुङ’ डाँडा पुग्न सहज भएको छ। कपडा बुन्न नजान्नेले यहाँ आएर काँचो धागो हिजोआज पनि चढाउँछन्। त्यसपछि कपडा बुन्ने सीप आर्जन हुने विश्वास छ। त्यसैले तुवाचुङलाई ज्ञान केन्द्रको रूपमा पनि दर्शन गरिन्छ।  

‘तुवाचुङ’को सबैभन्दा अग्लो ठाउँमा बहिनी खियामाको थान छ। त्यसको केही पर खियामाको तानढुंगा छ। तोयामा नाना (दिदी)ले वल्लो डाँडा र खियामा बहिनीले पल्लो डाँडामा तान बुनेर बसेका थिए भन्ने किंवदन्ती छ।

यसको वरिपरि लावाचुङ, रावाचुङ, सोरोचुङजस्ता अन्य तीन वटा महत्वपूर्ण सांस्कृतिक डाँडा छन्। लावाचुङ डाँडा हलेसी ‘तुवाचुङ’ नगरपालिकाको वडा ८ धितुङमा पर्छ। यसै नगरपालिकाको वडा ५ मा रावाचुङ डाँडा पर्छ। यो रावाचुङ डाँडामा यस भेगका पहिलो किराती शासक होलेसुङले शासन गरेर बसेका थिए। यसैलाई हलेसीगढी पनि भनिन्छ। यसै वडाको दुर्छिम र च्यास्मिटारको बीचमा सोरोचुङ डाँडा छ। ‘तुवाचुङ’ डाँडा यहाँका सबै ‘चुङ’ (डाँडा)हरूको पनि ‘चुङ’ अर्थात् डाँडाहरूको पनि डाँडा हो।  

समुद्र सतहदेखि १८ सय मिटर उचाइमा ‘तुवाचुङ’ डाँडा छ। यहाँबाट विश्वको अग्लो शिखर सगरमाथादेखि समतल मधेससम्म देखिन्छ। यो डाँडा ठूलो जंगलले घेरिएको छ। यसको उत्तरतिर चिचिङ्गा गाउँ छ। यो गाउँमा ‘रैछाकुले वालाखा’ (रैछाकुलेलेको पँधेरो) छ। किराती पुर्खा अर्थात् तोयामा र खियामाका भाइ रैछाकुलेले यहीँको पानी पिउँथे।  

तुवाचुङको दक्षिणतिर धितुङ गाउँ छ, जहाँ ‘लावाचुङ’ डाँडा छ। यो डाँडाको पनि आफ्नै सांस्कृतिक महत्व छ। ‘तुवाचुङ’बाट पश्चिमतिर हेर्दा ‘रावाचुङ’ सुन्दर डाँडा देखिन्छ। हलेसी भेगका पहिलो किराती शासक होलेसुङले यसै ‘रावाचुङ’ डाँडाबाट हलेसी क्षेत्रमा शासन सत्ता चलाएका थिए। त्यसैले यसलाई हलेसीगढी भनिन्छ। ‘तुवाचुङ’बाट उत्तरतिर हिमशृंखला देखिन्छन्। विश्वको सर्वाेच्च शिखर सगरमाथा पनि देखिन्छ। त्यसकै काखमा सबैभन्दा अग्लो ठाउँमा रहेको स्याङ्बोचे विमानस्थल ‘तुवाचुङ’बाट देखिन्छ। रातको समयमा तुवाचुङबाट मधेसतिर हेर्दा सप्तकोसी भीमनगरको पुलमा बत्तीहरू झललल बलेको देखिन्छ। ‘तुवाचुङ’ किराती पुर्खाले त्यत्तिकै रोजेका होइनन्। अति सुन्दर डाँडा छ। यहाँका बुढापाका भन्छन्, ‘तुवाचुङ डाँडाबाट दूधकोसीतिर फर्केर बस्दा चिसो हुन्छ, सुनकोसीतिर फर्केर बस्दा गर्मी हुन्छ।’ यो डाँडाको सुनकोसी पाटोमा बेँसीमा पाइनो (एक प्रकारको वनस्पती) रुखबिरुवा छन्। यो पाटो बेँसीजस्तै देखिन्छ। दूधकोसी पाटोमा लेकतिर पाइने रुखबिरुवा छन्।

उत्तरतिर दूधकोसी देखिन्छ। दक्षिणतिर सुनकोसी देखिन्छ। दूधकोसीतिर जंगलै जंगल छ। उत्तरतिरको पाटो हरियो र थरीथरीका रुखबिरुवाले ढकमक्क ढाकेको जंगल र दक्षिणतिर सुक्खा पाखा देखिन्छन्। यो डाँडामा आएपछि लेक र बेँसी दुवै ठाउँको हावापानीको अनुभव गर्न पाइन्छ। ‘तुवाचुङ’को हावाले मन शान्त हुन्छ।  

तोयामा र खियामाको पोखरी  

अझै पनि खियामाको तानढुंगा छेवैमा ठूलो पोखरीको अवशेष देखिन्छ। त्यो पोखरी तोयामा र खियामा दिदीबहिनीले बनाएको भनिन्छ। कथाअनुसार, दिदीबहिनीले पोखरीको वरिपरि सप्तरंगी फूल रोपेका थिए। बिहानीपख सप्तरंगी फूलको प्रतिविम्ब पोखरीमा देखिन्थ्यो। घाम झुल्किने बेला फूलहरूले यस डाँडा नै रातो हुन्थ्यो। पोखरीमा देखिएको फूलको प्रतिविम्ब तोयामा र खियामाको अनुहारमा पनि पथ्र्यो। सप्तरङ्गी फूलका प्रतिविम्बले तोयामा र खियामा साह्रै सुन्दरी देखिन्थे। तोयामा र खियामाको समय सकिएपछि यो पोखरी विस्फोट भएर भत्कियोे। त्यसैबाट दक्षिणतिर भालुखोप र उत्तरतिर चक्कुखोला बनेको कथा छ।  

तोयामा, खियामा र रैछाकुलेको कथा प्रत्येक किराती भाषिक समुदायमा छ। कोयी राईहरूले यसलाई ‘तयामा, खियामा र खक्चुलुप्पा’ भन्छन्। खालिङ राईले ‘ग्रोम्म्या, लास्म्या र खाक्चलव’ भन्छन्। थुलुङ राईहरूले ‘जाउमा, ख्लिउमा र खक्चिलिपु’ भन्छन्। दुमी राईले ‘तोमा, खेमा र खक्चिलिपु’ भन्छन्। यसरी किराती भाषाहरूअनुसार नाम फरक भए पनि कथा र पूर्खा एकै हुन्। र, सबै किरातले आआफ्ना कथामा ‘तुवाचुङ’ थलोको वर्णन गर्छन्। यो ठाउँलाई किरातले आफ्नो सभ्यता उत्पत्तिको प्रागेतिहासिक थलो मान्छन्।

प्रकाशित: ८ जेष्ठ २०७८ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App