आचार्य प्रभा
एकाबिहानै फेसबुक खोल्दा एक मित्रको दुखद मृत्युको खबर देखियो। मैले त विश्वासै गर्न सकिनँ र अन्य मित्रहरूलाई सोधें तर त्यो खबर सत्य रहेछ।
ऊ टिकटक सोखिन थियो। जस्तै घटनाको पनि टिकटक बनाएर पोस्ट गर्ने गथ्र्यो । कहिले लास बनेर चितामा पसारिएको, कहिले रुँदै गरेको, कहिले हाँस्दै गरेको, कहिले नाँच्दै, गाउँदै गरेको इत्यादि । अन्तिम टिकटकचाहिँ उसको कोरोनाले ग्रसित भएर सास फेर्न नसकेको थियो। त्यो दृश्य देखेर सबैले आत्तिएर म्यासेज गरेछन् तर त्यो टिकटकको नाटक मात्र भएको थाहा पाएर उसँग साथीहरू पनि रुष्ट भएछन्। मैले त भनी नै दिएँ –रहर नगर । रहरको फेला परौला। रमाइलो र मजाक गर्ने पनि तरीका हुन्छ नि।
नभन्दै कोरोना आतंकबाट उसको मृत्यु भएछ। ऊ एक्लै कोठामा बस्ने भएकाले उसलाई कोरोना संक्रमण भएको कसैले थाहा पाएन छन्। साथीहरूलाई खबर गर्दा पनि कसैले पत्याएन छन्। आखिरमा कसैको साथ नपाएर समयमा उपचार नहुँदा ऊ मृत्युको प्रिय भएछ। निकै दिनसम्म साथीको फेसबुकमा चहलपहल नदेख्दा रितेशले यसो चिहाउन जाँदा त उसले देहत्याग गरिसकेको रहेछ।
निकै दिनपछि उसको कोठामा चेकजाँच गर्दा एउटा सानो खेस्रामा लेखेको रहेछ –टिकटकको नाममा उच्छृ्रङ्खल नबनौं। संवेदनशील विषयलाई मजाकमा कसैले पनि नलिऊँ। मेरो त्यस्तै बानीले गर्दा आज म कोरोना संक्रमणबाट विक्षिप्त बन्दा कसैको साथ पाउन सकिनं। म पक्कै पनि फर्किन सक्दिनं। मेरो गल्तीलाई क्षमा दिनु होला। बाँचिहालें भने साथीहरूको सुझावलाई शिरोपर गर्नेछु।
उसको त्यो आग्रहलाई कतिले मनन गरे। कतिले उपदेशको रूपमा पनि लिए।
रितेशले यो खबर मलाई भनिरहँदा म पनि आँसुले निथ्रुक्क भइसकेकी रहिछु।
प्रकाशित: ६ जेष्ठ २०७८ ११:११ बिहीबार