लीलाराज दाहाल
हरिकृष्ण आफूलाई पुस्तकप्रेमी देखाउन चाहन्छ । साहित्यकार हुन चाहन्छ । ऊ सामान किन्ने क्रममा किताब पनि किन्छ । उसले आफ्नो घरमा पुस्तकका लागि एउटा दराज छुट्याएको थियो । तर उसका परिवारले यो कुरा मन पराइरहेका थिएनन्।
उसलाई एकदिन अचानक जुत्ता राख्ने नयाँ र्याकको रहर जागेर आयो । उसले ल्यायो पनि । तर समस्या पनि साथसाथ आइपुग्यो । राख्ने कहाँ ? ऊ निकैबेर घोत्लियो । घरभित्रको बरन्डाछेउमा साहित्य र पाठ्यक्रमका किताबहरूले भरिएको एउटा पुरानो दराज थियो । उसकी श्रीमतीले भनी – जुत्ता त जहिले पनि चाहिन्छ । यी किताबहरू त कहिलेकाहीं मात्र न काममा आउने हुन् । किताबको दराजलाई नै बाहिर निकालौं।
उसले श्रीमतीको दबाबमा किताबको दराजलाई हेलापूर्वक बाहिर निकाल्यो । केही दिन बरन्डामा नै छोड्यो । बरन्डामा राख्दा पनि उसकी श्रीमती र छोराको चित्त बुझेन । श्रीमती र छोराले भने, ‘यहाँ पनि भएन । फोहोर देखियो । वाहियात किताबहरू किन राख्ने ?’
उसले दराजबाट किताबहरू निकालेर बोरामा खाँद्यो र घर पछाडि लगेर राख्यो।
निकै समय बितेर गयो। उसको छोरो विकासले विद्यावारिधि गर्न लाग्यो । उसलाई सन्दर्भ सामग्रीका रूपमा पुराना पुस्तकहरू चाहिए।
बाबुछोरा दिनभरि किताबको खोजीमा शहरका पुस्तक पसल पसल चहारे। चाहिएका किताब नपाएपछि घर फर्केर छोराले भन्यो, ‘बाबा, हामीले फालेका किताबमा काम लाग्ने किताब त थिएनन् ?’
अब उसलाई आफूले बोरामा हालेर घरपछाडि लगेर राखेका किताबहरूको याद आयो । बाबुछोरा दौडेर घर पछाडि गए र किताबहरू हालेको बोरा खोतल्न थाले । छोरालाई चाहिने किताब त बोराभित्रै रहेछन्।
हत्तपत्त पुस्तक हातमा लिएर छोरो खिन्न भयो, ‘महत्वपूर्ण पाठ नष्ट भएको पुस्तक के काम !’
प्रकाशित: ३ जेष्ठ २०७८ ०८:३४ सोमबार