पुष्करराज भट्ट
बाबा कार्यालय समय सकिएपछि घर पुगेर आराम गरिरहनुभएको थियो । एकैछिनमा कविता पनि विद्यालयबाट घर पुगिन् ।
“बाबा ! एउटा कुरा भन्छु । नरिसाउनुस् ल ?” कविताले बुवासँग कुराकानी गर्न खोजिन्।
“भन न छोरी ! तिमीसँग म किन रिसाउने ? तिमी त मेरी प्यारी छोरी हौ ।” बाबा आज खुशी मुडमा हुनुहुन्थ्यो।
“हामीलाई कतै टाढा घुम्न नलाने त, बाबा ? समिता बुवाआमासँग जनकपुर घुमेर आइन् । आज विद्यालयमा उनले त्यो ठाउँको बारेमा बताउँदै थिइन् । मलाई त नरमाइलो लाग्यो। आफूले कतै घुम्न जान पाएको होइन ?” कविताले गुनासो पोखिन् ।
“दुई दिनपछि कार्यालयको कामले मेरो पश्चिम तराईको धनगढी जानुपर्ने काम छ । सबै जना घुम्न जाऔं न त ! त्यहाँ मेरो पुरानो साथी लोकेन्द्र चौधरी छ । उसले हामीलाई घुमाउन सहयोग गर्छ ।” बुवाले भ्रमणको योजना बताउनुभयो।
“अहा ! हाम्रो बाबा कति जाति ।” छोरीले बाबाको हात समाई । “आमा त कति छुच्ची ।” आमाको पछाडि गएर बाबातिर हेरेर भनिन् ।
बाबा हाँस्नुभयो।
“के रे ! फेरि भन ।” आमा तरकारी काट्दाकाट्दै रोकिनुभयो। कविता बाबाको काखमा बसेकी थिई ।
“अँ, मैले कति भन्दा पनि मान्ने होइन, तपाईं?” उसले मुख खोली ।
“लौलौ, तेरा बाबासँग तँ मात्र जा ।” आमाले अँध्यारो मुख पारेर भन्नुभयो।
“तिमी रिसाकी ।” आमातिर फर्केर बाबाले सोध्नुभयो।
“अहा ! रिसाको मान्छेको मुख ।” कविताले दाहिने हातको चोर औँलाले देखाउँदै भनी् ।
“हैन ।” आमाले बिस्तारै भन्नुभयो।
“ठीकै त होनि, ऐलेसम्म हामीले उसलाई कतै घुमाउन लगेका छैनौं !” बाबाले भन्नुभयो।
“त्यसमा मेरो मात्र के दोष त ?” आमाले बाबातिर हेरेर भन्नुभयो।
“यो सब कुरा छोडिदेऊ । अब सबै जना जानुपर्छ । तयारी गर ।” बाबाले आमातिर हेरेर भन्नुभयो ।
“हुर्रेहुर्रे, घुम्न जान पाइने भयो ।” कविता खुसी भई।
कविता आमा बुवाकी एक्ली सन्तान। उनको घर सुनसरी जिल्लामा पदर्छ । उनले पश्चिम नेपालको बारेमा पुस्तकमा पढे पनि त्यहाँ जान भने पाएकी थिइनन् । नयाँ ठाउँ देख्न पाइने भएपछि उनी खुसी भइन्।
पर्सिपल्ट आमाबुवासँगै कविता पनि पश्चिम यात्रामा हिँडिन् । बाटामा उनले विभिन्न ठाउँहरू देखिन् । ती ठाउँहरूको बारेमा बाबाबाट थाहा पाउँदा उनलाई धेरै रमाइलो लाग्यो।
धनगढी पुगेपछि बाबाले आफ्नो पुरानो साथी लोकेन्द्रकहाँ भेटघाट गर्न लग्नुभयो ।
“काकाकाकीलाई नमस्कार गर । हामी सँगै पढदादेखिका साथी हौं ।” बाबाले परिचय गराउनुभयो ।
“ल यता आऊ नानी ! तिमीलाई म भाइसँग चिनजान गराउँछु ।” काकीले उनलाई आफूतिर तान्दै भन्नुभयो।
उनी पनि काकी भए ठाउँ पुगिन् । काकीले सानो दुधे बालकलाई उनको काखमा दिनुभयो । उसले त्यो सानो भाइलाई काखमा राखेपछि फेरि काकीलाई नै फर्काइन्।
काकाकाकीले धेरै जोर गरेपछि त्यो दिन उनीहरू त्यहीँ बसे । अर्को दिन शनिबार थियो । बिदा भएकाले घुम्न जाने कुरा भयो। “हाम्रो गाउँमा मेला लागेको छ । भोलि शनिबार पनि हो । त्यहाँ घुम्न जाऊँ ।” लोकेन्द्र काकाले आफ्नो गाउँको घरमा जान अनुरोध गर्नुभयो।
“हुन्छ, किन नहुनु । झन् रमाइलो हुने भयो ? कसो छोरी ? तिमीलाई काकाको कुरा कस्तो लाग्यो ?” बाबा कवितातिर फर्किनुभयो।
कविताले खुसी मानेर मुन्टो हल्लाइन् ।
भोलिपल्ट सबै जना बिहान भादा गाउँ जान हिँडे । धनगढीको क्याम्पस रोड भएर भादा गाउँ जाने काम भयो । काकाको गाउँको घर गएपछि खानपान भयो । दिउँसो गाउँमा भएको मेलामा सबैजना पुगे।
त्यहाँ पुगेको केही समयपछि मेलामा सांस्कृतिक कार्यक्रम सुरु भयो । सबैजना त्यो कार्यक्रम हेर्न थाले । त्यहाँ सखिया नाच भइरहको थियो। नाच्ने र गाउने काम सँगसँगै चलिरहेको थियो । त्यहाँ गाइएको भाषा र नाच उनलाई अनौठो लागिरहेको थियो।
“यो कस्तो किसिमको नाच हो, काका ? मैले त केही पनि बुझिनँ ।” कविताले सोधिहाली।
“यो नाचलाई सखिया नाच भनिन्छ। यो थारु जातिको मौलिक संस्कृति झल्किने नाच हो । दुईटा समूहमा महिलाहरू नाच्ने र गाउने गरिहेका हुन्छन् भने एक जना पुरुषले मादल बजाउने गर्छन् । यो नाच पर्व विशेषमा नाचिने भए पनि यस्तो मेलामा पनि देखाइने गरिन्छ ।” काकाले नाचको विशेषता बताउँदै भन्नुभयो।
केही समयपछि काकाकाकीले खाजा खाने ठाउँमा लग्नुभयो ।
“आज तपाईँहरूलाई म स्थानीय खानाका परिकार खुवाउँछु है ।” काकाले खाना खाने ठाउँमा पुग्नेबित्तिकै आफ्नो कुरा राख्नुभयो।
केही समयपछि काकाले केही परिकार मगाउनुभयो । खाजा मगाई सकेपछि उहाँले ती परिकारको पनि परिचय दिनुभयो।
भोलिपल्ट सबै जना धनगढी गए । बाबा दिउँसो आफ्नो कार्यालयको काममा जानुभयो । काका पनि आफ्नो कार्यालयतिर लाग्नुभयो।
बेलुका बजार घुम्न जाने कार्यक्रम तय भयो । किनमेल हुने ठाउँमा पुग्दा बाबाले केही सामान किन्नुभयो । काकीले आमालाई हुने ढाकाको सल र कविताको लागि गुन्यूचोलो उपहार दिनुभयो।
“यो सम्झना रहिरहोस् भनेर दिएको है नानी ! हामीलाई सम्झिराख है ?” काकाले कविताको गालामा म्वाई खाँदै भन्नुभयो ।
साँझ घर फर्किने काम भयो । त्यो दिन पनि उनीहरू काकाकै घरमा बसे।
बाबाको तालिम सकिएपछि आमाबुबासँगै कविता पनि घर फर्कने भइन्।
“फेरि पनि बुवाआमालाई लिएर आउनू है नानी ?” काकीले विदाईका बेला भन्नुभयो।
“सानो बाबु पनि लिएर एकपल्ट हामीकहाँ आउनुस है, बहिनी ।” आमाले काकीसँग भन्नुभयो।
“हजुरहरू हामीकहाँ नभुलेर आउनुस् है काकी ? अनि म हजुरलाई सबै ठाउँ देखाउँछु ।” कविताले काकाकाकीलाई अनुरोध गरिन्।
अर्को दिन कविता आमाबुवासँगै घर फर्किइन् । उनलाई बाटाभरि काकाकाकी र सानो भाइको सम्झना आइरह्यो ।
(जूनकिरीको उज्यालो बालकथा सङ्ग्रहमा सङ्गृहीत !)
प्रकाशित: ६ जेष्ठ २०७८ १०:३६ बिहीबार