२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

पैसा

लघुकथा

भरतमणि भट्टराई

 

टेकबहादुर थापा बेलायती सेनामा धेरै वर्ष काम गरेका निवृत्त मेजर हुन् । उनी पोखराको मिलनटोलमा बस्थे। उनका चार  भाइ छोरा पनि विदेशमा नै नोकरीमा थिए । उनको सम्पत्ति अथाह थियो । पोखरामा दुई ओटा तीनतले घर, घडेरीहरू, गाउँतिर त्यतिकै जग्गा जमिन, नगद पनि त्यतिकै रहेको उनी कुराकानीका क्रममा बताउँथे। उनी श्रीमतीसँग एकछिन पनि छुट्टिदैनथे । श्रीमती रोगी, हिँड्न नसक्ने भए पनि सँगै लिएर हिँड्न उनी रुचाउँथे । खानेकुरा पनि श्रीमतीलाई मन पर्ने ल्याउँथे उनी। छिमेकीहरू हाम्रो पनि यस्तै सम्बन्ध भइदिए भन्ने लोभ गर्दथे।

बुढाबुढीको घर व्यवहारका निम्ति झन्डै एक लाख पेन्सन आउँथ्यो । अरू घर बहाल, जग्गाबाट आउने रकम पनि उनका आम्दानीका स्रोत थिए। त्यसमाथि पनि छोरा र छोरी युकेका बासिन्दा बेलाबेलामा हेरविचार गरेकै थिए। आफू असीको हाराहारी र श्रीमती पनि सँगैकी रहिछन्। दुःख भन्ने कुराको सम्झनै भएन उनीहरूलाई। त्यति हुँदाहँदै पनि बुढालाई पैसाको बहुतै लोभ थियो । बेलायतमा तीन महिना र नेपालमा तीन महिना गरी बस्थे– बेलायतले दिने भत्ताका लागि । यसपटक नेपाल आएको करिब तीन महिना हुन लागेकाले अब उनी भत्ताका लागि बेलायत जाने तयारीमा थिए।

बेलायत जाँदा र आउँदा श्रीमतीलाई पनि सँगै लग्थे उनले । यस पटक श्रीमतीले बिरामी भएर जान नसक्ने बताइन् । उनले भनिन्, “यो पटक नजानोस् न ! म बिरामी छु, पकाएर खान पनि सक्दिनँ, नपुग्दो केही छैन हामीलाई। छोडिदिऊँ भत्तासत्ता ? जीवनभन्दा प्यारो पैसा हुँदैन। जाने होइन अबदेखि बुढा, हँुदैन ?” बुढाले त्यति बेला केही बोलेनन् । दुई दिनपछि बुढाले भने, “खाना बनाउनका लागि मान्छे खोजेको छु । नआत्तिइकन बस्नू । म छिट्टै फर्कन्छु ।” उनी बेलायत गए।

त्यतिबेला बेलायत कोरोनाले आक्रान्तै थियो । टेकबहादुरलाई पनि कोरोनाले समात्यो । आफन्तले तुरुन्तै हस्पिटल पनि लगे तर उनी बाँच्न सफल भएनन्। त्यसको पाँच दिनपछि जहाजबाट लाशको बाकस घरमा आइपुग्यो। पैसाका घमन्डले अनाहकमा ज्यान गुमाउनुपरेकोमा श्रीमती तथा परिवारलाई पछुतो भयो । ल्याइएको लाशको पनि कोरोनाका डरले ठेगान लगाउन मुस्किल बन्यो।  

प्रकाशित: २८ वैशाख २०७८ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App